महिनावारीको समयमा उषा केसीलाई साह्रै गाह्रो हुन्छ। उनमा शारीरिक कमजोरी र मानसिक तनाव एकैसाथ बढ्छ। शान्त रहन कठिन हुन्छ। स-साना कुरामा झिँजो लाग्नु र रीस उठ्नुले परिस्थिति सम्हाल्न सक्दिनन् कहिलेकाहीँ। यस पटक त उनको तनाव झनै बढ्यो। किनकि महिनावारी हुनुअघि देखिने लक्षणहरू देखिए। अर्थात्, प्रिमेन्सट्रुअल सिन्ड्रोम (पीएमएस) सुरु भयो। तल्लो पेट दुख्यो, शरीर गल्यो र 'मुड स्वीङ्ग' हुन थाल्यो। तर, महिनावारी भएन।
केही दिन ढिला हुँदा सामान्य मानेकी थिइन्। तर, दश दिन ढिलासम्म पनि महिनावारी नभएपछि उनी आत्तिन थालिन्। स्त्री रोग विशेषज्ञसँग परामर्श लिँदा – केही दिन पर्खन र पीएमएस भएर पनि महिनावारी नभएको अवस्थामा आवश्यक परीक्षण गराउने सुझाव पाइन्।
नियमित हुनेभन्दा करिब तेह्र दिनपछि उनको महिनावारी भयो। त्यसपछि पनि उनको अवस्था सामान्य रहेन। अन्य महिनाभन्दा यसपटक रक्तश्राव बढी भयो। पेट अत्याधिक दुख्यो र मानसिक तनाव र चिन्ता पनि अस्वभाविक रह्यो।
महिनावारी भएकाले उषा अस्पताल गइनन्। बरु आफ्नो अवस्था र समस्या कम गर्ने उपायबारे बुझ्न इन्टरनेट चहारिन्। सम्बन्धित लिंकहरू खोल्दै जाँदा एउटा खबरले उनको ध्यान खिच्यो।
टाइम्स अफ इन्डियाको उक्त खबरको शीर्षक थियो- 'कोभिड भ्याक्सिन: महिनावारी प्रक्रियामा परिवर्तन हुनसक्छ अल्पकालीन असर।'
उनले आफ्नोजस्तै अनुभूति अन्य देशका महिलाहरूले भोगेको पाइन्। जसमध्ये एउटा खबरले उनको ध्यान खिच्यो।
जसमा लेखिएको थियो – धेरै महिलाले कोभिडविरुद्ध भ्याक्सिन लगाएपछि आफ्नो महिनावारीको चक्रमा प्रभाव परेको गुनासो गरेका छन्। केही महिलाहरूको महिनावारी ढिला भएको छ। केहीको भारी रक्तश्राव भएको छ।
उक्त रिपोर्टका अनुसार विशेषज्ञहरूको अध्ययनमा कोभिडविरुद्धको भ्याक्सिन लगाएपछि महिनावारी प्रक्रियामा अल्पकालिन असर देखिन सक्ने जनाइएको छ। र, यस्ता असर दुवै डोज भ्याक्सिन लगाएपछि बढीमा दुई महिनासम्म देखिएको छ।
उषाले गत वैशाख ६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएकी थिइन्। त्यस महिना उनको महिनावारीमा अप्रत्याशित प्रभाव देखिएको थिएन। जेठको ५ गते दोस्रो डोज पूरा गरेपछिको मासिक चक्रमा भने उनले थुप्रै शारीरिक, मानसिक र भावनात्मक असरहरू भोग्नु परेको हो।
'कोभिडको खोप लगाएपछि अरुलाई टाउको दुख्यो, ज्वोरो आयो, थकान बढ्यो भन्ने सुनेकी थिएँ। आफूलाई केही भएन भनेर दङ्ग परेको त पिरियडको समयमा झन् बढी दुखाइ सहनु पर्यो,' उषाले सुनाइन्, 'खोप लगाएपछि देखिनसक्ने यस्ता असरहरूबारे थाहा भएको भए अलि कम आत्तिन्थेँ होला। तनाव कम हुन्थ्यो होला।'
नेपालमा कोभिशिल्ड र भेरोसेल खोप दुई/दुई चरणमा वितरण भयो। तर, खोप लगाउनुअघि खोप केन्द्रहरूमा शारीरक स्वास्थ्य जाँच, चिकित्सकको परामर्श र सम्भावित असरहरूबारे जानकारी दिइएन। फलस्वरुप, सुरुवाती चरणमा खोप लगाउनेहरूमा देखिएको असरबारे सामाजिक सञ्जालमा अत्याधिक चर्चा भयो। कसैले अत्याधिक ज्वरो आएको, स्वासप्रस्वासमा समस्या देखिएको बताए। केहीले घाँटी समाएको, वान्ता वा पखाला लागेको गुनासो गरे त केहीले थकान र रिंगटा लागेको सुनाए। तर, महिनावारीमा परेको असरबारे चर्चा भएन।
यस्तो समस्या नेपालमा मात्र भने होइन। बीबीसीका अनुसार विश्वका अन्य देशहरूमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउन पुगेकाहरूलाई परामर्श दिइन्छ। उनीहरूलाई खोपको सम्भावित असरहरू, जस्तै: ज्वरो आउने, टाउको दुख्ने, पाखुरा सुन्निनेबारे जानकारी दिइन्थ्यो। तर, त्यसमा महिनावारीमा पर्ने असरबारे केही बताइँदैन।
विषयको उठान सामाजिक सञ्जालमार्फत् भयो। खोप लगाएका महिलाहरूले छिटो/ढिलो, पीडादायी र उच्च रक्तश्रावबारे प्रश्न गर्न थाले। तीमध्ये प्रायले कोभिडविरुद्ध दुवै डोज भ्याक्सिन लगाएको उल्लेख गरेका थिए।
मेडिकल एन्थ्रोपोलोजिस्ट डाक्टर केट क्लेन्सीले ट्वीटरमा आफ्नो अनुभव साटेकी थिइन्। उनले मोडर्ना खोप लगाइसकेपछि भोगेको उच्च रक्तश्रावबारे लेखिन्। लगत्तै, दर्जनौं महिलाले आफ्नो महिनावारी प्रक्रियामा देखिएको असरबारे उनीसँग गुनासो गरे। जसमध्ये पारलिङ्गी र महिनावारी रोकिइसकेकाहरूले खोप लगाएपछि पनि रक्तश्राव भएको बताएका थिए। त्यस्तो अवस्थामा भने तुरुन्त डाक्टरको परामर्श लिनु पर्ने इम्पेरियल कलेज, लण्डनकी प्रजनन प्रतिरक्षा विज्ञ डाक्टर भिक्टोरिया मेलले बताएकी छिन्।
द बिएमजेमा प्रकाशित एक रिपोर्टका अनुसार अप्रिल २०२१ यता ब्रिटिस चिकित्सा एवं स्वास्थ्य सेवा नियामक संस्थामा ९ सय ५८ वटा केस दर्ता भएका छन् जसमा महिलाहरूले कोभिडविरुद्ध खोप लगाएपछि महिनावारी प्रक्रियामा परिवर्तन आएको बताएका छन्।
उनीहरूमध्ये केही मेनोपज अर्थात् महिनावारी रोकिएको १२ महिना भइसकेका महिला रहेका छन्। केहीलाई दुई मासिक चक्रबिच अस्वभाविक रक्तश्राव भएको छ।
खोप लगाउनु र महिनावारीमा असर पर्नु बिचको अन्तर सम्बन्ध प्रमाणित भएको छैन। तर, खोपले महिलाको मासिक चक्रमा प्रभाव पार्छ भन्नेबारे तार्किक कारणहरू अघि सारिएको छ। भलै देखिएका परिवर्तनबारे चिन्तित हुन नपर्ने प्रजनन स्वास्थ्य विशेषज्ञहरूको दावी छ। 'ती परिवर्तनहरूले दीर्घकालीन असर गर्दैन,' बीबीसीमा लेखिएको छ।
देखिएका असरहरू खोप अनुरुप फरक पर्ने अध्ययनले देखाएको छ। बेलायतमा फाइजर-बायोनटेकको तुलनामा अस्ट्राजेनेका खोप लगाउने महिलाको महिनावारीमा असर परेको देखिएको छ।
लुम्बिनी प्रादेश अस्पतालका स्वास्थ्यकर्मी नीलम तिमिल्सिनाले कोभिशिल्ड खोप लगाएकी हुन्। अन्य समय महिनावारी हुँदा उनलाई तल्लो पेट दुख्ने समस्या थिएन। तर, दुवै डोज खोप लगाएपछिको मासिक चक्रमा दु:खाई महसुस गर्न थालेको उनको अनुभव छ।
'मेरो महिनावारीको तालिका नै तलमाथि त भएन। तर, पेट दुख्न थाल्यो। सँगै खोप लगाएका स्वास्थ्यकर्मी साथीहरूको चाहिँ अवधि नै ढिलो चाँडो हुन थालेको सुनेकी छु,' उनले भनिन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्त्री रोग तथा प्रजनन रोग विशेषज्ञ डाक्टर गीता गुरुङ भने यस्ता समस्यालाई कोभिड-१९ विरुद्ध खोपको प्रत्यक्ष असरभन्दा बढी महामारी बिच बढ्दो तनावको प्रभाव हुनसक्ने बताउँछिन्। 'यस विषयमा नेपालमा कुनै अध्ययन, अनुसन्धान भएका छैनन्। अध्ययन बिना केही दावी गर्न सकिँदैन। तर, देखिएको असरको कारण मानसिक स्थितिसँग जोडिएको हुनसक्छ,' उनले भनिन्।
हर्मोनको गडबढीका कारण महिनावारी ढिलो वा चाँडो हुने साथै कतिमा उच्च रक्तश्राव अर्थात् मेनोरेजिया हुन्छ। यो अवस्थामा अन्य समयभन्दा दुई गुणा बढी रक्तश्राव हुनसक्ने बताइन्छ। कारण जीवनशैली वा वशांणुगत पनि हुनसक्छ र पाठेघर सम्बन्धिको समस्या, क्यान्सर, डिम्बाशयसम्बन्धि रोग आदि पनि।
दश प्रतिशत महिलालाई महिनावारीको समस्या हुने स्त्रीरोग विज्ञ डाक्टर उषा श्रेष्ठको भनाइ छ। महिनावारी हुने उमेर समूहका धेरै महिलाले हालसम्म खोप नलगाएका कारण नेपालको हकमा यस सम्बन्धि केसहरू धेरै नसुनिएको हुनसक्ने उनको तर्क छ। 'कसैको चाहिँ चक्र नै ४०, ६० वा ९० दिनमा हुनसक्छ। तर, कहिले लामो अवधिमा कहिले छोटोमा हुन्छ भने चाहिँ परीक्षण आवश्यक पर्छ,' उनले भनिन्।
महिनावारी हुँदा देखिएका परिवर्तनहरूमा लक्षण अनुरुप औषधि उपचार गरिनुपर्ने उनको सुझाव छ। 'भ्याक्सिनको प्रत्यक्ष असरबारे चाहिँ अध्ययन आवश्यक छ,' उनले भनिन्।