PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारविरुद्ध आज सडकमा उत्रिँदै पाँच विद्यार्थी संगठन



सरकारविरुद्ध आज सडकमा उत्रिँदै पाँच विद्यार्थी संगठन

काठमाडौं : पाँच राजनीतिक दलका भ्रातृ संगठन सरकारविरुद्ध सडकमा उत्रिने भएको छ। आज दिउँसो ३ बजे प्रदर्शनी मार्गमा पाँच विद्यार्थी संगठन विरोधमा उत्रिन लागेको हो।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरस्ववियु माधव नेपाल पक्ष, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले विज्ञप्ति जारी गर्दै आज प्रदर्शन हुन लागेको जनाएको छ।

'नेपाली जनताको अत्यन्तै ठुलो त्याग, बलिदान र समर्पणको जगमा प्राप्त लोकतन्त्रिक गणतन्त्र , विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री केपि शर्मा ओली निरन्तर उद्धत रहेको सर्वविदितै छ। प्रधानमन्त्रीको ओलीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यवाट च्युत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण बनेको छ,' विज्ञप्तिमा भनिएको छ, 'संविधानको चिरहरण गरेर दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रन्त भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को गर्दै राष्ट्रघात, कुशासन, महङ्गी र भ्रष्टाचार थोपरिरहेको छ।'

यसै सन्दर्भमा आज विरोध कार्यक्रम तय भएको उल्लेख छ। 'ओली नेतृत्वको प्रतिगामी सरकारका तमाम् असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी हर्कतका विरुद्ध मिति २०७८/०३/१० गते दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्गमा मुलुकका प्रमुख पांच विद्यार्थी संगठनको तर्फबाट सामाजिक दुरी र स्वास्थ्य मापदण्ड भित्र रही संयुक्त विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको सम्वन्धित सवैमा जानकारी गराइन्छ। उपत्यकाबाहिर समेत पाँच विद्यार्थी संगठनका तर्फबाट देशभर संयुक्त विरोध प्रदर्शन गरिनेछ,' विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell