PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रचण्डलाई ओलीको कटाक्ष : भोलि कुखुरा हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो



प्रचण्डलाई ओलीको कटाक्ष : भोलि कुखुरा हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचनामा प्रतिस्पर्धा भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। परराष्ट्र मामिला अध्यन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ५ पूर्व प्रधानमन्त्रीले राष्ट्रपतिको आलोचना गर्न तछाडमछाड गरिरहेका बताए। राष्ट्रपतिको बचाउ गर्दै ओलीले विपक्षी गठबन्धनले राष्ट्रपतिलाई चिथोरेको आरोप लगाए।

‘रिसाएको बिरालोले खामो चितोर्छ भन्ने छ। अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिशन चलिरहेको छ। राष्ट्रपति आफ्नो भुमिकामा हुनुहुन्छ। संविधानले दिएको भुमिकामा हुनुपर्छ राष्ट्रपति,’ ओलीले भने।

आफ्नाविरुद्ध ५ जना पूर्व प्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका बरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराई लागेको भन्दै कटाक्ष गरे। सर्वोच्च अदालतबाट फैसला आउनुअघि नै प्रचण्डलाई थाहा हुनु सेटिङ भएको ओलीको आरोप छ। उनले कुखुरा हराउनु अघि नै स्याल कराएको भन्दै सर्वोच्च अदालतमा सेटिङ भएको बताएका हुन्।

‘न्याय निस्पक्ष निरुपण भयो कि सेटिङ? भोली कुखुरा हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो,’ ओलीले भने।

प्रचण्डले धादिङमा आयोजित एक कार्यक्रममा अदालतले मन्त्रिपरिषद् विस्तारलाई बदर गर्ने आदेश दिने बताएका थिए।

उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग आफूले कुनै सम्झौता नगरेको बताएका थिए। विपक्षी गठबन्धनबाट ठाकुर प्रधानमन्त्री बन्दा राष्ट्रवादी र आफूलाई साथ दिँदा राष्ट्रघाति भनेर चित्रित गरिएको ओलीको भनाइ छ।

‘अराजकताका विरुद्ध मैले उहाँहरुको साथ लिए। महन्थजी प्रधानमन्त्री भइदिनुस् भनेर टेलिभिजनमा खिचाको होइन,’ उनले भने।

यस्तै, प्रचण्डले बिहीवार भएको पत्रकार सम्मेलनमा राष्ट्रपति भन्दा राजा ठीक भनि दिएको अभिव्यक्तिको पनि उनले आलोचना गरेका छन्। उनले प्रचण्डलाई गणतन्त्रप्रति वैरभाव भएको बताए।

‘यो गणतन्त्रप्रतिको वैरभाव पनि होला। उहाँहरु सभ्य होइन असभ्य समाज बनाउन चाहनुहुन्छ’, ओलीको भनाइ थियो।

राजनीतिक विषयको निरुपण राजनीतिक दलबाट हुनुपर्ने भए पनि अदालतमा जानु ठिक नभएको ओलीले टिप्पणी गरेका छन्।

आफ्नो मन्त्रीमण्डललाई ४ जना मन्त्रीमा सीमित गराउने आदेश तत्कालका लागि विपक्षीलाई खुसी हुने विषय भए पनि त्यसले निम्ताउने परिणाम ठीक नहुने ओलीको चेतावनी छ।

‘जनतामा पनि जान नदिने संसदमा पनि जान नदिने र राजनीतिक विषयको टुंगो राजनीतिक पार्टीले अदालतबाट राजनीतिक फैसला खोजेपछि अहिले एकछिन त मजा आउला, प्रणालीहरु सधै अग्निपरीक्षामा हुन्छन्, प्रणालीलाई कार्यन्वयनमा जान नदिने र भत्काउनु खतरनाक हो,’ उनले भने।

उनले प्रचण्डले भ्रम फैलाउन खोजेको र त्यसका विरुद्ध भइरहेको लडाइँमा आफू विजयी हुने बताए।

‘अलि भ्रम फिजाउन खोजिएको छ। पार्लियामेन्टमा खुर्सानीको धुलो बोकेर जानेहरुसँगको यो लडाइँ शान्तिपूर्ण रुपमै जित्नेछौँ। चिन्ता लिनु पर्दैन,’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell