PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

स्पेन र क्रोएसियाको खेलमा गोलको वर्षा : स्पेन क्वाटरफाइनलमा, क्रोएसिया बाहिरियो



स्पेन र क्रोएसियाको खेलमा गोलको वर्षा : स्पेन क्वाटरफाइनलमा, क्रोएसिया बाहिरियो

यूईएफए युरो कपको प्रि-क्वाटर फाइनल अन्तर्गत आज भएको खेलमा स्पेनले क्रोएसियालाई पराजित गरेको छ। डेनमार्कको कोपेनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोल अन्तरले हराएको हो।

पहिलो हाफको २० औँ मिनेटमा स्पेनको आत्मघाती गोलमार्फत क्रोएसियाले अग्रता लिएको थियो। मैदानको बीच भागबाट पेड्रीले दिएको पासलाई गोलकिपर उनाई सिमोनले नियन्त्रण गर्न नसक्दा गोल हुन पुगेको थियो। ३८ औँ मिनेटमा पाब्लो साराबियाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा स्पेन र क्रोएसियाले दुई दुई गोल गरे। ५७ औँ मिनेटमा सेजार अपिलिक्वेताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। खेलको ७७ औँ मिनेटमा फेर्रान टोरेसले गोल गर्दै अन्तर बढाए। ८५ औँ मिनेटमा क्रोएसियाका मिस्लाभ ओर्सिक र अतिरिक्त समयमा मारियो पसालिकले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्‍याए। दोस्रो हाफको खेल ३-३ को बराबरीमा सकिएको थियो।

त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा स्पेनले २ गोल गर्‍यो। १०० औँ मिनेटमा अल्भारो मोराटाले र १०३ औँ मिनेटमा मिकेल ओयारजाबलले गोल गर्दा स्पेनले खेल ५-३ले आफ्नो पक्षमा पार्‍यो।

अब स्पेनले क्वाटरफाइनलमा फ्रान्स र स्वीजरल्याण्डबीचको विजेतासँग भिड्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell