PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

प्रधानमन्त्री ओलीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको गरे शुभारम्भ



प्रधानमन्त्री ओलीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको गरे शुभारम्भ

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमवार दिउँसो भर्चुअल रुपमा शुभारम्भ गरेका हुन्।

शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वाग्मती प्रदेको राजधानी हेटौँडामा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उत्पादित विद्यार्थीहरुले जुनसुकै ठाउँमा पनि प्रतिष्पर्धा गर्ने कुरामा आफू विश्वस्त रहेको बताए। उनले खोज अनुसन्धानको कार्यक्षेत्रमा ठूलो भुमिका देखाई देशमा महत्वपूर्ण योगदान गर्न आग्रह गरे।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही दिनमै भर्ना र अध्ययन कार्य शुरु हुने जानकारी दिए। उनले असार १४ का दिनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना दिवसको रुपमा मनाइने बताए।

प्रतिष्ठानमा २ नम्बर प्रदेशका विद्यार्थी पनि पढ्नका लागि आउने बताउँदै अन्य भन्दा फरक ढंगको शिक्षा प्रतिष्ठानबाट प्रदान हुने मुख्यमन्त्री पौडेलले दावी गरे। उनले विद्यार्थीलाई अनुसन्धान क्षेत्रमा प्रभावकारी रुपमा काम गर्नसक्ने बनाइने बताउँदै प्रतिष्ठानले दिएको जस्तो गुणस्तरीय र उपयोगी शिक्षा दिन अन्य शैक्षिक निकाय बाध्य हुने दावी गरे।

‘जागिर खोज्न विद्यार्थी अन्य ठाउँमा होइन, यहीँ प्रतिष्ठानमै आउने छन्’, उनले भने, ‘प्रतिष्ठान सञ्चालनमा कुनै बाधा आउन नदिन प्रदेश सरकार तयार छ।’

मुख्यमन्त्री पौडेलले वाग्मती प्रदेशको ‘ड्रिम प्रोजेक्ट’ प्रतिष्ठान रहेको भन्दै अर्को वर्षदेखि एमबीबीएस कक्षा सञ्चालन गरिने जानकारी दिए।

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आमनागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको बताइएको छ। वाग्मती प्रदेश सरकारबाट २०७६ आसोज २ गते स्थापित प्रतिष्ठानको केन्द्रीय कार्यालय प्रदेशको राजधानी हेटौँडामा छ।

प्रतिष्ठानले स्थापना गरेको पहिलो वर्षमा तीन वटा विषय अध्यापन गराउने अनुमति पाएको छ। चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि प्रतिष्ठानलाई ८० सिट निर्धारण गरेको छ। जसमा बीपीएचमा २० , बीफर्मा ३० र बीएस्सी एमएलटीमा ३० सिट तोकिएको छ।

प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले चिकिस्सा शिक्षा आयोगले परीक्षा केन्द्र रोज्न विद्यार्थीलाई अनुरोध गरिसकेको हुँदा आगामी साउनदेखि नै शैक्षिक कार्यक्रम शुरु हुने जानकारी दिए। प्रतिष्ठानको स्थायी संरचना तथा पूर्वाधार तयार गर्न तत्काल आवश्यक हेटौँडा उपमहानगरपालिका-१० (साबिक टीसीएन)को करिब १० बिगाहा जमिनको बन्दोबस्त भएको प्रतिष्ठान उपकुलपति प्राडा विश्वराज जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell