PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्वास्थ्यमन्त्रीसँगै काठमाडौंका मेयर बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग



स्वास्थ्यमन्त्रीसँगै काठमाडौंका मेयर बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग

मेलम्ची : सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ। आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो।

महानगरपालिकाको तर्फबाट काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०/५० लाख आर्थिक सहयोग गर्ने घोषणा यसअघि नै प्रमुख शाक्यले गरेका थिए। सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ।

शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्बोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताए।

‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरपालिकाको सम्बन्ध जोडिएको छ’, शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौंबासी प्यास मेटाउन आतुर छन्। त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ। यो सहयोग रकम ठूलो होइन। तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।

उनले भौतिक क्षति पुनर्निर्माण गर्न सकिने भए पनि मानवीय क्षतिको परिपूर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षति हुन नदिने गरी उद्धार कार्यमा जुट्नु पर्ने पनि बताए। उनले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको बताए।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौं महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गरे।

‘मेलम्चीबासीलाई पीडा पर्दा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउन आउनु भएको छ। मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप उर्जा प्राप्त भएको छ।’

उनले बाढीग्रस्त क्षेत्रको समस्या समाधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले सहयोगका लागि काठमाडौं महानगरपालिकालाई धन्यवाद दिए। कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पनि काठमाडौं महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell