PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

विपक्षी गठबन्धनका नेताहरुको बुढानिलकण्ठमा भेट, ओलीले चाल्न सक्ने कदमबारे छलफल



विपक्षी गठबन्धनका नेताहरुको बुढानिलकण्ठमा भेट, ओलीले चाल्न सक्ने कदमबारे छलफल

काठमाडौं : विपक्षी गठबन्धनका नेताहरुले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराईबीच भेट भएको नेपाल निकट स्रोतले जनाएको छ। गठबन्धनका नेताहरुले देउवा निवास बुढानिलकण्ठमा भेट गरेका हुन्।

प्रदेशमा गठबन्धनले पाएको सफलता तथा अबको रणनीतिका बारेमा छलफल भएको थियो। प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई गठबन्धनबाट अलग गराउन गरिरहेको पहलका बारेमा पनि छलफल भएको थियो।

‘पछिल्लो राजनीतिक घटनाक्रम, प्रदेशको विकशित अवस्था र एमालेभित्रको राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो,’ नेपाल निकट स्रोतले भन्यो।

यसअघि जेठ ३१ गते देउवा र प्रचण्डले नेपाललाई उनकै निवासमा भेटेका थिए।

गठबन्धनका नेताहरुले पछिल्लो समय संवादलाई तिब्रता दिएका छन्। ओलीले नेपालसहितका नेतालाई सहभागी गराउने गरी स्थायी कमिटीको बैठक बोलाउने तयारी थालेपछि गठबन्धनका नेताहरुको भेट बाक्लिएको हो।

ओली पक्षका नेताहरुले भने पार्टी एकताका लागि नेपाल समूहले गठबन्धनबाट टाढा बस्नुपर्ने बताउँदै आएका छन्।

कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने समझदारी गरेको गठबन्धनले गण्डकीमा एमालेका मुख्यमन्त्रीलाई हटाएको थियो। कर्णाली र सुदूरपश्चिममा पनि गठबन्धनको सरकार कायम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell