PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कालीगण्डकीले पार गर्‍यो खतराको तह, बेनी बजार कटानको जोखिममा



कालीगण्डकीले पार गर्‍यो खतराको तह, बेनी बजार कटानको जोखिममा
तस्विर : सन्तोष गौतम / रासस

काठमाडौं : कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान गरेको छ। कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको हो।

केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन्। अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्‍याएको हो।

पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा नौ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएका छन्। यसैगरी बेनी–४ डाँडाखेतमा तीन परिवार विस्थापित भएका छन्।

निरन्तरको वर्षासँगैको पहिरोले म्याग्दीका सबै सडक अवरुद्ध बनेका प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताए। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुङ्गा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका छन्।

बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, गलेश्वर–मौवाफाँट–चिमखोला–कुइनेमङ्गले, पोखरेबगर–घार–शिख–चित्रेलगायत सबै ग्रामीण बस्ती जोड्ने सडकमा यातायात ठप्प भएको छ। कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले खतराको तह नाघेको छ। तटीय र जोखिमयुक्त ठाउँका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell