PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

दुर्घटनामा परेकी मोडल निशाको उपचारमा सहयोग गर्न परिवारको आग्रह



दुर्घटनामा परेकी मोडल निशाको उपचारमा सहयोग गर्न परिवारको आग्रह

काठमाडौं : १८ पौष २०७६, भारतको देहरादुनमा कार दुर्घटना भयो। कार दुर्घटनासँगै मोडल निशा घिमिरेको जीवनको ग्राफ नै बदलियो। उनी गम्भीर घाइते भइन्। मोडलिङमा डिप्लोमा गर्न भारत गएकी उनको सपना त्यो दुर्घटनाले अधुरो बनायो।

छोरीसँग कुरा नभएको धेरै भएको थियो। त्यसैले बुवा प्रेम प्रसाद घिमिरेले निशालाई बारम्बार फोन गरे। फोन पुलिसले उठायो। खासै हिन्दी नजान्ने उनलाई भाषा बुझन गाह्रो भयो। हिन्दी बुझनेलाई कुरा गर्न लगाए। छोरी देहरादुनको अस्पतालमा गम्भीर अवस्थामा रहेको जानकारी पाए उनले। गाडी रिजर्भ गरेर ललितपुर देखि महेन्द्रनगर हुँदै उनी देहरादुन पुगे।

निशा कैलाश अस्पतालको आइसियुमा थिइन्। दुर्घटनामा निशाको मस्तिष्कको नशामा चोट लागेको रहेछ। बुवा प्रेमलाई छोरीलाई त्यस्तो अवस्थामा देख्दा निकै पीडा भयो। भारतमा १० लाख भारु खर्च भइसकेको थियो। त्यहाँको २२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइयो। आर्थिक अभावका कारण उपचार खर्च जुटाउन गाह्रो भएपछि प्रेमले निशालाई नेपाल ल्याएका थिए। त्यसपछि निशालाई काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरियो।

निशालाई नेपाल ल्याएको केहि महिनामा नै कोरोना भाइरसको संक्रमण फैलियो। २०७६ चैत्र ११ देखि नेपालभर लकडाउन गरियो। यसबिच निशालाई अस्पतालबाट भैंसीपाटीस्थित कोठामा सारियो।

डेढ वर्ष भयो निशा त्यही कोठामा छिन्। उनलाई अस्पताल लग्न सकिएको छैन।

'कोभिडले अस्पताल लग्न सकेका छैनौँ। घरमा नै सकेको जति उपचार गरिरहेका छौँ। डाक्टरको सल्लाह लिने देखि थेरापी समेत गरिरहेका छौँ।' प्रेमले बताए।

छोरीको उपचारका लागि सुरुमा गाउँपालिका र साथीभाईले सहयोग गरेका थिए प्रेमलाई। पछि उपचारको लागि जग्गा धितो राखेर सहकारीबाट ऋण समेत निकाले। जसको ब्याज तिर्न निकै गाह्रो भइरहेको छ सुनाउँछन् प्रेम। उनका अनुसार अहिले सम्म ३५ देखि ४० लाखसम्म खर्च भइसकेको छ।

लगातारको उपचार र रेखदेख गर्दा पनि निशा पुरानै अवस्थामा फर्किन सकिनन्। उनी न त उठ्न सक्छिन् न त बोल्न नै। खानापनि जथाभावी खुवाउनु हुन्न। मिक्सचरमा पिसेको खाना खुवाउनुपर्छ। सन्तानप्रतिकै माया न हो, निशा फेरि उठ्ने आशामा छन् उनका आमाबुवाले।

'के गर्ने ज्यान बचाउनु नै पर्‍यो। सामाजिक कार्यमा लाग्ने भएर आफैँलाई सहयोग माग्न पनि गाह्रो हुँदो रहेछ। सक्ने जति सबै गरिसके। तर पनि छोरीको स्वास्थ्य अवस्थामा खासै सुधार आएको छैन। अलि ह्या ह्या गर्न सक्ने भाछिन्। ज्यान सुकेर निकै पातलो भइसक्यो।' उनले सुनाए।

निशाको उपचारमा अहिले आर्थिक समस्या परेकोले उपचार गर्न गाह्रो भइरहेको बताउँछन् प्रेम। साथै उनले सबैलाई सक्ने जति सहयोग गर्न समेत अनुरोध गरेका छन्। भन्छन्, 'यस्तो पिडा र समस्या भोलि अरुलाई पनि हुनसक्छ। त्यसैले सबै कलाकारहरु लगायत अन्यले सकेको जति सहयोग गरिदिनुहोला।'

सामाजिक संजालमा पनि निशाको उपचारको सहयोगका लागि 'फन्ड' जुटाउन अभियानहरु संचालन गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell