हेटौँडा : पत्रकार महासंघ मकवानपुर शाखाले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत ज्ञापन पत्र बुझाएको छ।
वाग्मती प्रदेश सरकारले आफैँले सञ्चार माध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाउँदै पत्रकार महासंघ मकवानपुर शाखाले ज्ञापन पत्र बुझाएको हो। महासंघका अध्यक्ष मणिराज गौतमले आइतवार प्रजिअमार्फत मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन्।
प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आमसञ्चार माध्यम स्थापना र सञ्चालन गर्न दश करोड विनियोजन गरिएको छ। आफैँ सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको भन्दै महासंघले आपत्ति जनाएको हो।
प्रदेशभित्रका सञ्चार माध्यमको प्रवर्द्धन र सञ्चारकर्मीहरुको पेशागत सुरक्षा, क्षमता विकासको लागि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सम्बोधन गराउन पटक पटक प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको महासंघले जनाएको छ। तर, त्यसविपरित स्वतन्त्र प्रेस, लोकतन्त्रको मुल्य मान्यता विपरित प्रदेश सरकार आफैँले आम सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याएकोप्रति महासंघ मकवानपुर शाखाले आपत्ति जनाएको हो।
ज्ञापन पत्रमा भनिएको छ, ‘संघीय सरकार मातहत रहेका सञ्चारमाध्यम समेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा वाग्मती प्रदेश सरकार आफैँले आम सञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र प्रेसलाई निरंकुशताको कडी लगाउन खोजको प्रष्ट भएकोे छ। यो सन्दर्भमा सञ्चारमाध्यमको प्रवर्द्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दै सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गर्दछौँ। उक्त निर्णय फिर्ता नभए हामी आन्दोलनमा उत्रन बाध्य हुनेछौं।’