काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्। प्रतिनिध सभा विघटन भएयता सभामुख सापकोटाले दलका नेताहरुसँग छलफल गर्दै आएका छन्।
सोही क्रममा आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा छलफल आयोजना गरिएको सापकोटाको सचिवालयले जनाएको छ। 'सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग आज दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा समसामयिक विषयमा छलफल आयोजना गर्नु भएको छ,' सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जारी गरेको सूचनामा भनिएको छ।
बैठकमा विपक्षी दलका नेताहरु सहभागी हुने बताइएको छ। केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै विपक्षी दल एक ठाउँमा उभिएका छन्। उनीहरुले प्रतिनिधि सभा पुनर्स्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागदाबीसहित सर्वोच्चमा रिट दायरसमेत गरिसकेका छन्। रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई जारी रहेको छ।