काठमाडौं : नेपाली कांग्रेसले सरकारले हालै बजेटमार्फत अवधारणा ल्याइ ३ वटा क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यो कदम तत्काल फिर्ता लिन आग्रह गरेको छ।
'बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणामार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारी रहेको विषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,' प्रवक्ता शर्माले भनेका छन्।
अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र सशक्तिकरणका योजना ल्याउनुपर्नेमा सरकारले उल्टै विवादस्पद संरचना मातहात ल्याउने नियत राख्नु गलत भएको काँग्रेसको ठहर छ। कांग्रेसले यस्तो विषयमा सम्बन्धित पक्षसँग छलफल नगरी अगाडि नबढ्नसमेत चेतावनी दिएको छ।
'भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरुसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरिसकेको छ,' शर्माले विज्ञप्तिमा भनेका छन्, 'गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न नेपाली कांग्रेस काम चलाउ सरकारलाई चेतावनी दिन दिन चाहन्छ।'