कैलाली : धनगढीमा अवैध सुनको कारोबार भइरहेको भन्ने एउटा ‘क्लु’ले कैलाली प्रहरीले अवैध १६ तोला भन्दा बढी सुन बरामद गर्न सफल भएको छ।
आइतवार प्रहरीलाई धनगढी चौराहामा रहेको शिवशक्ति सुनचाँदी पसलका सञ्चालक सचिन सोवले अवैध सुनको कारोबार गरिरहेको भन्ने ‘क्लु’ प्राप्त भएको थियो। सोही ‘क्लु’लाई किनारा लगाउन तीन वटा प्रहरी टोलीले थालेको अनुसन्धानबाट १ सय ८७ ग्राम ८ सय ८० मिलिग्राम अवैध सुन बरामद भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह, कैलाली प्रहरी र इलाका प्रहरी कार्यालय मालाखेतीको तीन वटा टोली परिचाल गरेर थालेको अनुसन्धानका क्रममा तीन जनाबाट सो परिमाणको सुन कारोबार भएको विवरण प्रहरीले प्राप्त गरेको हो।
प्रहरीले घरमा छापा हानेर सचिनका साथबाट ६७ ग्राम ८ सय ८० मिलिग्राम र कैलालीको गोदावरी नगरपालिका २ अत्तरिया बसपार्क परिसरबाट डडेलधुराको अमरगढी नगरपालिका ५ मा सुनचाँदी व्यवसाय गर्ने ३० वर्षीय सुरज घतानेका साथबाट १ सय २० ग्राम सुन बरामद गरेको हो।
उक्त सुन बिक्री गर्ने धनगढी ३ का ४० वर्षीय दीपेन्द्र विकलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनले १० लाखमा उक्त सुन बिक्री गरेको बैंकको चेक समेत प्रहरीलाई प्राप्त भएको छ। तर, उक्त सुन नेपालकै हो वा भारतबाट आएको भन्ने विषय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
१ सय ८७ ग्राम ८ सय ८० मिलिग्राम सुन, नगद ४ हजार तथा १० लाखको चेक बरामद गरी थप कारबाहीका लागि तीनै जनालाई सोमवार राजश्व अनुसन्धान कार्यालय, कोहलपुर बाँके पठाइएको विष्टले बताए।