PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मेलम्चीमा पत्रकारमाथि दुर्व्यवहार : दोषीलाई कारवाही गर्न माग



मेलम्चीमा पत्रकारमाथि दुर्व्यवहार : दोषीलाई कारवाही गर्न माग

काठमाडौं : समाचार संकलनका क्रममा सिन्धुपाल्चोकको मेलम्ची पुगेका पत्रकारमाथि दुर्व्यवहारको पत्रकार संघसंस्थाहरुले विरोध जनाएको छ। सोमवार बाढीसम्बन्धी समाचार संकलनका लागि पुगेका जन्मभूमि पोस्टका प्रधानसम्पादक प्रितम गोले तामाङमाथि मेलम्चीमा आक्रमण भएको थियो।

आक्रमणमा उनको क्यामेराको लेन्समा क्षति पुगेको र खुट्टामा चोट लागेको उल्लेख गर्दै उनले प्रहरीमा जाहेरी दिएका छन्। 'बाढीको समाचार संकलनका लागि जाने क्रममा म माथि आक्रमण भयो। दोषीलाई कुनै कारवाहीको प्रक्रिया अगाडी बढाइएको छैन,' पत्रकार तामाङले भने।

उनीमाथिको आक्रमण निन्दनीय भएको नेपाल प्रेस युनियन सिन्धुपाल्चोककी जिल्ला अध्यक्ष दुर्गा आचार्यले बताइन्। प्रेस युनियन सिन्धुपाल्चोकले घटनाको विरोध गर्दै प्रेस विज्ञप्तिसमेत जारी गरेको छ।

'सार्वजनिक स्थलमा भएका घटनाको सूचना संकलन गर्न पाउनु सञ्चारकर्मीलाई संविधानले दिएको अधिकार हो। डर, त्रास र सेल्फ–सेन्सरसीपको मनस्थितिमा सञ्चारकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। तसर्थ गोलेमाथिको घटनाको वास्तविकता सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न र सञ्चारसाधन तोडफोडको क्षतिपूर्ति दिलाउन प्रेस युनियन स्थानीय प्रशासन सँग जोडदार माग गर्दछ। साथै यस्ता घटना दोहोरिन नदिने परिस्थिति बनाई बाढीग्रस्त क्षेत्रमा खटिएका सञ्चारकर्मीको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरिन्छ,' पत्रकारको सुरक्षाको माग गर्दै युनियनकी अध्यक्ष आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पनि उक्त घटनाको विरोध गरेको छ। शाखाका सचिव महेश्वर दाहालले एक विज्ञप्ति जारी गर्दै तामाङमाथि मेलम्चीमा भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 'बाढी पहिरोको घटनाका विषयमा सूचना संकलनका लागि जाँदै गर्दा सोमवार अराजक समूहबाट भएको सो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारले बिना रोकतोक समाचार संकलन गर्न पाउँने संविधानप्रदत्त अधिकारमाथि ठाडो हस्तक्षेत्र भएको हाम्रो ठहर छ,' शाखाको विज्ञप्तिमा भनिएको छ, 'पत्रकार तामाङमाथि आक्रमण गर्ने कार्यमा संलग्न दोषी पत्ता लगाइ कडा कारवाही गर्न र आइन्दा यस्ता कार्य हुन नदिनेतर्फ सचेत रहन नेपाल पत्रकार महासंघ काडमाडौं शाखा प्रहरी प्रशासनसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell