PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देउवालाई सत्तामा भन्दा महाधिवेशनमा ध्यान दिन पौडेलको आग्रह, 'पार्टीको दर्ता खारेज हुन सक्छ, बेइज्जती हुन्छ'



देउवालाई सत्तामा भन्दा महाधिवेशनमा ध्यान दिन पौडेलको आग्रह, 'पार्टीको दर्ता खारेज हुन सक्छ, बेइज्जती हुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्तामा भन्दा पार्टी महाधिवेशनमा ध्यान दिन आग्रह गरेका छन्।

१४ औं महाधिवेशनको सन्दर्भमा कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमवार भएको भर्चुअल संवादमा उनले देउवालाई सरकार बनाउन भन्दा पार्टीकै महाधिवेशनमा केन्द्रित हुन भनेका हुन्।

'सत्तालाई भन्दा व्यवस्थालाई ध्यान दिउँ। सत्तामामात्र ध्यान नदिउँ। पावरमा एकचोटि पुगेपछि उसको विर्ताजस्तो बनाए। थर्ड वर्ल्डमा यस्तो हुने रहेछ। अधिवेशन गर्नैपर्छ। यो बाध्यता हो यो पनि गुजार्‍यो भने पार्टीको दर्ता खारेज हुन सक्छ। बेइज्जती हुन्छ। यसको विकल्प छैन' पौडेलले भने, 'जरीवाना तिरेर अपमान सहने तिर नलागौं। कोरोनाको बेला पदका लागि महाधिवेशन चाहियो भनेर आरोप लगाउनेहरु पनि देखिन्छन्। यस्तो मान्छे पार्टीमा कसले जन्मायो?'

उनले महाधिवेशन गर्न नेतृत्वले ध्यान नदिएकाले नै पार्टी अहिले विचित्रको अवस्थामा आइपुगेको बताए।

'यस्तो अवस्था आउँछ भन्दाभन्दै आयो। सचेत गराउँदा गराउँदै भन्दाभन्दै यस्तो अवस्था आयो। हाम्रो भन्नु समयवद्ध काम गर्नुपर्‍यो। धोकाको स्थितिमा आइपुगेको छ। विचित्रको अवस्थामा आइपुगेको छ' उनले भने।

कांग्रेसले भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।

शेरबहादुर देउवा २०७२ फागुन २४ गते ४ वर्षका लागि नेपाली कांग्रेसको सभापतिमा चुनिएका थिए। २०७६ फागुन २४ मा उनको कार्यकाल सकिएपनि महाधिवेशन हुन सकेन। पार्टीको विधानको धारा ४३ प्रयोग गरी उनले आफ्नो कार्यकाल २०७७ फागुन २४ सम्म एक वर्ष थप गरेका थिए। त्यसभित्र पनि महाधिवेशन गर्न नसकिएपछि संविधानको सहारा लिएर कार्यकाल अझै ६ महिना थप गरिएको थियो। देउवाको कार्यकाल यही भदौमा सकिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell