PahiloPost

May 14, 2024 | १ जेठ २०८१

लगातारको वर्षाले बारा-पर्साका ग्रामीण भेग जलमग्न, खोला छेउका बस्तीहरु उच्च जोखिममा



लगातारको वर्षाले बारा-पर्साका ग्रामीण भेग जलमग्न, खोला छेउका बस्तीहरु उच्च जोखिममा

वीरगंज : शनिवार बिहान १ बजेदेखि परेको भारी वर्षाले पर्सा-बाराको ग्रामीण भेग जलमग्न भएका छन्। दिउँसो ११ बजेसम्म परेको लगातारको वर्षाले मध्यतराईका पर्सा-बाराका खेत पुरै जलमग्न भएका हुन्।

वर्षा छुटेपछि विस्तारै उत्तरतर्फबाट पानीको बहाव दक्षिणतर्फ बगेर अहिले डुबान केही कम भएको छ। पर्साको श्रीसिया, भेडहा, तिलावे, गाद, सिङयाही, सिकटा, ओरिया खोला छेउका गाउँबस्तीहरु बढी जसो जलमग्न भएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काका अनुसार करिब १० घण्टाको लगातारको वर्षाले धेरै जसो पालिकामा डुबानको जोखिम देखिएको बताए। उनले पकहामैनपुरस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा पनि पानी पसेर पोस्ट खाली गराइएको बताए।

त्यसैगरि, पर्साको सबैभन्दा बढी बाढीको समयमा प्रभावित हुने छिपहरमाईको भिस्वा, जयमंगलापुर, झलमहिया, सम्भौता, चरगाहा, बघमरी, मिर्जापुर, भलुवहिया, धोबिनी, विन्दावासिनी गाउँपालिकाको गर्दौल, बहुदरमाईको रामनगरीलगायतका बस्ती आसपासमा बाढीको जोखिम देखिएको थियो।

‘यदि केही घण्टा अझै पानी परेको भए, बस्तीमै पानी पस्ने अवस्था थियो’, उनले भने, ‘तर, पानी रोकिएर सबै ठाउँमा पानीको बहाव कम हुँदै गएको छ। खोलामा आएको बाढीको सतह पनि बस्तीमा जाने अवस्था छैन।’

उनले पर्साका विभिन्न खोलाको छेउका बासिन्दालाई वर्षातको समयमा खास गरी विशेष सतर्कता अपनाउन आग्रह गरे। साथै, सशस्त्र प्रहरीको सबै युनिटलाई पनि ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएको बताए।

बाराको दुधौरा, लालबकैया, पसाहालगायत खोलामा पनि वर्षातमा पानीको सतह बढेको छ। साथै, साना खोला तथा खोल्सीहरुबाट पनि पानीको सतह बढेर आसपासको बस्तीमा डुबान हुने जोखिम रहेकोले उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार बारामा अहिले बाढीले बस्ती डुबान पर्ने अवस्था नभएपनि सुरक्षा निकाय र स्थानीय पालिकाको समन्वयमा विपद्को समयमा सँगै काम गर्ने पूर्व तयारी भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell