PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पुजारीको गाँजा चोर्दा युवकको हत्या, दुई जना पक्राउ



पुजारीको गाँजा चोर्दा युवकको हत्या, दुई जना पक्राउ

वीरगंज : बारा प्रहरीले एक युवकको हत्याको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। बाराको फेटा गाउँपालिका-२ बरैनियाका २५ वर्षीय भादो भन्ने वीरेन्द्र बैठाको हत्याको अभियोगमा सोही स्थानको हनुमान मन्दिरका पुजारी वर्ष ७२ का वीरबहादुर यादव र फेटा ३ फुलवरिया बस्ने वर्ष ३५ का पारस महतो धानुक पक्राउ परेका हुन्।

असार ३ गते बिहान २ बजे मन्दिर परिसरमा पुजारी र धानुक सुतिरहेको अवस्थामा पुजारीको पैसा र गाँजा चोर्न पुग्दा बैठालाई पुजारी र उनका सहयोगी धानुकले हत्या गरी शव मन्दिरभन्दा पर सडक छेउमै फालेका थिए। यादवले फलामको चिम्टाले टाउकोमा हानेर घाइते बनाएपछि धानुकले बाँसको भाठाले हानेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

असार ३ गते बिहान साढे ६ बजे शव बरामद भएपछि बारा प्रहरीले डीएसपी गौतम मिश्रको नेतृत्वमा छानबिन टोली गठन गरी अनुसन्धान शुरु गरेको थियो। सोही क्रममा हत्यामा दुई जना संलग्न देखिएकोले हिरासतमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

मृतक पहिलेदेखि जाँड रक्सी खाने र गाउँमा चोरीका घटनामा संलग्न हुने गरेको प्रहरीले बताएको छ। पटकपटक उनलाई गाउँमै सम्झाई बुझाई छाडिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell