20.jpg)
पोखरा : जनता समाजवादी पार्टी र जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन नदिने बताएको छ।
मुख्यमन्त्रीले मागेकेा विश्वासको मतको प्रस्तावमाथि प्रदेश सभामा चलिरहेको छलफलमा भाग लिँदै जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले गुरुङ सरकारलाई समर्थन दिन नसक्ने बताएका हुन्। आचार्याले प्रस्तावको विरुद्धमा मतदान गर्ने बताए।
'लोकतन्त्रको हुर्मत लिएर संविधानलाई कुल्चिएर धुजाधुजा च्यातेर हिँड्छन,' आचार्यले भने,'अनि त्यसैलाई ठिक भन्दै लुरुलुरु हिँड्ने साथीलाई सर्मथन गर्न सकिँदैन।'
प्रदेश सभामा जसपाका दुईजना सांसद छन्।
त्यस्तै जनमोर्चाको गण्डकी प्रदेश सभाकी सचेतक पियारी थापाले पनि आफ्नो दलले मुख्यमन्त्री गुरुङलाई सर्मथन गर्न नसक्ने बताइन्। प्रदेश सभामा जनमोर्चाका तीनजना सांसद छन्। उनले आफ्नो दललेगुरुङको विपक्षमा मत दिने भनेर ह्वीप जारी गरेको भन्दै सबैलाई विपक्षमा मत दिन आग्रह गरिन्। जनमोर्चाका कृष्ण थापाले पार्टीको निर्णयविरुद्ध गुरुङलाई मत दिने बताउँदै आएका छन्।
विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङलाई ३१ सांसदको मत आवश्यक छ। अहिले गुरुङसँग २७ एमाले सांसद छन्। यसअघि सत्ता जोगाउन स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाएर गुरुङले सत्ता जोगाउने प्रयास गरेका थिए। तर अन्तिम समयमा आएर मनाङेले गुरुङको साथ छोडेका छन्।