PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सुन्दर मानवीय मुल्य झल्किएको एउटा दुखद् खेल : एरिक्सनको अवस्थाले यसरी जोड्यो दुनियाँलाई



स्वेच्छा राउत

सुन्दर मानवीय मुल्य झल्किएको एउटा दुखद् खेल : एरिक्सनको अवस्थाले यसरी जोड्यो दुनियाँलाई

शनिवार यूरोकप अन्तर्गत शनिवार फिनल्याण्ड र डेनमार्कको खेल थियो। खेलको ५९ औं मिनेटमा जोएल पोह्यानपालोले फिनल्याण्डका लागि निर्णायक गोल गरे। दर्शकदीर्घामा रहेका फिनल्याण्डका समर्थक उत्साहित हुँदै उफ्रिए, कराए। देशको झण्डा र समर्थनको नारा लागि रहँदा, जोएल स्वयंले भने गोलको उत्सव मनाएनन्।

उनी कुद्दै गोलपोस्टदेखि केही पर पुगे। उनको मुहारमा न हाँसो देखियो न निर्णायक गोल गर्नुको खुशी नै। कारण – केहीबेरका लागि स्थगित भएको त्यस खेल पुन: सञ्चालन गर्नुअघिको घटना।

सन् २०२१, १२ जुन। यूरोपकप फुटबलको मजा लिइरहेका थिए दर्शक। गोलरहित एकअर्काविरुद्ध संघर्ष गरिरहेका थिए डेनमार्क र फिनल्याण्डका खेलाडी। कुन समूहको कस्तो प्रदर्शन? रङ्गशालामा भइरहेको खेलको विवेचनाबिच देखियो यस्तो दृश्य जुन अविश्वसनीय र दर्दनाक थियो। पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै ढले। आफ्नै साथीको बल पास लिनेक्रममा उनी ढल्न पुगेका थिए। घरेलु दर्शकले खचाखच कोपेनहेगन शहरको पार्केन रङ्गशालामा सन्नाटा छायो। सबै डर, निराशा र जिज्ञासा मिश्रित भावमा देखिए।

के भयो? कसरी भयो? कसैलाई थाहा थिएन। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रत्यक्ष प्रसारणहरू रद्द गरिए। अनि सामाजिक सञ्जाल र सञ्चार माध्यममा सुरु भयो कामनाको श्रृङ्खला। फुटबल हेर्ने, नहेर्ने सबै एरिक्सनको स्वास्थ्य लाभका लागि खर्चदै थिए शब्दहरू। कामनाहरूबिच यदाकदा उनको मृत्युबारे भ्रम नफैलिएका होइनन्। ती तथ्यहिन जानकारी फैलनुअघि एरिक्सन होसमा फर्किएको खबर सार्वजनिक भयो। एरिक्सनको स्वास्थ्यलाभको कामना गरिरहेका विश्वभरका खेलाडी र फुटबलप्रेमी दर्शक पुन: उत्साही देखिए। दुर्भाग्यपूर्ण त्यस खेलमा केही विभिन्न उच्च मानवीय मुल्य देखिए।

एरिक्सन होसमा आउनुमा चिकित्सकीय टोलीको जति चर्चा भयो, त्यति नै डेनमार्कका राष्ट्रिय टोलीका क्याप्टेन सिमन केयरको पनि। कारण – उनले देखाएको 'हिरोइज्म।'

टिम क्याप्टेन सिमन केयरले आफ्नो जिम्मेवारी खेल अवधिमा मात्र सीमित राखेनन्। जब एरिक्सन ढले तब सिमन हतासमा देखिन्थे। सम्भावित खतरा आँकलन गरेका उनी दौडदै एरिक्सनतर्फ गए। पुग्ने वित्तिकै शुरु गरे उनले एरिक्सनको अवस्था सहजीकरण। शरीरको पछिल्लो भागमा थुम्थुमाए। खुला हावाका लागि ठाउँ खाली गराए। चिकित्सकहरू मैदानमा आइपुग्नुअघि आफै सुरु गरे सिपिआर। 

Photo: twitter.com/SiaranBolaLive


सिपिआर अर्थात् कार्डियोपल्मोनरी  रिससिटेसन् यस्तो प्राथमिक उपचार पद्दती हो जसले अक्सिजनयुक्त रगतको निरन्तर प्रवाह गर्छ। विशेषगरी मुटुमा समस्या हुँदा वा स्वासप्रस्वास अवरुद्ध हुँदा सिपिआर गरिन्छ।

केयरको इशारा पाएर केहीबेरमै आइपुगेका स्वास्थ्यकर्मीले पनि एरिसक्सनलाई होसमा ल्याउन सिपिआरलाई नै निरन्तरता दिए। केहीबेरमा एरिक्सनलाई अक्सिजन सहायतासहित अस्पताल पुर्‍याइयो। अस्पतालबाट जानकारी दिइयो – एरिक्सन सास फेर्न र बोल्न सक्ने भए। यो सबै भइरहँदा सन्डरल्याण्डका पूर्व खेलाडी नील वायनराइटले क्याप्टेन केयरको चर्चा गरे। उनले ट्वीट गरे : एरिक्सन ठीक हुनुको धेरै श्रेय सिमन केयरलाई दिनुपर्ने देखिन्छ जसले तत्काल सिपिआर सुरु गरे।

केयरले स्वास्थ्यकर्मी आइपुग्नुअघि देखाएको तत्परता त चर्चामा छ नै। साथै उनी ती पात्र हुन् जो सबैभन्दा पहिले एरिक्सनकी श्रीमती सब्रिना येनसनलाई सम्हाल्न र साथ दिन पुगे। उनले आत्तिएर रोइरहेकी सब्रिनालाई थुम्थुमाएको तस्विरहरू भावनात्मक क्याप्सनसहित छाए सामाजिक सञ्जालमा।

Photo: AFP


धेरैले उनलाई एक कुशल र पूर्ण क्याप्टेन हुनुको संज्ञा दिए।

क्याप्टेनसँगै डेनमार्कका खेलाडीहरू एक भएर उभिए, एकअर्काको हात समातेर। प्रार्थना गर्दै। एरिक्सन वरिपरी मानव साङ्ग्लो बनाएर उभिएका उनीहरूले एरिक्सन छट्पटाइ रहेको संवेदनशील दृश्य मिडिया र दर्शकबाट छेक्न सक्दो कोसिस गरे। डिफेण्डरको रुपमा खेल्ने सिमोन केयर यतिबेला पनि डिफेन्सिभ देखिए। खेलबाहेक यो अवस्थामा पनि उनले टोली सम्हाले। विपदको यो घडीमा डेनमार्कका खेलाडीहरूले देखाएको संयमितता र सुझबुझले धेरै खेलप्रेमीको मन जित्यो।

यी सबै भइरहँदा बीबीसीलगायत मिडियाबाट केही दृश्य प्रसारण भए। अन्तर्राष्ट्रिय दर्शकले त्यस त्यसलाई असंवेदनशील र गैरजिम्मेवार हर्कत भएको आरोप लगाए। यता नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबिच भने स्वास्थ्यलाभको कामना गर्दा पनि तिनै संवेदनशील मानिएका दृश्यहरू अपरिहार्यजस्तै बनेका थिए।

Photo: Wolfgang Rattay/Getty Images


त्यस आपतकालिन घडीमा पनि टिमलाई एकरुप बनाएका केयरको ‘हिरोइज्म’को सर्वत्र चर्चा भयो। अस्पतालबाट आएको सकारात्मक सन्देशसँगै खेललाई निरन्तरता दिने निर्णय दुवै टोलीले दिए। र, होमिए मैदानमा। असामान्य परिस्थितिबाट गुज्रिएको डेनमार्कलाई खेलमा फर्किनु पक्कै सहज थिएन। यो उच्च मनोबल प्रदर्शनका लागि फिनल्याण्डका खेलाडीले ताली बजाएर मैदानमा डेनिस खेलाडीको स्वागत गरे।

खेल हुँदै गर्दा पनि डेनिस दर्शक पहिलो हाफमा जस्तो उत्साहित देखिएनन्। मैदानमा खेलाडी, दर्शकदीर्घामा दर्शक देखिइरहँदा टीएसएनलगायत केही मिडियामार्फत् खेलाडीहरू भावनात्मक रुपमा कमजोर स्थितिमा रहँदा खेल पुन: सुरु गरिनु ठीक कि बेठीक? भन्ने विषयमा बहस नै भयो।

खेलमा पक्ष विपक्षको कित्तामा बाँडिएका डेनिस र फिनिस दर्शक भने मानवीय मुल्य र समभाव दर्शाउने मामिलामा एकाकार देखिए। एरिक्सनलाई अस्पताल लैजाँदै गर्दा रङ्गशालामा भएका डेनिस र फिनिस दर्शक “क्रिस्टियन एरिक्सन” भनेर कराउँदै सबैको मनोबल उच्च राख्दै थिए।

नजिक नजिक रहेका उत्तरी युरोपका यी दुई देशका मानिस अझै धेरै नजिकिएका थिए। र नजिक जोड्ने पुल बनेको थियो फुटबल।

स्टार खेलाडी एरिक्सनको स्वास्थ्य लाभको कामनासहित उनीप्रति सम्मान व्‍यक्त गर्नेहरू पनि देखिए। धेरै खेलाडी र क्लबहरूले एरिक्सनको स्वास्थ्यलाभकप कामना गरिरहे। डेनमार्क र फिनल्याण्डको खेलपछि भएको समूह चरणको अर्को खेलमा रोमेलु लुकाकुले आफ्नो गोल एरिक्सनप्रति समर्पित गरे। एरिक्सनसँगै इटालियन क्लब इन्टर मिलानबाट व्यवसायिक खेल खेल्ने उनले गोलपश्चात् दौडिएर लाइभ खिचिरहेको क्यामरा अगाडि आएर भने – 'क्रिस, म तिमीलाई माया गर्छु।'

त्यस्तै इन्टर मिलानमा एरिक्सनसँगै खेल्ने अशरफ हकिमीले मोरक्को र बुर्किना फासोबिच भएको मैत्रीपूर्ण खेलमा आफ्नो गोल एरिक्सनलाई समर्पित गरे। उनले औँलाले दुई र चारको सङ्केत गर्दै एरिक्सनलाई सम्झिएका थिए। । एरिक्सन इन्टर मिलानबाट जर्सी नम्बर २४ लगाएर खेल्छन्।

फुटबलको ठूलो उत्सव मध्यको एक युरोकपमा डेनमार्क र फिनल्याण्डको खेलले फुटबलप्रेमीलाई स्तब्ध त तुल्यायो नै साथै एकाकार पनि गरिदियो। डेनिस टिम, डेनिस क्याप्टेन, रङ्गशालाका दर्शक, खेलाडीहरू र टिभीमा प्रत्यक्ष हेरिरहेका दर्शक सबैले दुखद् यस घडीमा उच्च मानवीय मुल्य प्रदर्शन गरे। खेल फिनल्याण्डले जित्यो तर फुटबलले फेरि एकपटक मन जित्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell