PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रज्ञाको कविता महोत्सवमा महिलाको वर्चश्व : 'सत्ताको भजन गाउने कार्यकर्तालाई पुरस्कार बाँडेर कविताकै अपमान गरे'



प्रज्ञाको कविता महोत्सवमा महिलाको वर्चश्व : 'सत्ताको भजन गाउने कार्यकर्तालाई पुरस्कार बाँडेर कविताकै अपमान गरे'

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव-२०७८ मा पहिलोदेखि तेस्रोसम्म महिलाले वचर्श्व कायम गरेको छ। यसपटकको कविता प्रतियोगितामा भोजपुरकी कविता राईको ‘देशको नक्सा’ कविता प्रथम भयो।

त्यसैगरी, धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ कविता दोस्रो भएको छ। बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ कविताले तेस्रो स्थान हासिल गरेको छ। नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ कविताले पनि तेस्रो स्थान पायो। सिलवाल यसपटकको कविता प्रतियोगतामा पुरस्कृत हुने एक्लो पुरुष हुन्।

प्रज्ञाले पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत तथा सम्मानित गर्नेछ।

कार्यक्रमको प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै भने, ‘कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको हो ।’

प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७ सय ६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएको र स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी गराएका थिए।

दलीय भागबण्डा

कविता प्रतियोगितामा प्रथम भएकी कविता राई भोजपुरकी शिक्षक हुन्। उनी लामो समयदेखि नै शिक्षण पेशामा छिन्। एमाले समर्थित नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सदस्य उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन्। त्यसैगरी दोस्रो हुन सफल अमृता स्मृति धादिङकी हुन्। उनी कांग्रेस निकट हुन्। त्यसैगरी तेस्रो हुन सफल ताप्लेजुङकी सबिता बराल र नुवाकोटका प्रकाश सिलवाल एमाले निकट मानिन्छन्।

'कविताकै अपमान भयो'

कविता प्रतियोगताको विरोध गर्दै आएको 'उन्मुक्त पुस्ता'का प्रकाश गुरागाईले यसपटक पनि कविताकै अपमान भएको दाबी गरेको छन्।

'कवितामा हरेक वर्ष भागबण्डा हुन्छ। यो ओपन सेक्रेट नै हो। यसरी पहिलो दोस्रो घोषणा गरिनु कविताकै अपमान हुनु हो,' उनले भने।

यसपटकको कविहरुको राजनीतिक संलग्नताबारे आफूलाई कुनै जानकारी नभएको उनको भनाई थियो।

'अघिल्लो वर्षहरुमा देखिएकै राजनीतिक भागबण्डा। यसपटकको को कुन पार्टीको भन्ने कुरा मैले बुझ्न पाएको छैन,' गुरागाईले भने।

सत्ताले दिएको विषयमा सत्ताको भजन लेखेर पुरस्कृत हुनु अवैज्ञानिक भएको उनको भनाई थियो। उनले भने, 'राष्ट्रवाद, देशलाई आमा भन्ने विषयको सेन्टीमेन्ट बटुलेर विषय बाँधेर भजन गाउने गरी लेखेको कविताहरु पुरस्कृत भएका छन्। यो अवैज्ञानिक हो भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell