वीरगंज : पर्सा प्रहरीले १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पर्साको पर्सागढी नगरपालिका-७ फुलवरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो।
पर्सागढीकै एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पटेल र सोही पालिका वडा नम्बर ६ बस्ने वर्ष २० कै कमलेश सहनी बिहीवार राति साढे ९ बजे सबै जना सुतिरहेको अवस्थामा बालिकाको कोठामा प्रवेश गरी पटेलले बलात्कार गरेको र सहनीले सघाएको पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको थियो। सोही सम्बन्धमा छानबिन गर्न नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
यसैबीच, पर्सा प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका-१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारी रहेका छन्।
उनले गत सोमवार राति १२ बजे सोही स्थानकी २० वर्षीया महिलाको घरमा प्रवेश गरी जबरजस्ती गर्ने प्रयास गरेको प्रहरीले बताएको छ। सुत्ने कोठामा झ्यालबाट प्रवेश गरेका उनलाई महिलाले हल्ला गरेपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।
पीडित महिलाले जाहेरी दिएपछि अन्सारीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरी ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता खनालले बताए।