जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम चालेको भन्दै विपक्षी गठबन्धनका भातृ संगठनहरुले संयुक्त रुपमा जनकपुरधाममा प्रदर्शन गरेका छन्। अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियु धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषा लगायत विद्यार्थी संगठनहरुले नगरमा प्रदर्शन गरेका हुन्।
जनकपुरधामको रेल्वे स्टेसनबाट शुरु भएको प्रदर्शनमा विद्यार्थीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्का नारावाजी गरेका थिए। सो क्रममा नेकपा एमाले ओली समूहका राष्ट्रिय युवा संघ धनुषाले प्रदर्शनको प्रतिकारमा उत्रेको थियो।
तर, संयुक्त विद्यार्थी संगठनको पूर्व निर्धारित कार्यक्रम अनुसार जनपद र सशस्त्र प्रहरीको कडा सुरक्षाबीच प्रदर्शनको क्रममा समान्य झडप भएपनि अप्रिय घटना हुनबाट जोगिएको छ।
प्रदर्शन जनकपुरधामको रेल्वे स्टेशन हुँदै भानु चोक, शिव चोक र जनक चोकसम्म पुगेर कोणसभामा परिणत भई समापन भएको थियो। समापनको क्रममा ओली समूहका यूवाहरु विद्यार्थीमाथि पटक पटक जाई लाग्ने प्रयास गरेका थिए।