PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

पाकिस्तानमा भ्रष्टाचार काण्डको बहसमा सांसदमाथि टेलिभिजन अन्तर्वार्तामै थप्पड प्रहार



पाकिस्तानमा भ्रष्टाचार काण्डको बहसमा सांसदमाथि टेलिभिजन अन्तर्वार्तामै थप्पड प्रहार

पाकिस्तानमा एक टेलिभिजन अन्तर्वार्तामा हानाहान भएको छ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा पाकिस्तान तहरीक-ए-इंसाफ (पीटीआई) पार्टीकी नेतृ फिरदौस आशिक अवान र पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का सांसद अब्दुल कादिर ख़ान मन्दोखेलबिच स्टुडियोमै हानाहान भएको हो।

पाकिस्तानी न्यूज चैनल एक्सप्रेस न्यूजको एक कार्यक्रममा यो घटना भएको हो।

सञ्चालक जावेद चौधरीको 'कल तक' नामक कार्यक्रममा दुबै नेतालाई भ्रष्टाचारको विषयमा बहस गर्न आमन्त्रण गरिएको थियो। दुबैबिच चर्को बहस पनि भयो।

कार्यक्रममा पीपीपी सांसद मन्दोखेलले नेतृ अवानमाथि सिधै भ्रष्टाचारको आरोप लगाउन थाले। मन्दोखेलले ‘तिमी भ्रष्टाचारी हौं’ सम्म भने। यसमा अवानले भ्रष्टाचारको प्रमाण मागिन्। नत्र मानहानीको मुद्दा हाल्ने चेतावनी दिइन्।

बहस चर्किँदै गयो। कार्यक्रम सञ्चालकले दुबैलाई रोक्न सकेनन्। नेतृ अवानले एकाएक सांसद मन्दोखेलको शर्टको कलर समातिन र थप्पड प्रहार गरिन। मन्दोखेलले पनि अवानको हात समातेर प्रतिवाद गरे। दुबैबिच हानाहान भयो। स्टुडियोमा टेलिभिजन कर्मचारी आएर छुट्याए।

नेतृ अवान प्रधानमन्त्री इमरान खान निकट मानिन्छिन्। उनी यसअघि ख़ानको सूचना एवं प्रसारण मामला विशेष सहायक रहिसकेकी छिन्। हाल उनी पञ्जाब सूबेका मुख्यमन्त्रीको विशेष सहायक (सूचना) अधिकारी हुन्।

अब्दुल कादिर ख़ान मन्दोखेल भने पीपीपी पार्टीबाट नेशनल एसेम्बलीमा सदस्य छन्।

घटनापछि नेतृ फिरदौस अवानले आफूमाथि अपशब्द प्रयोग भएको, कार्यक्रमको ब्रेकको समयमा आफू र आफ्नो पितालाई गाली र धम्की दिएको आरोप लगाएकी छन्।

आफ्नो इज्जत दाउमा लागेको भन्दै अवानले आत्मरक्षाका लागि सांसदमाथि हात उठाएको प्रष्टीकरण दिएकी छन्। सांसद मन्दोखेलविरुद्ध महिला हिंसाका साथै मानहानीको मुद्दा हाल्न कानुनी सल्लाहकारसँग परामर्शमा रहेको अवानले जानकारी दिएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell