PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

पोल्याण्डलाई हराएको स्वीडेन समूह ‘ई’को विजेता, स्पेन उपविजेता बन्दै अन्तिम १६ मा



पोल्याण्डलाई हराएको स्वीडेन समूह ‘ई’को विजेता, स्पेन उपविजेता बन्दै अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह ‘ई’को खेलमा स्वीडेनले पोल्याण्डलाई हराएको छ। त्यस्तै, आजै सम्पन्न अर्को खेलमा स्पेनले स्लोभाकियालाई पराजित गरेको छ।

सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्वीडेनले पोल्याण्डलाई ३-२ गोलअन्तरले हरायो। स्वीडेनले दोस्रो मिनेटमै एमिल फोर्सबर्गको गोलमार्फत अग्रता लिएको थियो। ५९ औँ मिनेटमा फर्सबर्गले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। पोल्याण्डका लागि रोबर्ट लोवान्डोस्कीले ६१ र ८४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर, अतिरिक्त समयमा भिक्टर क्लासोनले गोल गर्दा स्वीडेनले खेल ३-२ ले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै, आजै स्पेनको सेभिल्लास्थित ला कार्टुजा स्टेडियममा सम्पन्न खेलमा स्पेनले स्लोभाकियामाथि ५-० को जित निकाल्यो। खेलको ३० औं मिनेटमा स्लोभाकियाका मार्टिन डुब्राभ्काले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको थियो। त्यसपछि आएमेरिक लापोर्टेले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे। त्यस्तै, दोस्रो हाफको ५६ औँ मिनेटमा पाब्लो सराबिया र ६७ औँ मिनेटमा फेरान टोरेसले गोल गरे। ७१ औँ मिनेटमा स्लोभाकियाका जुराज कुकाले आत्मघाती गोल गर्दा खेल स्पेनले ५-० ले जित्यो।

समूह चरणको खेल सकिँदा स्वीडेन दुई खेलमा जित र एकमा बराबरी खेल्दै ७ अंकसहित समूह विजेता बनेको छ। त्यस्तै, एक खेलमा जित र दुई खेल बराबरी खेलेको स्पेन ५ अंकसहित उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। ३ अंकसहित तेस्रो स्थानमा रहेको स्लोभाकियाको अर्को चरणमा जाने झिनो मात्रै सम्भावना रहन्छ। यता, एक अंक मात्रै जोडेको पोल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell