PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

युट्युब 'रोस्ट' भिडियोका अँध्यारो पाटो, अबोधलाई बनाइँदै मजाकको विषय



युट्युब 'रोस्ट' भिडियोका अँध्यारो पाटो, अबोधलाई बनाइँदै मजाकको विषय

  • सुरज घिमिरे-

गत एक वर्षमा सचिन परियारको नाम नसुन्ने या उनका भिडियो नदेख्ने कमै हुनुहुन्छ होला। सचिन उमेरले भर्खर ९ वर्षका भए तर उनी देशभर भाइरल छन्। दुर्गम गाउँको विपन्न परिवारका यी साना बालक अभावबिच हुर्किरहेका थिए। उनले परिवारको आर्थिक अवस्थाको कारण कक्षा दुईमा पढ्दापढ्दै स्कूल छाड्नु पर्‍यो।

पहिलो पटक सचिनलाई आम बालकबाट चर्चित बनायो एक युट्युब च्यानलले। उक्त च्यानलमार्फत् सचिनको कला धेरैले चिने, अभाव र दु:ख देखे। च्यानल सञ्चालकले उनको परिवारलाई आर्थिक सहयोगसमेत गरे। पहिलो भिडियोपछि उनलाई खोज्दै अरु थुप्रै युट्युब च्यानलहरू पुगे। रातारात सचिन भाइरल भए। युट्युबरहरूले सचिनको परिवारलाई सानो आकारको व्यापार सुरु गर्नका लागि सहयोगसमेत गरे। उनको कलाको चर्चा यति भयो कि काठमाडौंस्थित एक गैर-सरकारी संस्थाले उनको पढाई खर्च व्यहोर्ने भयो।

युट्युब च्यानलमात्र होइन राष्ट्रिय टेलिभिजन च्यानलमार्फत् पनि उनको प्रचार भयो। तर, चर्चाले मात्र सबै कुरा सरल र सहज कहाँ बन्थ्यो र?

केहीले सचिनलाई सस्तो मजाको विषय बनाए। कतिले पैसाका लागि, कतिले भ्यूजका लागि। धेरैले आफ्नो रमाइलोका लागि उनको अनुहार र बोलीको प्रयोग गरे। अवसरवादी त्यस्ता केहीले सचिनको दुखद् पारिवारिक अवस्थाको प्रयोग गरे। यथार्थ भिडियोका अंशहरू 'फेक' अन्तर्वार्ता बनाउने, तस्विर प्रयोग गरेर मिम बनाउने र दृश्य र संवादमार्फत् सचिनविरुद्ध नै दुर्व्यवहार गर्नेहरू छ्याप्छ्याप्ती देखिए।  

'जलान' नामक युट्युब च्यानलको ५ लाख ५४ हजारभन्दा बढी सब्सक्राइबर छन्। उक्त च्यानलका सञ्चालकले अन्य च्यानलबाट प्रसारित अन्तर्वार्ताका साना अंशहरु जोडेर प्राय ‘रोस्ट’ भिडियो बनाउँछन्। अक्सर यी भिडियोहरूमा व्यक्तिलाई गिज्याउने प्रवृत्ति हावी भएका छन्। धेरै सब्सक्राइबर भएका कारण यस च्यानलमार्फत् प्रवाह हुने कुनैपनि सामग्री ठूलो जमातमा पुग्छ।  

गत जनवरी ५ मा जलानमा नयाँ भिडियो अपलोड भयो। शीर्षक ‘सोझो फुच्चे भर्सेस हरामी फुच्चे।‘ उक्त शीर्षक आफैमा निकै अपमानजनक छ। बोलिचालीको भाषा त हो नि भनेर हामीले ती शब्दावलीको बेवास्ता गर्न सक्छौं। तर, हामीले सामान्यीकरण गरेका यस्तै शब्दहरूले दुर्व्यवहारलाई प्रोत्साहित गरेको पत्तै हुँदैन।   

भिडियोमा सचिनको निर्दोषपनको प्रयोग गरिएको छ, रमाइलैका लागि। बनाउनेका लागि भिडियो रोचक हुनुपर्‍यो, दर्शक बटुल्न। युट्युबमा दर्शक अर्थात् आम्दानी। सायदै सोचे, त्यसको प्रभावबारे।

अचम्म त उनका सब्सक्राइबरले भिडियो सम्पादनको तारिफ गरे। भिडियोलाई हाँस्यास्पद् देखे। अनि त्यही भिडियो भाइरल भयो। सामाजिक सञ्जालमा कुनै पनि स्थान नपाउनुपर्ने उक्त भिडियो नै धेरै पटक सेयर भयो अनि लाखौं पटक हेरियो। दुखद् त के भने उत्साही भएर यो सामाग्रीको तारिफ गर्नेहरूले एउटा बच्चाको सुरक्षाका बारेमा सोचेको देखिँदैन। त्यस भिडियो हालसम्म करिव बिस लाख पटक हेरिएको छ। लज्जास्पद् प्रश्न र कसैले कुनै  फरक प्रसङ्गमा दिएको व्यक्तिगत जवाफसहितको भिडियो जोडेर सिङ्गो अन्तर्वार्ता बनाइएको छ जुन न जानकारीमुलक छ न त त्यसले कुनै सिर्जनात्मक अर्थ राख्छ। स्वस्थ मनोरञ्जनको माध्यम त झन् फिटिक्कै पनि भन्न सकिँदैन।

राजनीतिज्ञसँगको तुलना, प्रेम सम्बन्धको प्रसङ्ग, पारिवारिक परिवेशमाथि टिप्पणी, द्वीअर्थी मजाक - व्यक्तिगत प्रहारजस्तो लाग्ने भिडियोको राम्रो पक्ष ठम्याउन सकिँदैन। बरु प्रश्न गर्ने प्रशस्त ठाउँ छ, च्यानल सञ्चालकलाई कसैप्रति अपमानजनक भाषा प्रयोगको अनुमति कसले दियो? त्यो पनि सार्वजनिक वृत्तमा।

एउटा अवोध बच्चाको पहिचानको बिस्कुन लगाएर, उसको शैली र नितान्त व्यक्तिगत विषयहरूमाथि भद्दा मजाक गरिएको यी र यस्ता अन्य सामाग्रीविरुद्ध रिपोर्ट कतिले गरे होलान्? जतिले यस्ता भिडियो गलत हो भन्ने मत राखेपनि युट्युबले हालसम्म उक्त भिडियो हटाएको छैन। यस्ता सामाग्री हटाउनेबारे सोच्ने विषयमै सन्देह छ। किनकि टन्न हिट्स बटुल्ने भिडियोले युट्युब र युट्युबरको व्यवसायिक ‘बुटी’ हो जसले आम्दानीको बाटो बिस्तार गर्छ।

सचिन एक प्रतिनिधि पात्र मात्र हुन्। कला, सिर्जना, भिन्न शैली, दु:ख, सौन्दर्य (क्युटनेस) आदिको नाममा अन्य थुप्रै बालबालिका उपयोग भएका छन्। तर धेरै यहि भ्युज र पैसाको लागि दुरुपयोग पनि भएका छन। कतिको त बाबुआमाले नै छोराछोरीलाई मनोरञ्जनको सार्वजनिक वस्तुसरह बनाएका छन्, गोपनीयता भङ्ग गरेर। आफूले चाहे अनुरुप बोल्न र अभिनय गर्न लगाएर। यस्ता सामाग्रीहरू धमाधम बनिरहेका छन्। नेपाली दर्शकले चुपचाप हेरेरै ट्रेन्डिङमा पुर्‍याइरहेका छन्। र, यस्ता कार्यहरू युट्युबकै नियम विपरित हुन् भन्नेबारे नियमन कमै हुन्छ।

कुनैपनि भिडियो निर्माताले युट्युबमा भिडियो अपलोड गर्नुअघि उक्त सामाग्रीले बालबालिकाको अनलाइन गोपनीयता संरक्षण गर्छ भन्ने कुरा प्रमाणित गर्नुपर्छ। त्यसका लागि ‘चिल्ड्रेन अनलाइन प्राइभेसी प्रोटेकसन’ नीति (सीओपीपीए)  छ। दुर्भाग्यवस,  युट्युबद्वारा सोधिएका प्रश्नहरूले (तलको स्क्रीनशट) अनलाइन दुरुपयोगबाट बच्चाहरूलाई बचाउने बारेमा खुलस्त भन्दैन।

हरेक भिडियो अपलोड गर्नुअघि, त्यस भिडियो बालबालिकाको लागि पनि बनेको हो या होइन? भन्ने प्रश्न सोधिन्छ। ‘हो’ भन्ने जवाफपछि फेरि अर्को प्रश्नको लहरो आउँछ - उक्त सामाग्री वयस्क दर्शकका लागि मात्र बन्देज गर्न चाहनु हुन्छ?

बन्देज नगर्ने जवाफपछि युट्युबमा अपलोड हुने कुनैपनि सामाग्रीले बालबालिकालाई अनलाइन दुर्व्यवहारबाट जोगाउने सम्भावनालाई खुम्च्याउँछ।

सचिनको फुटेजहरू प्रयोग गरेर जलानले बनाएको भिडियो बालबालिका केन्द्रित हुँदै होइन। बालबालिका केन्द्रित नभएकोले उनलाई ‘मनिटाइजेसन’मा कुनै समस्या भएन। तर त्यो भिडियो बालाबालिकाको अनलाईन दुर्व्यवहार भिडियो हो कि हैन भन्ने कुरामा प्रष्ट छ र कसैलाई कुनै दुई मत नहुन सक्छ।

करिब २० लाख पल्ट हेरिएको बालकको तस्विर एवं भिडियोलाइ युट्युबले एक पटक पनि सोध्न जरुरी सम्झेन, के त्यो फुटेज प्रयोगका लागि भिडियो निर्माताले ति बालकको अभिभावकको अनुमति लिए त?

हामी कसैले त्यो भिडियो कसरी बनाउन सकेको होला भनेर आफैले प्रश्न गर्यौ होला त?

बालबालिकाको गोपनीयता भङ्ग गर्ने र उनीहरूविरुद्ध दुर्व्यवहार प्रोत्साहित गर्ने त्यस्ता भिडियो सार्वजनिक प्ल्याटफर्ममा राख्नुअघि दुई प्रश्न उचित हुनसक्छन्।

पहिलो, के सम्बन्धित भिडियो सीओपीपीए एवं अन्य कानून विपरित छ?

र दोस्रो,  पहिलो प्रश्नको जवाफ बावजुद्, के यो भिडियो नैतिक रुपमा सही छ?

अमेरिकाको संघीय व्यापार आयोगले पनि सीओपीपीएको चर्चा गरेको छ। युट्युब सामाग्री सिर्जना गर्नेहरूलाई प्रश्नसहित, ‘के तपाईंको सामाग्रीहरू बालबालिका केन्द्रित छन्’?

सीओपीपीएको नीति अनुसार, कुनै पनि बालबालिका वा बालबालिका सेलिब्रेटीहरूको बारेमा भिडियोमा बच्चाहरूलाई देखाउँछ त्यसलाई बाल निर्देशित सामग्री हो भन्ने बुझ्नुपर्छ। बालबालिकाको उपस्थिति रहेको भिडियो कुनै पनि व्यक्तिले उसको अभिभावकको स्वीकृति बिना अपलोड गर्न पाउँदैन। त्यसो गरेको खण्डमा त्यसले स्पष्ट रुपमा सीओपीपीए र अन्य कानूनहरू उलङ्घन गरेको मानिने जनाइएको छ।

यसर्थमा जलानको उक्त भिडियो पनि नैतिक भिडियो होइन। त्यसले एक बालकप्रति अपमानजनक र दुर्व्यवहारपूर्ण भाषाको प्रयोग गरेको छ। त्यस भिडियो अनाधिकृत मात्र होइन एउटा बालकको बदनाम गर्न बनाइएको अनैतिक सामाग्री हो। यो सरासर गर्दै नगरेको गल्तीका लागि सचिनलाई सजाय दिइएको सरह छ।

सचिनलाई रोस्ट गरिएको भिडियो जलानको च्यानलमा सीमित छैन। उनको भिडियोको प्रतिक्रियामा अन्य सामाग्री आए जसले ती बालकलाई नजानिदो तरिकाले पीडित बनाएको छ। र, त्यस्तै भिडियोले लाखौं भ्यूज बटुलेको छ। ती भ्युज नितान्त पैसा कमाउनका लागि हो। त्यसमा सिर्जनात्मक अभ्यास शून्य प्राय छ जसलाई रोक्नका लागि भएपनि युट्युब मनिटाइजेसन सहज नहुनु पर्ने हो। युट्युबले बालबालिकाका लागि जारी गरेको गोपनीयता संरक्षण नीति कडाइका साथ लागु हुनुपर्ने हो। उक्त नीति यूरोप र अमेरिकामा मात्र लागू हुन्छ भन्ने भ्रम छ। त्यसो भने होइन।

चिल्ड्रेन अनलाइन प्राइभेसी प्रोटेक्सनको नीति नियम कुनै निश्चित भुभागमा या यूरोप र अमेरिकामा मात्र नभएर विश्वको हरेक कुनामा सबैको लागि लागू हुन्छ।

तर एसिया र अफ्रिकाका युट्युबरहरूले यस नीतिलाई कमै पालना गरेका छन्। नेपाली समाजमा धेरैलाई अनलाइन प्ल्याटफर्मबारे जागरुकता र अनलाइन दुर्व्यवहारको ज्ञान नहुनुले पनि नेपाली बालबालिकालाई पटकपटक युट्युबका भाइरल भिडियोहरूमा देखिन्छ।

युट्युबलगायत अन्य सामाजिक सञ्जालहरू अमेरिका र यूरोप बाहिर हुने सामाग्री नीति उलङ्घनबारे चुप रहँदा आपत्तिजनक तस्बिर एवं भिडियो अपलोड र सेयर गर्न सहज छ।

सन् २०१९ मा गुगल र युट्युबले सीओपीपीए नीति उलङ्घन गरेबापत् मात्र एक सय सत्तरी मिलियन डलर जरिवाना तिरेको थियो। तर, यस विषयमा त विश्वव्यापी अज्ञानताको समस्या पनि सम्बोधनतर्फ ध्यान दिइनु उत्तिकै आवश्यक छ।

युट्युबको सेवा संसारका सयभन्दा बढी देशमा बिस्तारित छ। तर, त्यसको स्थानीय कार्यालय जम्मा ६ देशमा छन्। तीमध्ये कुनैपनि एसिया र अफ्रिकामा पर्दैनन्। यसकारण युट्युब सञ्चालित देशहरूको सामाजिक आवश्यकताबारे जानकारीको दायरा पनि साँघुरो भएको छ।

तेस्रो विश्वमा युट्युबमा प्रसारित सामग्रीको प्रभावकारी नियमन नहुँदा ‘रोस्ट’ र कसैलाई गिज्याइको भिडियो ट्रेण्डिङमा पर्ने क्रम जारी छ। युट्युब बिस्तारै आकर्षक आम्दानीको स्रोत हुन थालेको छ। यसको पुष्टि दक्षिण एसियामा बढ्दै गएको युट्युब सञ्चालकहरुको सङ्ख्याले पनि गर्छ। भाइरल हुने र छिटो आम्दानी गर्ने लालसामा सञ्चालकहरूले नियम र निर्देशिका विपरित सामग्रीहरु बनाइराखेका छन्। तेस्रो विश्वमा गोपनियता सम्बन्धि कडा कानुन अभाव र जनचेतनाको निम्न स्तरका कारण, युट्युबले बालबालिकाको गोपनियता र सुरक्षामा अविलम्ब काम गर्नुपर्ने देखिन्छ। 

लेखको अंग्रेजी संस्करण यहाँ पढ्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell