PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

हेलिकप्टरबाट उद्धार भएपछि मात्र अनुभूति भयो पेटभित्र चल्मलाएको जीवन...



स्वेच्छा राउत

हेलिकप्टरबाट उद्धार भएपछि मात्र अनुभूति भयो पेटभित्र चल्मलाएको जीवन...

हेलिकप्टरले भुईँ छाड्यो। केही माथि पुगेपछि बल्ल उनले आँखा खोलिन्। आँट गरेर सिसाबाहिर हेरिन् र मुन्टो निहुराइन्। निकै कहाली लाग्दो थियो, दृश्य। कहाँ खेत? कहाँ बस्ती अनि कहाँबाट बग्छ खोलो? खुट्याउनै मुश्किल। लेदोले पुरिएको थियो सबै।

हरिया थुम्काहरूको बिच बिचमा माटो, ढुङ्गा र रुखहरू ठाउँ छोडेर खसिरहेका देखिन्थे। आधा पुरिएका घर। मान्छे सुतेजसरी सर्लक्क पल्टिएको संरचना। बगर बनेको बस्ती। निकै तल पुग्दासम्मको त्यो भयलाग्दो दृश्य, बनाउँदा बनाउँदै रङ लत्पतिएर छाडेको चित्रजस्तो देखिन्थ्यो।

मेलम्ची बजार कटेपछि छेउमै बसेकी कान्छीमाया तामाङले लामो सास फेर्दै भनेकी थिइन् – बाँचिएछ। त्यसपछि औंलाले आफ्नै पेट सुम्सुम्याउँदै भनिन् - अब बचाउन पाए पुग्थ्यो।

अर्चना ढुङ्गेलको पनि उस्तै अनुभूति। 'साँच्चै बाँचिएछ,' उनले अत्यासलाग्दो परिवेशबाट टाढिँदाको अनुभव सुनाइन्, 'बल्ल पेटको बच्चा चल्मलाएझै लाग्यो।'

नत्र, न भोक न तिर्खा। पाँच दिन भइसकेको थियो कोखमा हुर्किरहेको बच्चाको चिन्ताले उनीहरूलाई पिरोलेको। हेलिकप्टरमा थिए कान्छीमाया, अर्चना र सरिता तामाङ।

तीनै जना गर्भवतीको अवस्था उस्तै। सरितालाई चाहिँ सञ्चो थिएन। यात्राभर चुपचाप रहिन्, आँखा बन्द गरेर। घरिघरी हेलिकप्टर अस्वभाविक हल्लिँदा झस्किएर बिउँझन्थिन्। अगाडिबाट पाइलट बोल्थे – तपाईंहरू नआत्तिनुस् है। म सबैलाई सुरक्षित पुर्‍याउँछु।

जस्ट नेपाल फाउन्डेसनले सिन्धुपाल्चोकको तिम्बुबाट उद्दार गरेको हो उनीहरूलाई। गर्भवती हुने दिन नजिकिँदो छ। तर, बाढीले न पुल बाँकी राख्यो न त बाटो नै। व्यथा लागे कहाँ जानु? कसरी पुग्नु स्वास्थ्य संस्था?

+++

गएको साताको सोमवार। मेलम्ची खोला बढ्यो रे! भन्ने खबर तिम्बुभरी फैलियो। हरेक वर्खामा एकपटक उस्तैगरी उर्लिएर आउँछ त्यो खोला। यसपटक खोलासँगै त्रास पनि उर्लेर आएको थियो- धमिलो पानी बनेर, किनाराहरूलाई हिर्काउँदै। खोलाको आवेग हेर्न आफू बस्ने टहराभन्दा केही माथि पुगेकी थिइन् अर्चना। आधा घण्टा जति बग्दै गरेको खोलाको बेग हेरेर टहरामा फर्किइन्। बेलुकीको खाना पकाइन्।

गोल्मा देवी माध्यमिक विद्यालयमा पढाउँछिन् उनी। श्रीमान् त्यहीँका प्रधानाध्यापक। तीनजना छोरी छन् उनीहरु पनि त्यहीँ पढ्छन्। विद्यालय छेवैमा जस्ताको टहरा बनाएर बसेका छन् उनीहरू। एउटा कोठा, अर्को भान्सा। राति ८ बजेतिर स-परिवार बसेर खाना खाँदै थिए। अचानक भूईं थर्किएजस्तो भयो। खोला डरलाग्दो आवाज निकालेर बग्न थालेको थियो। सुरूमा त ठानेका थिए, भूकम्प आयो। आत्तिए। खाना खाने कि छाडेर भाग्ने? अन्यौलता छाएको थियो।

'सर बाढीले बित्यास पार्‍यो। हामी ज्यान जोगाउन हिँड्दै छौं,' सशस्त्र प्रहरीका किरण नेपालले फोन गरे। त्‍यसपछि थाहा पाए खोला बढेको रहेछ। केहीबेरमा त बिजुली, मोबाइल नेटवर्क सबै गयो। अनि सबै अन्धाधुन्ध। भाग्न सबैतिर अध्याँरो। खोला कहाँसम्म आइपुगेको छ, ठम्याउन सकेनन्। त्यसैल टहरा छाडेर विद्यालय भवनको एक तलामाथि उक्लिए। अनि पर्खिए उज्यालो। किनकि भाग्नको लागि बाटो चाहिन्छ। बाटो ठम्याउन उज्यालो।

मध्यरातमा पाखाभरी देखियो स-साना बत्तीको प्रकाश। बिस्तारै टर्च बालेर हिँडेको लस्कर विद्यालयतर्फ नै सोझियो। सशस्त्र प्रहरी र नेपाली सेनाको झुण्ड रहेछ त्यो। ज्यान बचाउन बास खोज्दै आइपुगेका। क्वारेन्टाइन सञ्चालन भएकाले कोठा र शय्या खाली थिए। सबै त्यहीँ बसे।

'उहाँहरू त भोगेर आउनु भएको थियो। सबैको अनुहारमा डर प्रष्टै देखिन्थ्यो। बोली पनि कामेको थियो,' अर्चनाले सुनाइन्, 'उहाँहरूबाटै थाहा पायौं बाढीले केही बाँकी राखेको छैन भन्ने। मान्छे पनि लगेको सुनेपछि त कहाँ निद्रा पर्नु?'

त्यस रात त्यस्तै भयो।

+++

बिहान झिसमिसेमै अर्चना ओरालो लागिन्, तल्लो तिम्बुतिर। केही तल पुग्दा नपुग्दै खिस्रिक्क हुनु पर्‍यो। सधैं वरैबाट देखिने पुल त्यहाँ थिएन। खोला केही धिमा गतिमा बगेको थियो तर साह्रै धमिलो। वरपरका बाटोको नामोनिशान देखिनन्। उनका आँखाबाट आँशु तरक्क झरे।

आफैसँग प्रश्न गरिन् – अब बर्थिङ सेन्टर कसरी जाने?

असारको अन्तिम साता डेलिभरीको मिति तोकिदिएका छन् स्वास्थ्यकर्मीले। तर, व्यथा न हो, जतिबेला पनि लाग्न सक्छ भनेर सचेत पनि गराएका थिए। तिम्‍बु पारी महाँकालमा स्वास्‍थ्य चौकी भएकाले ढुक्कै बसेकी थिइन् उनी। पुल तरेपछि एम्बुलेन्सले १०-१५ मिनेटमै पुर्‍याइ हाल्थ्यो। तर अब, अघिल्लो दिन जुन खोला हेरेर रमाएकी थिइन्, त्यसैले बगाइसकेको थियो त्यो पुल। अब गर्ने के?

निरन्तरको झरी पर्याप्त थियो निराशाको भेल चलाउन। झरी बढ्यो, खोलाको बेग पनि। अनि केहीबेरमै सुरु हुन्थ्यो भागाभाग। अर्चना भने एउटा हातले ६ वर्षकी छोरी च्यापेर र अर्को हातले पेटलाई छेकेर कामना गरिरहिन् – अब पानी नबढोस्।

'आफूलाई जे सुकै होस् तर बच्चालाई केही नहोस् भन्ने हुन्छ। हुर्किएका छोरीहरूको पनि उस्तै पीर। जन्मदै नजन्मिएको सन्तानलाई पनि असर पर्ला भन्ने डर,' उनले सुनाइन्, 'अलि लामो पाइला चाल्नु पर्दा नि कोखको बच्चालाई कोतर्‍यो कि भन्ने शंका लाग्दो रै'छ।'

अप्रत्याशित थियो मेलम्ची खोलाको बाढी। उमेरले ७० कटेका पाकाहरूले पनि पहिलो पटक देखेको सुनाउँदै थिए खोलाले बस्ती नै बगाएको घटना। एकपछि अर्को गर्दै आउने खबरहरू कुनै पनि सुखद् थिएनन्।

माछा जोगाउन खोज्दा मान्छे बगायो रे!

सुरुङका मजदुर कोही भेटिएका छैनन् भन्छन्!

फलानोको घरबारी सबै सोत्तर भएछ!

सुर्खेतबाट एउटा दम्पत्ती आएर बसेको थियो तिम्बुमा, रोजगारीका लागि। उनीहरूकी छोरी जन्मिएको केही महिना मात्र भएको थियो। पसलतिर जाँदा घाममा राखेर तेल लगाइदिएको देख्थिन् अर्चनाले। श्रीमती चाहिँ दङ्ग पर्दै भन्थिन्, 'सन्तान हुर्किएपछि हाम्रो पनि सुखको दिन आउला नि है दिदी?'

त्यो परिवार बाढीसँगै बगेछ। कहाँ पुग्यो थाहा छैन। सन्तान र सुखसँग जोडिएको एउटा सपना बगेको थियो त्यहाँ। पानी परिरह्यो, बाढी आइरह्यो, पहिरो झरिरह्यो। को कतिखेर बगिरहेको लेदोमा बेपत्ता हुन्थ्यो पत्‍तो थिएन।

तीन छोरी र कोखमा हुर्किरहेको अर्को सन्तानलाई लिएर अर्चनाको पनि उस्तै छ सपना। त्यस सपनालाई जोगाउनु थियो।

'परिवारको पेट पाल्न घरबाट टाढा आएर बस्यौं। आपत् पर्दा वरपर आफन्त साथीभाइ नभए निरिह महसुस हुँदो रै'छ,' उनले बह पोखिन्।

सिन्धुली रातमाटाका स्थानीय हुन् उनीहरू। पेशाले सिन्धुपाल्चोकको त्यो कुनामा पुर्‍यायो। लकडाउन अघि श्रीमानले घर जान सुझाएका थिए। तर, अर्चनाले मानिनन्। कारण – असारबाट सुरु हुने भनिएको अनलाइक कक्षा। तर, कक्षा सुरु हुनुभन्दा एक रात अघि नै विनाश भयो।

'भवितव्य परेपछि पछुताएर के काम? दु:ख चाहिँ आफन्तसँग सम्पर्क विच्छेद हुँदा लाग्यो। न दुनियाँमा के भइरहेको छ थाहा पायौं। न हामी ठीक छौं है भन्ने खबर दिन सकियो।'

अनेक समस्या बिच अर्चनाको परिवारलाई एउटै पीर थियो, उनको गर्भावस्थाको। त्रास बिच अनिद्रा र खानाप्रति अरुची बढेको थियो। व्यथा लागि हाले कता जानु? न बाटो बाँकी थियो न पुग्ने ठाउँ। डेलिभरी डेट नजिकिँदै जाँदा तनाव उर्लिएको थियो। स्कूलमा सँगै पढाउने सुशीला गौतम र स्थानीय सरिता तामाङ र कान्छीमाया तामाङ पनि गर्भवती। उनीहरूको पनि चिन्ता उही – आफू कसरी जोगिने? कोखको बच्चालाई कसरी जोगाउने?

सुशीला भन्थिन् - हिँडेरै जाउँ कतै। जता पुगिन्छ पुगिन्छ। सेर्माथाङ डाँडा उक्लिऔं। जता बाटो देखिन्छ, त्यतै लागौं। कोख, काख र जीवनको सुरक्षाका लागि।

+++

'भाइ राहत बोकेर आउने हेलिकप्टर फर्कँदा खाली हुँदैन? हाम्रो उद्दार गरिदिनु पर्‍यो।'

असार ५ गते, स्वयं सेवक मनिष तामाङसँग मुखै फोरेर सोधिन् अर्चनाले। उनले पनि चासो देखाउँदै प्रश्न गरे, 'कतिजना हुनुन्छ दिदी? म बुझिहेर्छु नि।'

डेलिभरी डेट तोकिएका चार जनाको विवरण दिइन् अर्चनाले।

उनीहरूबारे खबर पुग्यो सरिता गुरुङ र समूहसम्म। गुरुङहरूले बाढी पीडित गर्भवती महिलाको उद्दार र आर्थिक सहयोगमा जोड दिइरहेका छन्। बाटो भत्किएकाले उद्दारका लागि हेलिकप्टर नै चार्टर गर्नुपर्ने अवस्था थियो। त्यसका लागि सामाजिक सञ्जालमार्फत् रकम संकलन भयो।

भोलिपल्टै उद्दारका लागि हेलिकप्टर आउने खबर पाइन् अर्चनाले। तर, निराशाले यसरी छोपेको थियो कि उनलाई साँच्चै त्यो खाल्डोबाट निस्कन्छु भन्ने लाग्न नै छाडिसकेको थियो। मौसम पनि उस्तै खराब। पर हेलिकप्टरको आवाज सुनिन्थ्यो। नजिक कतै आएर फन्को लगाइराख्थ्यो, ल्यान्ड गर्न नसकेर।

‘तयारी अवस्थामा रहनु है भनेर खबर आउँदा पनि मन मानेन। घरमै लिन आएपछि बल्ल कान्छी छोरीलाई च्यापेर निस्किएँ। मान्छे रहे न सामान भन्ने लाग्यो त्यसैले केही बोकिनँ,’ अर्चनाले सुनाइन्।

उनीसँगै हल्देकी कान्छीमाया र तिम्बुकै सरिता पनि अटाए। तर, सुशीलाको भने काखका दुई सन्तान छाड्न सकिनन्। सबैजनाको लागि ठाउँ पुगेन। त्यसैले साथीहरूलाई बिदाइ गरिन्। भनिन् : यता त फोन लाग्ने, नलाग्ने टुङ्गो छैन। ठाउँमा पुगेर मेरो लागि पनि पहल गरिदिनु है।

हेलिकप्टरले भुईं छाडेपछि हो उनीहरूले आफू कस्ता जोखिमको खोंचमा बसेका रहेछौं भन्ने थाहा पाएको। सुन्नु, देख्नु र भोग्नुमा कति फरक पर्दो रहेछ अनुभूत गरेको। धन्य माने अनिश्चिततामा रुमलिएको आफूहरूको समय प्रसव वेदना सुरु हुनुअघि उद्दार भयो। हाल उनीहरू काठमाडौंको फरक फरक ठाउँमा छन्, आफन्त र साथीभाइकोमा सहारा लिएर बसेका।

यता आएर फेसबुक खोल्दा जेठाजुको पोस्ट देखिन्। जसमा फोटोसहित लेखिएको थियो - ‘हाम्रा भाइबुहारी र छोरीहरू सम्पर्कमा आएका छन्। सबै सुरक्षित भएको खबरले खुशी छौं।' केही दिन सम्पर्क हुन नसक्दा सिन्धुलीस्थित घरका सबै आत्तिएका रहेछन्- मेलम्चीको बाढीले सुनकोशीको किनारसम्मै पुर्‍याएको शवहरू देखेर।

मेलम्चीले केके खोसेर लग्यो र कहाँकहाँ पुर्‍यायो अहिलेसम्म पत्तो छैन। घरिघरी तिम्बु खोला पनि उस्तै हुत्तिएर आउँछ रे! खबर सुन्दा उतै छुटेका छोरीहरू र श्रीमानको यादले पिरोल्छ अर्चनालाई।

‘कतिखेर के पर्छ पत्तो हुँदैन रै'छ। त्यसैले अझै ढुक्क लागेको छैन,’ भनिन्, 'ज्यान त काठमाडौं आयो, मन आधा उतै छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell