PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश २ को बजेट : 'बेटी पढाउ, बेटी बचाउ' देखि नेताको शालिक बनाउनेसम्मको योजना



सुमित मिश्र

प्रदेश २ को बजेट : 'बेटी पढाउ, बेटी बचाउ' देखि नेताको शालिक बनाउनेसम्मको योजना

जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि लागि बजेट प्रस्तुत गरेको छ। सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेका हु्न्।

सोमवार आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले छैठौं अधिवेशनको ९ औँ बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालु तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत रकम विनियोजन गरिएको छ।

यसैगरी पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३.४४ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात ०.३० प्रतिशत विनियोजन गरिएको छ। बजेटको स्रोतमा नेपाल सरकारको तर्फबाट अनुदान १३ अर्ब ९० करोड ३४ लाख रहेको मन्त्री यादवले बताए।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार रहेको छ। राजश्व बाँडफाँडबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ६ अर्ब २५ करोड गरी जम्मा ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार व्यहोर्दा १ अर्ब न्युन हुने देखिन्छ। सो न्युन रकम पूर्तिका लागि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने बजेटमा उल्लेख छ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ। प्रदेशभरका स्थानीय तहलाई आगामी आर्थिक वर्षमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख विनियोजन गरिएको हो।

यस्तै, स्थानीय तहहरुको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रतिकूल असरलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका दिइएको छ। साथै कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको, बेरोजगारी दर बढेकोले यसपालीको बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ। आगामी बजेटमा केही पुरानै कार्यक्रमहरुलाई समेत प्राथमिताका साथ समावेश गरिएको छ।

आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु अक्सिजन सिलिण्डर, रेमडिसिविर, औषधी लगायत खरिद गर्नका लागि २० करोड बजेट विनियोजन गरिएको छ। प्रदेशमा मिर्गौला रोगीहरुको चापलाई ध्यानमा राख्दै प्रत्येक जिल्लामा उपलब्ध गराउनका लागि ३५ वटा डायलसिस मेसिन खरिद गर्नका लागि १२ करोड रकम विनियोजन गरिएको छ।

प्रदेश सरकारले जनकपुरधामको मुजेलियास्थित निर्माण गरिरहेको मणिपालल कोभिड अस्पताल तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरुवात गर्नका लागि भौतिक संरचना निर्माण गर्न १० करोड बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारले प्रदेशको शैक्षिकस्तर उकास्नका लागि प्रत्येक जिल्लामा कम्तिमा एउटा नमूना सामुदायिक विद्यालयको विकास तथा विद्यालयहरुको भौतिक संरचना सुधार गर्नका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको छ। विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले प्रत्येक जिल्लामा खेल मैदानको निर्माणका लागि बजेट छुट्याइएको छ। यस कार्यक्रमका लागि ८ करोड रकम विनियोजन गरिएको छ।

आदिवासी, दलित, जनजाति, मधेश आन्दोलनमा शहीद भएको परिवारको छात्रवृत्तिका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै त्यसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि ६७ करोड २० लाख, महेन्द्रनारायण निधि आवास कार्यक्रम शुरुवात गर्नका लागि ८ करोड, मझौला सिंचाई कार्यक्रमका लागि ४१ करोड, बाढीको प्रकोप कम गर्न नदी नियन्त्रण कार्यक्रमका लागि ३० करोड, वडादेखि पालिकाको सदरमुकाम सम्मको सडक निर्माणका लागि ६८ करोड रकम विनियोजन गरिएको छ। रामराजा सिंह र गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि ४ करोड, शहीद दुर्गानन्द झाको शालिक निर्माणका लागि २ करोड रकम विनियोजन गरिएको हो।

त्यस्तै, प्रदेश सरकारको महत्वाकांक्षी योजना 'बेटी पढाउ बेटी बचाउ' कार्यक्रमका लागि २० करोड रकम विनियोजन गरिएको छ।

प्रदेश २ सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो। यस वर्षको बजेट चालु आर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढी छ।

प्रदेश २ को बजेट भाषण :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell