PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाढीबाट सबैभन्दा बढी प्रभावित हुने गरेको प्रदेश २ मा के छ पूर्व तयारी?



सुमित मिश्र

बाढीबाट सबैभन्दा बढी प्रभावित हुने गरेको प्रदेश २ मा के छ पूर्व तयारी?
फाइल फोटो।

जनकपुरधाम : नेपालमा मनसुन प्रवेश गरेको साता दिन बित्नै लागेको छ। पछिल्लो केही दिन यता देशै भरी भइरहेको लगातारको वर्षाका कारण आएको बाढीले कयौँ स्थानमा ताण्डव मच्चाई रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष औषतभन्दा बढी वर्षा हुने बताएको छ। जसबाट १८ लाखभन्दा बढी प्रभावित हुने जनाइएको छ।

नेपालमा सबैभन्दा बढी वर्षाका कारण हुने बाढीबाट प्रत्येक वर्ष प्रदेश २ प्रभावित हुँदै आइरहेको छ। यद्यपि अहिलेसम्म भएको वर्षाले तराईका नदीहरुको बहाव खतरा बाहिर नगएकाले बाढीबाट सुरक्षित छ। यो मनसुनको शुरुवात मात्रै भएकोले अब आउने दिनमा नदीको बहाब बढ्दै गयो भने सबैभन्दा बढी प्रभावित प्रदेश २ नै हुने जनाइएको छ। पछिल्ला वर्षहरुको तथ्यांकले समेत बाढीबाट सबैभन्दा बढी प्रदेश २ नै प्रभावित हुँदै आएको देखाउँछ।

गत वर्ष प्रदेश २ मा बाढीबाट करोडौँको क्षति भएको थियो भने कयौँ व्यक्तिको ज्यान समेत गएको थियो। हजारौँ सर्वसाधारण घरबारविहीन भएका थिए। प्रदेश २ मा गत दुई आर्थिक वर्षमा गरी बाढी तथा डुबानमा परेर ९२ जनाले ज्यान गुमाउनु परेको तथ्यांक प्रदेश २ प्रहरी कार्यालयसँग छ। जसमध्ये सबैभन्दा बढी रौतहटमा ४३ जनाको बाढी तथा डुबानमा परेर मृत्यु भएको थियो। त्यस्तै, धनुषामा १५, सिरहामा १२, सर्लाहीमा ९, सप्तरीमा ५ पर्सामा ६ र  बारामा २ जनाको ज्यान गएको थियो।

गत वर्ष वर्षासँगै आएको बाढी तथा डुबानका कारण प्रदेश २ ले कृषि क्षेत्रमा मात्रै अढाई अर्ब भन्दा बढिको क्षति बेहोरेको थियो। प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समेत गत वर्षको बाढीले अर्बौँको बाली बगाएको जनाएको छ। प्रदेशको ८ वटै जिल्लामा २ अर्ब ६७ करोड ६ लाख ४८ हजार बराबरको क्षति भएको छ। बालीतर्फ करिब १ अर्ब ५५ करोड ४८ लाख ५४ हजार बराबरको क्षति भएको थियो।

त्यस्तै, पशुपक्षीतर्फ यस प्रदेशमा १ अर्ब ११ करोड ५७ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो। प्रदेश २ मा कुल ५ लाख ४७ हजार २२५ हेक्टर खेती योग्य जग्गा रहेको छ। जसमध्ये ५ लाख २६ हजार ६५ हेक्टर क्षेत्रफल जग्गामा खेती गरिएको थियो भने ३५ हजार ४ सय ४० हेक्टर जग्गामा खेती गरिएको थिएन।

बाढी तथा डुबानको कारण ८ वटै जिल्ला गरी बाली तर्फ ५५ हजार ६ सय २० हेक्टर जग्गामा क्षति भएको मन्त्रालयको तथ्यांक रहेको छ। त्यस्तै, पशुपक्षीतर्फ १ हजार ९८७ हेक्टरमा माछा पालन गरिएको पोखरीमा क्षति भएको थियो।

क्षति न्यूनीकरणका लागि प्रदेश सरकार तयार

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले विपद्बाट सबै भन्दा बढी प्रभावित प्रदेश २ हुने गरेको र विपद्बाट हुने क्षतीको न्यूनीकरणका लागि प्रदेश सरकार तयार रहेको बताए। उनले विपद् व्यवस्थापन सम्बन्धि सरकारले नीति तथा ऐन ल्याउनुका साथै नियमावली समेत बनाई सकेको जानकारी दिए।

‘विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले १० वर्षे रणनीति बनाई रहेको छ र यसमा केही समय लाग्नेछ। तर, प्रत्येक वर्ष बाढी तथा डुबानबाट हुने क्षतिमध्ये मानवीय क्षति कसरी कम गर्ने यसका लागि वर्षको शुरुमै योजना बनाउने गरेको छ’, मन्त्री यादवले भने, ‘हामी प्रत्येक वर्ष पहिले नै आफ्नो रणनीति बनाउँदै आएको र सुरक्षा निकायलाई समेत विपद् व्यवस्थापनका लागि विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका छौँ।’

उनका अनुसार आठ वटै जिल्लाका सुरक्षा निकायलाई विपद व्यवस्थापनका लागि मोटर बोट, नाइनल बोट, रबर बोट, थ्रोइङ ब्याग, ड्रोन क्यामेरा लगायतको सामाग्री हस्तान्तरण गरिएको छ।

यता, प्रदेश २ प्रहरीका प्रमुख धीरजप्रताप सिंहले बाढी तथा डुबानबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि डुबान क्षेत्रलाई पहिचान गरी तयारी थाएको बताए। उनले विपद् व्यवस्थापनका लागि प्रदेश २ का मुख्य नदीहरु कोशी, वाग्मती र कमलाका तटीय क्षेत्रमा विशेष तयारी गरिएको जानकारी दिए। प्रदेश प्रहरी प्रमुख सिंहले प्रदेश सरकारले गत वर्ष विपद् व्यवस्थापनका लागि आवश्यक १ करोड बराबरको सामाग्री दिएको र थप २ वटा मोटर बोट खरिद गर्ने तयारी भइरहेको बताए।

त्यस्तै, प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख प्रकाश गौतमले बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि आठ वटै जिल्लामा पूर्व अभ्यास भइसकेको जानकारी दिए। उनले ८ वटै जिल्लामा अलग अलग टिम तयार पारिएपनि एउटा विशेष टोली समेत तयारी पारिने बताए।

गौतमले भने, ‘आठ वटै जिल्लाका लागि बाढीबाट हुने जोखिम कम गर्नका लागि प्रत्येक जिल्लामा टोली बनाई सकेका छौँ तर एक विशेष टोलीका लागि विशिष्ट प्रशिक्षण समेत गर्ने हाम्रो योजना छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell