PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कर्णालीमा रोपाई, सकियो ५५ प्रतिशत



कर्णालीमा रोपाई, सकियो ५५ प्रतिशत

सुर्खेत : आकाशे पानीको भर पर्नुपर्ने कर्णालीमा समयमै पानी परेका कारण असार १५ भित्रै ५५ प्रतिशत रोपाई सकिएको छ। विगतको वर्षहरु असार १५ सम्म मुश्किलले ३० प्रतिशत रोपाई हुदैँ आएको कर्णालीमा यस वर्ष छिटो रोपाई सकिने अनुमान छ।

कृषि विकास निर्देशनालयका अनुसार हालसम्म २६ हजार हेक्टर क्षेत्रफल अर्थात ५५ प्रतिशत रोपाई सकिएको छ। सबैभन्दा बढी कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, कालिकोट र जुम्लामा ९० प्रतिशत रोपाई सकिसकेको छ। जुम्लाबाहेक डोल्पा, हुम्ला र मुगु जिल्लाहरुमा प्रदेशकै कम रोपाई हुने अर्थात कम धान उत्पादन हुने जिल्ला हुन्।

सल्यान, जाजरकोट र रुकुमपश्चिममा ८० प्रतिशत बढी रोपाई सकिएको छ। प्रदेशको सबैभन्दा बढी रोपाई हुने अर्थात धान फल्ने जिल्ला सुर्खेत र दैलेखमा कम रोपाई भएको छ। दैलेखमा ४७ प्रतिशत रोपाई सकिएको छ भने, सुर्खेतमा ३४ प्रतिशत रोपाई सकिएको निमित्त निर्देशक चित्र रोकायले जानकारी दिए। रोपाई हुने क्षेत्रफल बढी भएको हुदाँ पनि सुर्खेतमा कम देखिएको हो।

उनका अनुसार कर्णालीका हिमाली जिल्लाहरुमा चैतदेखि रोपाई सुरु हुन्छ भने, पहाडी जिल्लाहरुमा वर्षात लागेपछि अर्थात जेठ अन्तिम वा असारदेखि रोपाइ सुरु हुन्छ। यद्यपि, यसवर्ष समयमै आकाशे पानी परेका कारण जेठ देखि नै रोपाई सुरु भएको छ। जसले गर्दा पनि यसवर्षको रोपाई समयमै सकिने निर्देशक रोकायको भनाई छ।

कर्णालीमा सिचाई सुविधाको अभाव र भिरालो पाखा पखेरा जमिन बढी भएको हुदाँ कूल खेतियोग्य जमिनको ८० प्रतिशत जग्गा बाँझै छन्।

प्रदेशको २५ लाख २५ हजार दुई सय ७५ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर क्षेत्रफल मात्रै खेतियोग्य जमिन छ। जसमध्ये कर्णालीमा ४६ हजार हेक्टर धान रोपाई हुदैँ आएको छ। प्रदेश सरकारले सिचाई सुविधा नभएको क्षेत्रमा जिल्लाका विभिन्न स्थानमा गरी दुई दर्जन बढी सिचाई आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेकाले निकट भविष्यमै खेतियोग्य जमिन बढ्ने छ भने, अर्कोतिर प्रदेश सरकारले जमिन बाँझो नराख्ने नीति लिएको हुदाँ पनि यसले खेतियोग्य जमिनको क्षेत्रफल बढ्ने रोकाय बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell