PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

पछिल्लो चार वर्षमा विश्वभर ८४ लाखले बढ्यो बाल श्रमिक, नेपालको बाल श्रम उन्मुलन अभियान खतरामा पर्ने चेतावनी



पछिल्लो चार वर्षमा विश्वभर ८४ लाखले बढ्यो बाल श्रमिक, नेपालको बाल श्रम उन्मुलन अभियान खतरामा पर्ने चेतावनी
सिन्धुपाल्चोक पिस्करकी ८ वर्षीया सोनिया थामी २०७८ जेठ २८ गते गिट्टी कुट्दै। फोटो : दिनेश थापा

काठमाडौं : पछिल्लो चार वर्षमा विश्वमा ८४ लाख बाल श्रमिक थपिएका छन्। बाल श्रमविरूद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफले अध्ययन प्रतिवेदन जारी गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। १२ जुनमा बाल श्रमविरुद्धको दिवस विश्वभर मनाइएको छ।

पछिल्ला वर्षहरुमा बाल श्रम उन्मुलनका अभियानहरु सञ्चालनमा आएका थिए। सन् २००० देखि २०१६ सम्ममा यस्ता अभियानबाट बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आए पनि अब भने यो अवस्था उल्टिने खतरा आइएलओ र युनिसेफले चेतवानी दिएको छ। अहिले विश्वभर बाल श्रमिकको संख्या १६ करोड पुगेको छ।

सबैभन्दा धेरै ५ देखि ११ वर्ष उमेर समूहका

हाल विश्वभरि रहेका बाल श्रमिकमध्ये ५ देखि ११ वर्ष बीचको उमेर समूहका धेरै छन्। प्रतिवेदनमा उल्लेख गरिएअनुसार ५ देखि १७ वर्ष उमेर समुहका बालबालिकाको संख्यामा २०१६ यता ६५ लाखले वृद्धि भई ७ करोड ९० लाख पुगेको छ।

बाल श्रमको विरुद्धमा कार्य गर्नको लागि सरकार, सामाजिक साझेदारहरू तथा नागरिक समाजको प्रतिवद्धता व्यक्त गर्ने क्रम बढे पनि बाल श्रमिकको संख्या अझै पनि विकराल रहेको नेपाल स्थित अन्तर्राष्ट्रिय श्रम संगठनको देशीय कार्यालयका निर्देशक रिचर्ड हावर्डले बताए। 'वर्तमान बालश्रमको अवस्थाले हरेक बालबालिकाको अधिकारको उल्लङ्घन भएको दर्शाउनुका साथै गरिबी बढाउँछ र आर्थिक वृद्वि एवं समतामुलक विकासलाई सीमित तुल्याईदिन्छ। बाल श्रमसँग सम्बन्धित जोखिम सम्बोधन गर्नको लागि गरिबी तथा बहिष्करणको जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा र मर्यादित कामको अवसर एकतावद्व रुपमा प्रदान गर्दै आवश्यक कार्यक्रमहरू सन्चालन गर्नु अहिलेको समयको मुख्य आवश्यकता रहेको छ,' निर्देशक हवार्डले भनेका छन्।

महामारीको असर स्वरूप २०२२ को अन्त्यसम्ममा थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिममा रहेको प्रतिवेदनमा औंल्याईएको छ।  सामाजिक सुरक्षामा पहुँच पुग्न नसकेको खण्डमा भने उक्त संख्या ४ करोड ६० लाख पुग्ने पूर्वानुमान गरिएको छ। २०१६ देखि नै अगाडि बढेका एसिया तथा एसिया प्रशान्त क्षेत्र एवं दक्षिण अमेरिका तथा क्यारेबियन क्षेत्रमा केहि प्रगति हासिल भईरहेकोमा कोभिड-१९ ले त्यसलाई खतरामा पारेको छ।

नेपालको अभियान अवरुद्ध हुनसक्छ

प्रतिवेदनले नेपालमा बाल श्रम उन्मुलन तर्फ भइरहेको प्रगति पनि वर्तमान महामारीको अवस्थाले गर्दा अवरुद्ध हुनसक्नेतर्फ सचेत गराइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बाल श्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाखबाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको उल्लेख गरेको छ। खतरायुक्त काम गरिरहेका बालबालिकाको संख्या २००८ मा ६ लाख २० हजार रहेकोमा २०१८ मा २ लाख २० हजारमा झर्दै  उल्लेख्य मात्रामा कमी आएको थियो।  

तर यी उपलब्धिहरू अहिलेको कोभिड-१९ महामारीका कारण सिर्जना भएका चुनौतीका कारण जोखिममा रहेको आइएलओ र युनिसेफले जनाएको हो।

बाल श्रमिकको रूपमा कार्यरत बालबालिकामा शारीरिक र मानसिक हानी पुग्ने जोखिम रहनुका साथै बाल श्रममा लागेको कारण उनीहरूलाई शिक्षाको अवसर एवं अधिकारहरूबाट वन्चित गरी भविष्यमा आउने अवसरलाई सीमित गरिदिन्छ, र पुस्तैनी गरिबी तथा बाल श्रमको खतरनाक चक्रमा धकेल्छ।

'बालबालिकालाई बाल श्रम र त्यसका अरु जोखिमहरू जस्तै भौतिक र मनोसामाजिक क्षति, शिक्षा बाट बञ्चित हुनुपर्ने अवस्था र शोषणबाट जोगाउन कोभिड-१९ पूर्व नै चुनौतिपूर्ण थियो। नयाँ तथ्याँकहरूले देखाए अनुसार, बालबालिका सहितका परिवारहरूलाई यो महामारीको सामाजिक-आर्थिकको प्रभावले धेरै असर गरेको छ। जेठ महिनामा गरिएको द्रूत बालबालिका र परिवार ट्र्याकर सर्वेक्षणका अनुसार ५० प्रतिशत भन्दा बढी परिवारहरूले रोजगार र जिविकोपार्जन गुमाएका छन्।  नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विसले भने, 'पहिलेदेखि नै श्रम गरिरहेका बालबालिकाले कोभिड-१९ को कारण निम्तिएको आर्थिक क्षति तथा विद्यालय बन्द जस्ता कारणले थप समय श्रम गरिरहेका वा चिन्ताजनक अवस्थामा काम गरिरहेका हुनसक्छन् भने संकटासन्न परिवारका सदस्यहरूले रोजगारी तथा आम्दानी गुमाएका कारण अन्य थुप्रै बालबालिका निकृष्ट बाल श्रममा संलग्न हुन बाध्य पारिएका हुनसक्छन्। यस महामारी नियन्त्रणमा हाम्रो सामुहिक सफलता भनेको यो जटिल अवस्थामा हामीले कति परिवारलाई सहयोग गर्न सक्यौं र कति बालबालिकालाई हुर्कदै एवं विकसित हुँदै अगाडि बढ्नको लागि सहयोग गर्न सक्यौं भन्ने पक्षबाट समेत मापन गरिनुपर्दछ। यसरी मापन गर्नु असम्भव छैन -  बालबालिकालाई बाल श्रमबाट मुक्त गरि विद्यालय पठाउने मात्रै नभई उनीहरूका परिवारलाई बाल श्रमको विकल्प रोज्न हुन सघाउनको लागि सामाजिक कार्य तथा सामाजिक सुरक्षा कार्यक्रमहरूमा सामुहिक लगानी गरेर मापन गर्न सकिन्छ।'

बाल श्रम अन्त्यको लागि अन्तर्राष्ट्रिय वर्षको एउटा अंशको रूपमा रहेको एवं युनिसेफ र अन्तर्राष्ट्रिय श्रम संगठनको साझेदारी रहेको विश्वव्यापी साझेदारी गठबन्धन ८.७ ले ठोस रूपमा कार्य गर्ने प्रतिवद्वतासहित बाल श्रम विरुद्धको विश्वव्यापी लडाईमा आफ्नो पहल कदमीलाई पुन: सशक्त बनाउन सदस्य राष्ट्र, व्यवसायिक प्रतिष्ठान, मजदुर संगठन, नागरिक समाज, र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आव्हान गरेको छ। नेपाल विश्वव्यापी गठबन्धन ८.७ को पथप्रदर्शक राष्ट्र हो। यो वर्ष नेपालका बालबालिकाको लागि अवसर, सुरक्षा तथा स्याहार सुनिश्चित गर्नको लागि मार्गहरूलाई व्यापक बनाउनु अत्यन्तै महत्वपूर्ण छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell