PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश २ मन्त्रीमण्डल विस्तार : कांग्रेसबाट नवनियुक्त मन्त्रीहरुले लिए सपथ



सुमित मिश्र

प्रदेश २ मन्त्रीमण्डल विस्तार : कांग्रेसबाट नवनियुक्त मन्त्रीहरुले लिए सपथ

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका छन्। नीति तथा कार्यक्रम आउने पूर्व सन्ध्यामा मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गरेका हुन्। नेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहणसँगै प्रदेश २ मा मन्त्रीमण्डल विस्तार भएको हो।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ ग्रहण गराएका हुन्। नेपाली कांग्रेसबाट मन्त्रीहरु थपिएसंगै प्रदेश २ मा ९ सदस्यीय मन्त्रीमण्डल बनेको छ। यस अघि ७ सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्री अतिरिक्त ६ मन्त्रीहरु थिए भने अब मुख्यमन्त्री अतिरिक्त ८ मन्त्री हुनेछन्।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी भएको हो। संसदीय दलका नेता यादवलाई भौतिक पूर्वाधार यातायात तथा सिँचाई, वीरेन्द्र प्रसाद सिंहलाई महिला बालबालिका तथा खेलकुद र ओम प्रकाश शर्मालाई ऊर्जा तथा खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको छ।

यता कांग्रेसलाई राज्यमन्त्री दिने सहमति समेत भएपनि अहिले भने राज्यमन्त्रीको विषयमा निर्णय हुन सकेको छैन। नीति तथा कार्यक्रम र बजेट आएपछि मात्रै राज्यमन्त्रीहरु समेत कांग्रेसबाट थपिने बताइएको छ।

कांग्रेसलाई सरकारमा सहभागी गराउनका लागि मुख्यमयन्त्री राउतले विभिन्न मन्त्रालयहरुलाई टुक्र्याएका छन्। उनले भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय टुक्रयाएका हुन्।

यसैबीच, नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ ग्रहण गराएलगत्तै उनीहरू मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell