PahiloPost

Jul 4, 2025 | २० असार २०८२

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, 'सन्तोक भयो, अब बाँचिन्छ होला'



खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, 'सन्तोक भयो, अब बाँचिन्छ होला'
FILE PHOTO

ताप्लेजुङ : बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए। मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो। कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे।

फुङलिङ नगरपालिका २ का ८० वर्षीय टीकाराम गुरुङले खोप लगाएर बाहिरिएपछि प्रतिक्रिया दिए, 'कस्तो लाग्छ र, अब बाँचिन्छ होला नि, खोप लगाइहालियो, राम्रै त होला।' यतिकैमा उनीसँगै बस्नुभएका ८१ वर्षीय डम्बर गुरुङले भने, 'खोप लगाउन पाइयो, मनमा सन्तोक भयो, अब बिरामले भेट्दैन होला।'

फुङलिङ–४ की ८४ वर्षीया सुकरानी लिम्बूले पनि खोप लगाएपछि आफू ढुक्क भएको बताइन्।  'खोप लगाएपछि ढुक्क लागिरहेको छ। अब त बाँचिएला नि त, खोप लाएपछि कोरोना आउँदैन भन्छन्', उनले भनिन्।

खोप लगाउन आउने उनीहरुमात्रै होइन खोप लगाएका सबै वृद्धवृद्धाले ढुक्क लागेको भन्दै संक्रमणले नभेट्ने विश्वास भएको बताए।

ताप्लेजुङमा बुधबार वृद्धवृद्धासहित २८६ जनाले कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। वृद्धवृद्धा, सुरक्षाकर्मी, पहिलो चरणमा छुटेका सञ्चारकर्मीलगायतले खोप लगाएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिए। आज पनि जिल्ला अस्पतालको खोप केन्द्रबाट खोप लगाइने उनले बताए।

खरेलका अनुसार आइतबार फुङलिङ नगरपालिकाअन्तर्गतका दोखु, फुरुम्बू, हाङ्देवा र फावाखोलामा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रम छ। यो पटक ताप्लेजुङमा एक हजार ८५१ जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

चीनसँगको सीमा जोडिएका क्षेत्रका बासिन्दालाई समेत भेरोसेल खोप लगाउने भनिए पनि तत्कालका लागि त्यहाँका सबैलाई नपुग्ने देखिएको जनाइएको छ। खोपको मात्रा नपुग्ने भएपछि कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा थप मात्रा माग गर्ने निर्णय गरेको छ। यहाँ १४ हजार २०४ ले पहिलो कोभिडसिल्डको खोप लगाएका छन्। पहिलो र दोस्रो दुवै मात्रा लगाउने ९७८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell