PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

'कथाघेरा' भित्र म



 'कथाघेरा' भित्र म

  • सेबिता अधिकारी

अनामनगरमा रहेको एक चिया पसलमा साथीसँग गफ गरेर बसिरहेकी थिएँ। त्यसैबेला थिएटरका ६/७ जना दिदीहरु आउनुभयो। तीनचार दिन भएको थियो, उहाँहरु त्यही समयमा टेम्पोबाट उत्रिनु हुन्थ्यो र मामाको दोकानतिर जानुहुन्थ्यो।

एकदिन त्यहाँ आउने मध्ये एक जनालाई सोधेँ : सधैँ एकै समयमा सबै जना दिदीहरु आइपुग्नु हुन्छ। कहाँ गएर आउनुभएको हो ? नाटक हो ?

उत्तर आयो : हो, नाटकको रिहर्सल भैरा’छ नी।

नाटक भन्ने बित्तिकै थप प्रश्न सोधें  : ए कुन नाटक ?

दिदीले 'भजाइना मोनोलग'को कथाको रिहर्सल भइरहेको बताउनु भयो।  भजाइना मोनोलग अर्थात् योनीका कथाहरु। . 

मैले फेरि सोधें : कसको नाटक हो ?

तिनले उत्तर दिइन : आकाक्षां दिदीको।

को आकांक्षा भनेर पनि सोधें। कार्की भनेर भनेपछि थाहा पाएँ, 'फिडब्याक' दिने दिदीको नाटक रहेछ।

मनमनै सोचेँ, उहाँ त्यही आकांक्षा कार्की हुनुन्थ्यो जसले हाम्रो नाटक चिसो भञ्ज्याङ हेरेर राम्रो, लामो प्रतिक्रिया दिनु भएको थियो। उहाँको कुराले उर्जा मिलेको थियो। हाम्रो नाटकमञ्चन भैरहेको बेला उहाँहरु भजाइना मोनोलग ३.० को रिहर्सलमा हुनुहुँदो रहेछ।

अनि आकांक्षा दिदीलाई म्यासेज पठाएँ : 'म भोल्अनटियर गर्छु नाटकमा। मलाई तपाईंसँग काम गर्नुछ दिदी।'

+++ 

कथा घेरामा म पहिलो पटक पुगेकी थिएँ। हल तयार भैरहेको थियो। हल देखेर दंग परें। मनमनै लाग्यो, एउटा भत्कियो, अर्को नयाँ सुरुवात भयो। दिदीसँग बसेर कुरा गरें। उहाँले 'स्टेज म्यानेज' गर्ने जिम्मेवारी दिनु भएकोले म दंग पर्दै घर फर्किएँ।

त्यसपछि दैनिक 'भजाइना मोनोलग'को रिहर्सलमा जान थालें, स्टेज म्यानेजरको जिम्मेवारीले पनि खुशीखुशी त्यहाँसम्म पुर्‍याउथ्यो मलाई।

नाटकमा १४ जना कलाकार हुनुहुन्थ्यो, सबै महिला। उहाँहरुले आफ्नो प्रस्तुती दिइरहँदा मेरो मनमा विषय सम्बन्धित अनेकौं प्रश्न खेल्न थालेका थिए। त्यहाँ बोलिरहेको संवाद र घटना मेरा अनुभूतिसँग मेल खाए जस्तो लाग्थ्यो। कतै देखेको वा सुनेकोभन्दा बढी भोगाइसँग मिल्दो। तर, सुनाउने आँट आएन।

नाटक नेपाल पर्यटन बोर्ड र इभोक क्याफे, सानेपामा मञ्चन हुने तय भयो। यसबीचमा नाटकमा अभिनय गरिरहनु भएका दिदीहरुसँगको क्षण निकै रमाइलो लाग्यो। यति धेरै महिला रंगकर्मी एकै ठाउँमा एउटा घेरा थिए।  आ–आफ्ना कथा भनि रहेका थिए। मेरो मनमा भने एउटा प्रश्न उब्जेको थियो - यो अवसर मैले किन पाइँन? कथा भन्नेहरूको त्यो घेरामा म किन अटाइँन?

हो, त्यो एउटा यस्तो घेरा थियो जहाँ सबैजना समान थिए। एक अर्कालाई गर्ने व्यवहार कति समान र सम्मानपूर्ण। टिममा सबै बराबर। एकअर्कालाई बुझ्न दिइने ठाउँ कति सुन्दर। सबैलाई उस्तै र उत्रै हिस्सा दिने कति राम्रो शैली। त्यसरी काम गर्दाको रोमाञ्चता नै बेग्लै। मनमनै भन्थें - काम त यसरी पो गर्ने हो त! 

त्यो समूहसँग फेरिफेरि काम गर्ने रहर जागृत भयो।  कारण - काम गर्ने हरेकले पाउने सम्मान। भूमिका जेसुकै होस् त्यहाँ बराबरीको आभाष हुन्थ्यो। मौका पाउँथ्यौं सबैले। 'जज' हुने डरबिनाको एउटा 'सेफ जोन' थियो त्यो।

अर्को कारण चाहिँ 'भजाइना मनोलग'मा काम गरिरहँदा मेरो दिमागमा के–के कुराले हानिराखेको थियो। मलाई भारी बिसाउन ठाउँ चाहिएको थियो। मैले कथा घेरामा त्यस्तो वातावरण पाएकी थिएँ। सिकाइको अर्को अभ्यास सुरु भयो त्यही कथा घेराबाट।

+++

ठिक तीन बर्ष अगाडी कथा घेरा कौसी थिएटरको औपचारिक उद्घाटन भएको थियो। रंगिबिरंगी ध्वजा, रंगकर्मी र संगीतले सजिएको कौसी थिएटर। वाउ! 

एउटा ध्वनीसँगै भर्‍याङ माथि जाँदै गर्दा हात खुट्टा काप्दै  थिए। आँखामा खुशीको आँशु, जिउमा अर्कै खालको तरंग, हलमा बजिरहेको मधुर संगीत।

दशैँको बेला एक खालको बास्ना हुन्छ। घरघरमा, कहीँ पाकेको केराको त कहीँ मासु, दही र टिकाको। हो, त्यस्तै महसुस भइरहेको थियो मलाई कथा घेरा उद्घाटनको दिन। नयाँ हल, धुप, नयाँ पर्दा, चकटी, बास्नै अनौठो तर रमाइलो। मनमनै फेरि भनिरहें ‘वाउ’ !

म कथा घेरामा काम गर्न एकदमै, उत्साहित थिएँ। भजाइना मोनोलगले मलाई भित्रैबाट नाटक म्यानेज गर्न मात्र होइन नाटक खेल्न प्रेरित गरिरहेको थियो। नाटकमा बोलिएका संवाद र घटना सोचिरहन्थें। फेरि पनि यो नाटक भयो भने 'म पनि गर्छु नि' भन्न मन लागिरहेको थियो।

कौसी थिएटर नाटक 'दयालु रुख' मञ्चन हुँदै थियो। थिएटरको पहिलो नाटक। छुटाउने कुरै भएन। हेर्न गएँ। घर फर्किएपछि नाटकको बारे केही लेखेर फेसबुकमा पोस्ट गर्नुपर्‍यो भनेर सोचें। लेख्न प्रयास गरें। तर फेरि आफ्नै शब्दहरु कम पर्लान् भनेर आधामै छोडेँ ।

त्यसपछि अधिकांश समय कथाघेरा जान्थें। कौसीमा बसेर देखिने जति काठमाडौँ हेर्थें, खुसी भएर फर्किन्थें।

थिएटरमा नाटक 'पाँच' मञ्चन भएको थियो। सो नाटकले हेरेर म खुसी भएँ। झन् उकुसमुकुस भएर आयो। नाटकको भाषा 'शरीर' थियो। कलाकारले आफ्नो शरीर मात्र प्रयोग गरेर सबै कुरा बोलेका थिए। म आफ्नो प्रतिबिम्ब ती शरीरहरुमा पाइरहेकी थिएँ।

झन् झन् कथा घेरामा जाउँ लाग्न थाल्यो। सँगै काम गर्न पाए हुन्थ्यो जस्तो लाग्ने क्रम पनि बढ्दै गयो।

एकदिन कथाघेरामा नाटकको लागि 'अडिसन' छ भन्ने पोस्ट देखें। नाटक 'प्राइभेट इज पोलिटिकल'को अडिसन कल रहेछ।

यतिका दिन यही अवसरको लागि त कुरिरहेको थिएँ म। अडिसनका लागि म बेलुकी ५ बजे तिर  टेकुस्थित थिएटरमा गएँ। त्यहाँ पुग्दा मलाई आफ्नै घर पुगेको जस्तो आभाष भयो।

अडिसनको  ३-४ दिनपछि 'डा साब'को फोन आयो।  'टाइम के छ? भ्याउँछौ नाटक गर्न ? तिमीलाई नाटक गर्न मन छ भने आइतबारबाट रिहर्सल सुरु गर्ने। अरु कुनै काममा बिजीछैनौ भने यु आर वेलकम।'

यत्ति सुनेपछि मलाई के चाहियो र !

नाटक 'प्राइभेट इज पोलिटिकल'को रिहर्सल सुरु भयो। कुराकानी, भोगाई, हुर्काइ र पितृसत्ताको कुरा गर्थ्‍यौं। कहिलेकाँही गाह्रो हुन्थ्यो... हामी बिच यस्ता डर लाग्दा भोगाई थिए, गाँठो परेर बसेका तिता भोगाई थिए। ती सुनेपछि बाँकी रिहर्सल गर्न  नसकेर कुनै कुनै दिन हामी कुरा गर्नै नसक्ने भएर घर फर्किन्थ्यौँ।

पितृसत्ताले सदियौँ देखि महिलालाई वस्तुको रुपमा राखेको छ। हामीलाई बाल्यअवस्थाबाटै पितृसत्ताको पहरेदार बनाएर हुर्काइन्छ। 'नो' भन्न र 'नो' भनेको 'नो' नै हो भनेर बुझ्न दिँइदैन। गलतलाई गलत हो भन्नबाट रोकिन्छ। आफुसँग भएको गलत कुरामा,कसैले मलाई गलत गरेको छ भने पनि आफ्नै दोष हो भनेर बुझ्न सिकाइन्छ। अनि हुर्किंदै गर्न उमेर बढ्दै गएपछि, बुझ्दै जाँदा भने हाम्रो सिकाई र हुर्काइ नै गलत रहेछ भन्ने थाहा पाउँछौं। आफूलाई गलत दिशातर्फ उन्मुख गरेको थाहा पाएपछि सामाजिक संरचना र पितृसत्तासंग रिस उठ्छ।

नाटक 'प्राइभेट इज पोलिटिकल' हाम्रो लागि पितृसत्ता विरुद्धको आन्दोलन हो।

हामीलाई थाहा छ, परिवर्तन सम्भव छ। तर, त्यो रातारात हुँदैन। बिचमा धेरै चुनौती छन्, धेरै धम्की पनि आए। तर, ती सबै व्यवधानलाई हटाउँदै हाम्रो 'प्राइभेट इज पोलिटिकल' टिम लड्दैछ।

कथाघेराले पहिलो लकडाउनको समयमा हरेक बुधबार चौतारी नाटक (प्लेब्याक थिएटर) जुमबाट देखाउने गरेको थियो। प्ले ब्याक दर्शकले आफ्नो भोगाइ,अनुभव र भावना साट्ने भारी बिसाउने ठाउँ हो। दर्शकका अनुभवलाई विभिन्न 'फर्म' मा अभिनय गरेर प्रस्तुत गरिन्थ्यो। 'प्ले ब्याक'मा सुनाएका भोगाइ,अनुभवलाई बाहिर गएर कहिँ कतै सुनाउन पाइदैँन। गोपनियताको कदर गरिन्छ र गर्दै आएका छौँ।

कोरोनाका कारणले नयाँ नाटकहरु मञ्चन हुन सकेका छैनन्। यो कोरोनाको घेरा एकदिन पक्कै हट्नेछ र कथाघेराको रंगमञ्चमा फेरि हामी उभिनेछौं। कौसीको कौसीमा बसेर चिया खाने रमाइलो ठाउँ छ। नाटक हेरिसकेपछि त्यहाँ चिया पिउँदै भलाकुसारी गरौंला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell