PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विपद्को पूर्व तयारी : पर्सामा सशस्त्र प्रहरीले गर्‍यो उद्धारको पूर्व अभ्यास



विपद्को पूर्व तयारी : पर्सामा सशस्त्र प्रहरीले गर्‍यो उद्धारको पूर्व अभ्यास

वीरगंज : मौसमविद्हरुले यसवर्ष मनसुनी वर्षात अत्यधिक हुने अनुमान गरेका छन्। त्यसअनुसार विपद् कार्यदल ‘अलर्ट’ रहनु पर्ने केन्द्र सरकारको निर्देशन छ। त्यसैकारण सबै जिल्लामा विपद् व्यवस्थापन सम्बन्धी तयारी तीव्र पारिएको छ।

शुक्रवार सशस्त्र प्रहरी बल १३ नम्बर गण चिनीमिल पर्साले बाढीको समयमा आईपर्ने विपद्लाई व्यवस्थापन गर्न बाढी पीडित उद्धार कार्यको अनुशिक्षण अभ्यास गरेको छ। पर्साको तिलावे खोलामा बाढी आएर वीरगंज-१७ अलौ गाउँ डुबानमा पर्दा गाउँलेलाई डुङ्गा र डोरीको सहाराले तालिम प्राप्त सुरक्षाकर्मीले कसरी बचाउन सक्छन् भन्ने अभ्यास कार्यक्रममार्फत प्रदर्शन गरिएको थियो।

उद्धार अभ्यास कार्यक्रमको समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले विपद्को समयमा जनप्रतिनिधिहरुले थप ‘अलर्ट’ बस्नु पर्ने बेला भएकोले वीरगंज महानगरका सबै जनप्रतिनिधिहरुलाई ‘अलर्ट’ बस्न अनुरोध गरे। साथै, उनले वीरगंजमा श्रीसिया र भेडहा खोलाको कारण दर्जनौँ गाउँ डुबानमा पर्दा समस्या उत्पन्न हुने गरेको बताए।

उनले करिब २५ करोड खर्च गरी भेडहा खोलामा बाँध निर्माण गरेको भएपनि जोखिम नटरेको औल्याए। उनले सन् २००५ मा जतिकै श्रीसिया खोलाको गहिराई र चौडाई फर्काउन खोला आसपासको अतिक्रमण हटाउन आवश्यक रहेको बताए। अन्यथा कम चौडाईमा बग्ने पानीले बस्ती र टोल डुबानमा पर्ने समस्या सामना गर्नुपर्ने बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारले विपद्को समयमा कमभन्दा कम जनधनको क्षतिको लागि जिल्ला तथा पालिका स्तरमा विपद् व्यवस्थापन समितिको व्यवस्था जारी गरेकोले सोही अनुसार विपद्मा लड्न आग्रह गरे। उनले विपद्को समयमा कसको के जिम्मेवारीबारे स्पष्ट व्यवस्था रहेकोले अहिलेदेखि नै तयारी अवस्थामा रहन निर्देशन दिए।

सशस्त्र प्रहरी पर्साका एसपी राजेन्द्र खड्काले विपद् बाजा बजाएर नआउने भएकोले अहिलेदेखि तयारी थालेको र आगामी दिनमा पर्साका विभिन्न युनिटलाई तालिम दिएर अलर्ट राख्ने काम भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell