- सेरफ मोक्तान-
कोभिड -१९ ले गर्दा २०२० मा नै हुनुपर्ने युरोपियन फुटबल च्याम्पियन्सिप युरोकप (२०२० )ढिला गरी दुई दिनअघि अर्थात ११ जुन २०२१ मा मात्रै सुरु भयो। लामो समयदेखि अन्योलमा परेको प्रतियोगिता फिफा सामु युरोपियन फुटबल संघ (यूईएफए)ले कोरोना भाइरस सम्बन्धी कडा मापदण्ड अपनाउने वाचापछि मात्रै सञ्चालन स्वीकृति पाएको थियो।
इटलीले घरेलु मैदानमा टर्कीलाई आतिथ्यता गर्दै युरोकपको उद्घाटन खेल सुरु भयो। प्रतियोगिताको रौनकता यसरी सुरु भयो कि पहिलो गोल नै इटलीले टर्कीबाट आत्मघाती रुपमा उपहार पायो। इटलीका खेलाडी डोमेनिको बेरार्डीले क्रस गरेको बललाई टर्कीका डिफेन्डर मेरी डिमेरेलले आफ्नै पोस्टको दिशा दिँदै गोलमा परिणत गरे। खेल भरी हाबी घरेलु टोलीले टर्कीमाथि ३-० को रवाफिलो जित निकाल्दै आफ्नो अन्तर्राष्ट्रिय खेलको अपराजित संख्यालाई समेत २८ पुर्यायो।
प्रतियोगिताको दोस्रो दिन स्वीजरल्यान्ड र वेल्स बिचको प्रतिपर्धाबाट सुरु भयो। यी दुई बिचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेल डेनमार्क र फिनल्यान्ड बीच भइरहेको थियो। लामो समयपछि मैदानमा प्रवेश पाएका दर्शकहरु आफ्नो देशको झन्डा फहराँउदै एकदम उत्साहित र हर्षित देखिन्थे। खेलाडीहरु पनि दर्शकको उपस्थिले फुर्तीका साथ खेलिरहेका थिए।
तर, खेलको ४२ औँ मिनेटमा यस्तो अप्रत्याशित दुर्घटना भयो जस्ले फुटबल मैदानमा सन्नाटा छायो। खेलाडीहरु रुन थाले। उत्साहित र हर्षित दर्शकहरुको मुहारभाव परिवर्तन भए। कतिपय मुख छोपेर रुन थाले। कतिपय भगवानसँग प्रार्थना गर्न थाले कि क्रिस्टियन एरिक्सनलाई केही नभइदियोस् भनेर। डेनमार्कले थ्रो बल जितेर थ्रो गर्ने क्रम थियो। एरिक्सन आफ्ना साथीले थ्रो गरेको बल रिसिभ गर्न गएजस्तो देखिए तर आएको सफ्ट थ्रो बल उनको तिघ्रामा लागेजस्तो मात्र देखिन्छ। र, उनी मैदानमै ढले। टचलाइनमा उनी बेहोस भएर ढलेपछि तत्काल उनका सहकर्मीको इशारालाई बुझ्दै खेलका रेफ्रीले मेडिकल टिमलाई तुरुन्तै बोलाए।
मैदानमा भएका खेलाडी, प्याराफिटमा भएका दर्शक र संसारभर टेलिभिजन र अन्य भिडियो माध्यमबाट खेल हेरिरहेका दर्शकहरु यस्तो अप्रत्याशित घटनाले एकदम आत्तिए। छिनमै 'प्रे फर एरिक्सन'ले सामाजिक सन्जाल तात्यो। यस्ले नेपालमा धेरै फुटबल फ्यानलाइ झन् सशंकित तुल्यायो। सायद, भगवानले सबैको प्रार्थना सुने होलान्। केही छिनमै उनलाई होस आएको खबर आयो। पछि खेललाई फेरि निरन्तरता दिइयो तर टिममेट चोटले प्रभावित बनेको डेनमार्कले उत्कृष्ट खेल खेल्दा पनि सकरात्मक नतिजा हात पार्न सकेन। खेलभरी विपक्षीलाई दबावमा राख्नुका बाबजुद पनि डेनमार्क अभागी साबित भयो। पाएको पेनाल्टी समेत गोलमा परिणत गर्न नसकेको अभागी डेनमार्कलाई घाइते सहकर्मीको होस् आउनु नै ठूलो भाग्य साबित भयो। फुटबल मैदानमै यसरी खेलाडी अचेत भएर ढलेको भने यो पहिलो घटना होइन। युट्युबमा यस्ता घटना र खेलाडीको मृत्युसम्म भएका केही घटनाहरु भेटिन्छन्। तर, त्यसबेला टेलिभिजन र इनटरनेटको प्रयोग कम हुने हुँदा अहिलेजस्तो अवस्था थिएन।
युरोकप जस्तो बहुप्रतिक्षित प्रतियोगितामा खेलाडी यसरी दुर्घटनामा पर्नुले धेरैलाई त्रसित बनाएको छ। यसको असर पक्कै पनि पछि लामो समयसम्म रहनेछ। यो घटना देखेपछि धेरैको मनमा एउटै प्रश्न उठ्न सक्छ : आखिर यो घटना कसरी भयो? झन् खेलाडीहरु त तन्दुरुस्त हुनु पर्ने हो नि?
हो खेलाडीहरु अरुका तुलनामा तन्दुरुस्ट हुन्छन्। तर, खेलाडीलाई रोगले छुनै नसक्ने भन्ने हुँदैन। प्रायगरी खेलाडी एवं पूर्व खेलाडीहरुमा हृदयघात र मस्तिष्क घातको समस्या देखिरहेको छ। केही समयअघि अर्जेन्टिनी लिजेन्ड डिएगो म्यारोडोनाको हृदयघातबाटै मृत्यु भएको थियो। रियल मड्रीडका पूर्व गोलकिप्पर लिजेन्ड इकर कासिलास पनि हृदयघातबाट मृत्युलाई जितेर फर्केका थिए। अधिक थकान र अधिक मानसिक तनावले हृदयघात भएका घटनाहरु धेरै छन्।
तर, ९० मिनेटको पूर्ण खेल खेल्नु पर्ने खेलाडी कसरी ४२ औँ मिनेटमै थाक्छन् त? यसको लागि केही विगतको समयमा जान आवश्यक छ। कोरोना भाइरस कोभिड -१९ कारणले गर्दा २०१९/२० को सिजनको तालिकामा बाँकी रहेको सबै फुटबल गतिविधि नै ठप्प भएको थियो। संसारका सबै देशमा लामो समय लकडाउन लागू भएको थियो। २०२० को जुन महिनामा १९/२० को सिजन सकिसक्नु पर्नेमा हरेक लिगमा करिब आधा लिग खेल नै बाँकी रहेको थियो। र, जुन महिनाको आधादेखि फेरि लिग खेलहरु सुरु भएको थियो। त्यही मितिदेखि फुटबलरहरु मेसिनजस्तै खटिँदै दर्शकलाई मनोरन्जन दिन थाले। ११ महिना खेलेर सक्ने लिगहरुमा आधा खेलहरु सकाउन कम्तिमा ६ महिना लाग्छ। तर, यस बिचमा हप्तामा २ वटासम्म खेल खेलाएर लिगको बाँकि खेल अगस्ट नलाग्दै सकाइएको थियो। अर्कातिर च्याम्पियन्स लिग, अन्य घरेलु लिग कप नकाउटहरु जस्तै; कोपा डेलरे, स्पेनिस सुपर लिग, कोपा इटालिया, इटालियन सुपरकप, एएफए कप। हरेक टप ५ लिगवाला देशमा यस्ता प्रतियोगिताहरु कम्तिमा पनि ५/५ वटा हुने गर्छन। यी बाहेक खेलाडीहरुले आफ्नो देशबाट अन्तर्राष्ट्रिय खेलहरु पनि धेरै खेले। यस हिसाबले खेलाडीहरुले कुनै समय हप्तामा ३ वटासम्म खेल खेले। खेलपछि प्रशस्त आराम नपाउनु छँदैछ। खेलको लागि बसको लामो यात्रामा अर्को शहर जाँदाको थकाई, अर्को देशमा जाँदा जहाजको थकाई छुट्टै। यस्ता थकानहरुले खेलाडीहरुको व्यक्तिगत सीप र क्षमतामा समेत ह्रास आएको कुरा फुटबल हेर्ने जो कोहीलाई थाहा छ।
धेरै समर्थकले खेलाडीलाई आराम दिनु पर्छ भनेर सामाजिक सञ्जालमा आवाज नै उठाए पनि। यही 'गधा जोताइ' शैलीमा २०१९/२० को सिजन त सकियो। तर, एक महिना पनि राम्ररी आराम गर्न नपाँउदै २०२०/२१ को सिजन सुरु भो। २०२१ मा पनि उहीँ नियती दोहोरियो। उही रफ्तार उही गति उही ड्युटी। हप्तामा २ /३ खेल्दै सिजन सकाए। जित हारको खुशी र पीडा त अर्कातिर छँदै छ। यस महिना त सिजन सकाएर छुट्टी बस्ने महिना हो, छुट्टी बसेर नयाँ जोश जाँगरसहित मैदान फर्कने महिना हो। तर, खेलाडीहरु एकदिन पनि छुट्टि नबसी आफ्नो देशको तर्फबाट युरो कप, कोपा अमेरिका, अन्तराष्ट्रीय मैत्रीपूर्ण खेल, एसियन कप छनोट, विश्वकप छनोट खेल्न आआफ्नो देश पुगे। र, खेलिरहेका छन्।
२०२१ मा खेलाडीहरुले कुनै पनि हिसाबको आराम गर्ने समय नै पाएका छैनन्। अझै एक महिना यी प्रतियोगिता बाँकी नै छ। सक्नासाथ फेरि क्लबको ड्युटीमा फर्किहाल्नु पर्छ। हामी देख्छौँ फुटबल खेलाडीहरुले दशौँ, बिसौँ मिलियन डलर कमाएको। अनि मैदानमा राम्रो प्रदर्शन गरेन, गोल गरेन अथवा हार्यो भनेर तथानम गाली पनि गर्छौँ। अझ केही क्लबका मालिकहरु त युरोपियन सुपर लिग पनि गर्ने भनेर प्रचारबाजी पनि गरिरहेका छन्। हरेक दिनजसो फुटबल खेलेर उनीहरु थाकेका हुन्छन्। शारिरिक र मानसिक आरामको जरुरत हुन्छ।
के फुटबलरलाई विश्राम चाँहिदैन? नेपालकै सन्दर्भमा कुरा गर्नु पर्दा कोरोनाको कारण लामो समय ठप्प भएको फुटबल केही समयअघि मात्रै मैदान फर्केको हो। छोटो समयको तयारीका बाबजुत पनि नेपालले त्रिदेशीय फुट्बल प्रतियोगिता आयोजना गरी आफैले उपाधि जित्यो। त्यसको केही समय लगत्तै विभिन्न लिगकम नकआउट प्रतियोगिताहरु भए। उक्त प्रतियोगिताहरु सक्ना साथ नेपाल सुपर लिग आयोजना भयो। र फेरि यो प्रतियोगिता सक्नासाथ नेपाल नयाँ प्रशिक्षकको प्रशिक्षणमा अन्तराष्ट्रीय मैत्रीपूर्ण खेल र विश्वकप छनोटको खेल खेल्न कुवेत पुग्यो।
लामो समयदेखि विश्रामको अभाव साथसाथै, छोटो समयको अभ्यास, प्रतिकुल तापक्रम र वातवरणमा आफुभन्दा उच्च श्रेणीको टोलीहरुसँग खेल्नुपर्दा नेपालले सकरात्मक नतिजा हात पार्न सकेन। यद्यपि, चाइनिज ताइपेइमाथि भने सानदार जित दर्ता गराउन सफल भयो। जुन सुकै खेलाडीले गरेको प्रदर्शन र उसको मिहिनेतलाई गलत तरिकाले व्याख्या नगरौँ। त्यस पछाडिका कारणहरु र बाध्यताहरु पनि हेर्ने बानीको विकास गरौँ। किन भने फुटबलरहरु पनि मान्छे हुन् मेसिन होइनन्।