PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अवसरवादी गठबन्धनबाट बनेको सरकारलाई विश्वासको मत दिन सकिन्न : पृथ्वीसुब्बा गुरुङ



अवसरवादी गठबन्धनबाट बनेको सरकारलाई विश्वासको मत दिन सकिन्न : पृथ्वीसुब्बा गुरुङ

पोखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धनको सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावमा हाल प्रदेशसभामा छलफल भइरहेको छ। प्रस्तावका बारेमा आफ्नो मत राख्दै गुरुङले गठबन्धनको सरकारलाई विश्वासको मत नदिने बताएका हुन्।

गुरुङले पोखरेल जस्तो परिपक्व, शालीन व्यक्तित्व भएका व्यक्तिलाई विश्वासको मत दिन्न भन्न नसकेपनि अवसरवादीलाई लिएर सरकार बनाएकाले विश्वासको मत नदिने बताएका हुन्।

'उहाँलाई म विश्वासको मत दिन्नँ भन्न गाह्रो भयो। कृष्णचन्द्रलाई दिनुहोस् भन्नुभएको होइन। मेरो नेतृत्वमा बनेको सरकारलाई भन्नुभएको छ,' गुरुङले भने, 'जुन धरातलमा अवसरवादीहरुको गठबन्धन भएको छ, त्यो गठबन्धनलाई एमालेले विश्वासको मत दिन सक्दैन।'

यस्तै नेकपा (एमाले) सांसद राजीव पहारीले सत्तारुढ दलहरुको गठबन्धनलाई 'तेल र पानीको मिश्रण'को संज्ञा दिए। 

'त्यो न पिउन मिल्छ, न गाडीमा हाल्न मिल्छ,' उनले भने।

राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले अहिलेको सरकारलाई आफ्नो पार्टीले गुण र दोषको आधारमा समर्थन दिने बताइन्। आफूसँग रहँदा राम्रो, अर्कोसँग हुँदा नराम्रो व्याख्याले गलत मार्गदर्शन गर्ने उनको भनाइ थियो।

बैठकमा काँग्रेस सांसद ओमकला गौतमले वर्तमान सत्तारुढ गठबन्धनलाई 'खिचडी' भनिएकोमा आफ्नो आपत्ति रहेको बताइन्।

'खिचडी भनेको सामान्य पकवान होइन। यो विशेष दिनमा पाक्छ, विशेष दिनमा खाइन्छ, यसमा औषधिय गुण पनि हुन्छ, ' उनले भनिन्।

केही बेरमा नै मुख्यमन्त्री पोखरेलले राखेको प्रस्तापमाथि प्रदेशसभामा मतदान हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell