काठमाडौं : नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ। पार्टीभित्रको आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशिल सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए। आइतवार बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीहरु सम्मिलित बैठक कार्यतालिकाअनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रीत भएर छलफलअघि बढेको लेखकले जानकारी दिए।
पार्टीको वडादेखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्न पूर्व शर्तको रुपमा रहेका क्रियाशिल सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको पनि उनले बताए। बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजकसमेत रहेका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशिल सदस्यताको नविकरण र नयाँ इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजन सम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको जानकारी दिए।
पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बर्दियामा पार्टी कार्यालयमा तालबन्दी भएकाले र लामोसमयसम्म समायोजन सम्बन्धी विवाद रहेको र सिन्धुपाल्चोक जिल्लामा क्रियाशिल सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन। ती सबै जिल्लामा अहिले क्रियाशिल सदस्यता वितरणको काम भईरहेको नेता लेखकले जानकारी दिए। नेता खरेलले कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाए।
'झण्डै ८ लाख २० हजार क्रियाशिल सदस्यताको इन्ट्री भइसकेको छ। अधिकांश स्थानको सदस्यता वेभसाइटमा सार्वजनिक भईसकेको छ। प्राप्त उजुरी र गुनासामाथि छलफल भईरहेको छ। केही कुरामा समान धारणा बन्न नसकेकाले ती विषयमा पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेर समाधान धारणा बनाउने प्रयास भइरहेको छ,' लेखकले भने, 'नेपाली कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन त्यही तालिकामा हुने गरी क्रियाशिल सदस्यताको काम सम्पन्न गर्ने कुरामा अगाडि बढेका छौ।'
नेता लेखकका अनुसार २ जिल्ला बाहेकका जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासाहरु आएका छन्। ती गुनासा तथा उजुरीलाई छलफल गर्दै टुंग्याउदै लगिएको उनले बताए। क्रियाशिल सदस्यहरु नै मतदाता पनि भएकाले महाधिवेशनको पूर्वसन्धयामा क्रियाशिल सदस्यताको विषय टुंगो लगाउने कार्य जटिल भएको नेता लेखकले बताए।