PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अस्ट्रेलियासँग नेपालको भिडन्त आज, नतिजाभन्दा राम्रो प्रदर्शनतिर प्रशिक्षकको ध्यान



अस्ट्रेलियासँग नेपालको भिडन्त आज, नतिजाभन्दा राम्रो प्रदर्शनतिर प्रशिक्षकको ध्यान

काठमाडौं : विश्वकप क्वालिफायर्स अन्तर्गतको खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज बलियो प्रतिस्पर्धी अस्ट्रेलियाको सामना गर्दैछ। समूह बी मा आफूले खेलेको सबै खेलमा शतप्रतिशत जित निकालेको अस्ट्रेलियासँग चाइनिज ताइपेइसँगको दुई खेलमा जित र अन्य खेलमा पराजय ब्यहोर्दै तालिकाको चौथो स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गर्नेछ।

खेलको पूर्वसन्ध्यामा सम्पन्न खेलमा प्रेस कन्फ्रेन्समा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरूद्ध नतिजाभन्दा पनि राम्रो खेल प्रस्तुत गर्नेमा केन्द्रीत हुने बताए।

'आशा छ हामीले अस्ट्रेलियाबिरुद्ध राम्रो खेल प्रस्तुत गर्नेछौ। हाम्रो खेल्ने शैलीमा धेरै विकास भएको छ। र समर्थकलाई खुसी पार्न सफल भएका छौँ,' अलमुताइरीले भनेका छन्।

त्यस्तै अष्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपाली टोलीले कडा मेहेनत गरिरहेको बताउँदै नेपालविरुद्ध खेल्नका लागि आफ्नो टिममा केही परिवर्तन ल्याउने संकेत गरे।

'चार गोलकिपर सहित हामीसँग २९ खेलाडी छन्। मेरा लागि यो खेल राम्रो प्रदर्शनका लागि हुनेछ,' ग्राहमले भनेका छन्।

अस्ट्रेलियाको पछिल्लो प्रदर्शन

समूह बी मा ६ खेल खेलेको अस्ट्रेलियाले शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेको छ। पछिल्ला ६ खेलमा अपराजित अस्ट्रेलियाले २०१९ मा दक्षिण कोरियासँग मैत्रीपूर्ण खेलमा पराजय ब्यहोरेयता छ खेलमा लगातार जित निकाल्दै आएको छ।

फिफा वरीयताको ४१ औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो।

अस्ट्रेलियाका पछिल्ला खेलहरुलाई हेर्ने हो भने सन् २०१९ मा साउथ कोरियासँगको मैत्रीपूर्ण खेलमा १-० को पराजय ब्यहोरेयता ६ खेलमा अपराजित छ। त्यसपछि विश्वकप छनोट अन्तर्गत समूह बी मा आफ्नो पहिलो खेलमा कुवेतमाथि ३-० को फराकिलो जित निकालेको अस्ट्रेलियाले दोस्रो खेलमा नेपाललाई ५-० ले हराएको थियो। त्यस्तै तेस्रो खेलमा चाइनिज ताइपेइमाथि ७-१ को सानदार जित निकालेको अस्ट्रेलियाले जोर्डनलाई १-० ले हराएको थियो। त्यस्तै पछिल्ला दुई खेलमा घरेलु टोली कुवेतलाई ३-० ले हराउँदा चाइनिज ताइपेईलाई ५-१ गोलअन्तरले हराएको थियो। अस्ट्रेलियाले अब नेपाल पछि जोर्डनसँग १६ जुनमा खेल्ने छ।

आज हुने खेलमा नेपाल र अष्ट्रेलिया कुवेतस्थित जावेर अल अहमेद इन्टरनेसनल स्टेडियममा बेलुकी पौने दश बजे आमने सामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell