PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘धूप की दीवार’मा हिन्दु केटा र मुस्लिम केटीको प्रेमकथा, पाकिस्तानमा किन भइरहेको छ विरोध ?



‘धूप की दीवार’मा हिन्दु केटा र मुस्लिम केटीको प्रेमकथा, पाकिस्तानमा किन भइरहेको छ विरोध ?
Photo: indianexpress.com

जुन १५ मा वेब सिरिज ‘धूप की दीवार’को ट्रेलर रिलिज भयो। ट्रेलर रिलिज भएसँगै पाकिस्तानमा उक्त सिरिजको कथालाई लिएर विरोध गरिरहेका छन्

‘धूप की दीवार’ वेब सिरिजको कथा लेखिका उमैरा अहमदले लेखेकी हुन्। उनलाई पाकिस्तानका जनताले देशद्रोही र राष्ट्रविरोधी भएको आरोप लगाएका छन्।

यो वेब सिरिज पाकिस्तानमा नभएर भारतको प्लेटफर्म जी फाइब मा २५ जुनमा रिलिज हुनेछ।

यो वेब सिरिजलाई लिएर केही सोसल मिडिया प्रयोगकर्ताहरुले लेखिकामाथि प्रश्न उठाएका छन्। ‘के लेखिकालाई भारत र पाकिस्तानबीचको तनावबारे थाहा छैन?’, ‘के नायक पाकिस्तानी हुन सक्दैनथ्यो?’ जस्ता सवाल सोसल मिडियामा उठेका छन्।

सोसल मिडियामा पाकिस्तानका जनताहरुले सिरिजको कथालाई लिएर विरोध गरेपछि लेखिकाले स्पष्टीकरण जारी गर्नुपर्‍यो। जसमा उनले सिरिजका बारेमा सोधिएका सबै प्रश्नको जवाफ दिएकी छिन्।

वेब सिरिजको कथामा के छ?

यस सिरिजको ट्रेलरमा कथामा दुई देशबीचको सम्बन्धलाई देखाइएको छ। पाकिस्तानी मुस्लिम युवतीसँग भारतीय हिन्दू युवकको घृणा र लडाई एक मायालु सम्बन्धमा कसरी परिणत भएको छ भनि कथामा देखाइएको छ।

जहाँ दुई मुख्य पात्र हुन्छन्। विशाल र सारा। विशाल भारतीय मुलका हुन्छन् भने सारा पाकिस्तानी।

उनीहरु दुवैका बुवाहरु सैनिक हुन्छन्। जसले भारत र पाकिस्तानको सिमानामा भएको लडाइँमा ज्यान गुमाएका हुन्छन्। शुरुमा दुवैले आ-आफ्ना बुवाका बहादुरीका कथा सुनाउँछन्। एक अर्काका विरुद्धमा बोलेर मिडिया र सोसल मिडियामा छाउँछन्।

विस्तारै उनीहरुको झगडा मित्रतामा परिणत हुन्छ। दुई देशका जनताको लडाइँ र झगडाले देशबीचको द्वन्द्व समाधान नहुने कुरा महसुस गर्छन्। उनीहरुको मित्रता प्रेममा बद्लिन्छ। जसकारण उनीहरुले परिवारबाट कडा विरोधको सामना गर्नुपर्छ।

देशद्रोहीको आरोपप्रति लेखिकाले यस्तो दिइन् स्पष्टीकरण

उमैरा अहमद पाकिस्तानी लोकप्रिय उपन्यासकार र लेखिका हुन्। उनले सन् २०१९ देखि नै वेब सिरिज ‘धूप की दीवार’मा काम गर्न शुरु गरेकी थिइन्। फिल्मको कथा लेखेर उनले पाकिस्तानी सेनाको जनसम्पर्क विभागमा पठाएकी थिइन्। जुन कथालाई आइएसीआरले पास गरेको लेखिका उमैरा अहमदले स्पष्टीकरणमार्फत जानकारी दिएकी छिन्।

यस कथालाई लिएर उनले ग्रुप एम नामको प्रोडक्सन कम्पनीसँग सन् २०१८ मा साइन गरेकी बताइन्। जुन पाकिस्तानी कम्पनी थियो। जुन कम्पनीले यो प्रोजेक्ट अन्तर्राष्ट्रिय प्लेटफर्ममा बेचेको थियो। जसमा जी फाइब र नेटफ्लिक्स समावेश छन्।

उनले लेखेकी छिन्, ‘फिल्म कहाँ रिलिज हुन्छ भन्ने कुरा लेखकको हातमा हुन्न। कहाँ रिलिज गर्ने भन्ने कुरा निर्माण कम्पनीको हातमा हुन्छ। यो कथा मैले एक स्थानीय निर्माण कम्पनीका लागि लेखेकी थिए। कुनै भारतीय कम्पनीको लागि लेखेको होइन। यो प्रोजेक्ट लेख्दा पाकिस्तान र भारतको सम्बन्ध त्यति नराम्रो पनि थिएन।’

साथै, उनले यो वेब सिरिज छिट्टै पाकिस्तानका च्यानलमा पनि आउने दावी गरेकी छिन्।

सोसल मिडियामा केहीले प्रश्न उठाएपनि केहीले भने समर्थन गरेका छन्। सिरिज नहेरी यसको भविष्यवाणी गर्नु उचित नहुने उनीहरुको तर्क पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell