वीरगंज : वीरगंज उद्योग वाणिज्य संघले नारायणी अस्पताललाई ९ लाखको स्वास्थ्य सामग्री प्रदान गरेको छ। एक कार्यक्रमकाबीच अस्पतालका निमित्त मेसु डा वीरेन्द्र बहादुर प्रधानलाई संघका अध्यक्ष सुबोध कुमार गुप्ताले उक्त सामग्री प्रदान गरेका हुन्।
यसअघि १५ लाखको खर्चमा बाल सघन चिकित्सा यूनिट (सीआईसीयू) सञ्चालनमा ल्याएर बाल रोग उपचारमा सहयोग गरेको संघले ३ थान मेडिकल अक्सिजन कन्सन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पताललाई सहयोग गरेको हो। हेल्भेटास नेपाल-इलम परियोजनाको सहयोगमा उक्त सामग्री खरिद गरी सहयोग गरिएको हो।
हस्तान्तरणपछि संघले ती उपकरण सञ्चालनमा आएपछि नारायणी अस्पतालमा उपचार गराउने बिरामीहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेको थियो। कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा निरज सिंह, वीरगंज उद्योग वाणिज्य संघका महासचिव मनोज दास, मनोज उपाध्याय, हेल्भेटास नेपाल-इलम परियोजना, प्रदेश नम्बर २ का संयोजक कृष्णलाल कर्णलगायतको उपस्थिति थियो।