PahiloPost

Oct 15, 2024 | २९ असोज २०८१

'पैसा नहुनेले त बहुलाउन पनि दश पटक सोच्नुपर्छ'



स्वेच्छा राउत

'पैसा नहुनेले त बहुलाउन पनि दश पटक सोच्नुपर्छ'

अर्धनग्न शरीर। लट्टा परेको कपाल। हातमा दुई चारवटा झोलाका पोका र मैलो खास्टो।

बागलुङ बजारको पसलदेखि घरघरमा माग्दै हिँडेकी थिइन् मनकुमारी। कहिले भित्तासँग एक्लै बोलिरहेकी देखिन्थिन् त कहिले अघिल्तिर पर्ने जो कसैलाई गाली गरिहाल्थिन्। अनुहारमा पोलेको दाग बोकेकी उनी बजारमा धेरैका लागि छोराछोरी तर्साउन बोलाइने 'बहुलाही' बनेकी थिइन्।

फोहोरको थुप्रोमा केही खोजिरहेकी मनकुमारीलाई गाउँलेले देखेपछि पुर्‍याए खबर – तपाईंकी बहिनीलाई घरबाट निकालिदिएको हो? बजारमा माग्दै हिँडेकी छिन् त…।

माइती जान्छु भनेर घरबाट निस्केकी थिइन् उनी। घरदेखि माइतीसम्मको दुरी पैदलै तय गर्दा एक दिन पूरै लाग्ने। त्यसैले पटकपटक जाने-आउने गर्नु सहज थिएन। तर जहिले जान्थिन् निकै दिन बसेर फर्किन्थिन्। त्यसैले परिवार ढुक्कै थियो, माइतीमै छिन् भन्नेमा। एकाएक बजारमा माग्दै हिँडेको खबरले उनको माइतीलाई अत्यायो। उनका दाजुसहित बजारमा लिन पुगे। फर्कन मानेकी थिइनन् तर लछार्दै पछार्दै पुर्‍याए घर।

बहिनीको अवस्था देखेर आत्तिएका दाइले उनलाई घर पुर्‍याए र सिधैं बाँधिदिए आँगन छेउको रुखमा। दुईचार झाप्पु लगाए। र, माइतीबाट आएका सबै फर्किए। तर, कहाँ ठीक हुन्थ्यो र परिस्थिति?

मनकुमारीले सही वा गलतको भेउ पाउन छाडिसकेकी थिइन्। श्रीमान् जगतलाई देख्नै नहुने। कहिले लात्ता प्रहार गर्ने त कहिले चिथोर्ने। पकाएको भात रच्छ्यानमा फाल्ने अनि माटोको भित्ता कोतरेर बस्नु दैनिकी।

जगतका सबैकुरा अन्यौलपूर्ण थियो। किनकि श्रीमतीको अवस्था बिग्रिँदै जाँदा गाउँ समाजले उनको परिवारलाई हेर्ने दृष्टिकोण बद्लिसकेको थियो। स्थानीय सामुदायिक विद्यालयमा पढाउन थालको ९ वर्ष भइसकेको थियो। तर, प्रशासनिक कारण भन्दै निकालिए। सात महिनाको तलव धरी पाएनन्। गाउँमा अङ्ग्रेजी पढाउने कोही नहुँदानहुँदै किन निकालिनु पर्‍यो बुझेनन्। प्रश्न गर्न आवश्यक परेन किनकि गाउँमा गाईँगुईँ चलिसकेको थियो – पूर्व जन्मको पापले गर्दा सबै बज्रपात जगत सरकै घरमा परिरा’छ।

‘पापी’को तक्मा उनका लागि अनौठो थिएन। किनकि जगत स्वयं आगोको रापको डाम बोकेर बाँचिरहेछन् वर्षौदेखि। उनी चार वर्षको मात्र थिए आगोले भोटो समात्दा। आगो सल्किएर हातदेखि अनुहारसम्मै डढ्यो। समयमा उपचार पाएनन्, उनका हातका औंलाहरू कुहिएर झरे, कुँजो बनाएर। त्यसमा पनि दोष उनको पूर्व जन्मको कर्ममा दिनेहरू अझै गाउँमै छन्। त्यसैले भन्नेले भने, उनले सुने र बेवास्ता गरिरहे।

हल्लालाई जति बेवास्ता गरे पनि त्यसले लगातार पिरोलिरहेको थियो। मनकुमारी र जगतका छोराले कक्षा ११ मा भर्ना गर्ने हिम्मत जुटाएनन्। भने, ममीको हालत यस्तो छ। कलेजका साथीहरूले थाहा पाए भने हेप्छन्। म त जान्न।'

लकडाउन यतै जगत र मनकुमारीको तेस्रो सन्तान जन्मिएका थिए तर मृत। त्यसपछि स्थिति थप सम्हालिनसक्नु भयो। रुखलाई बच्चा मानेर सुम्सुम्याउँथिन् मनकुमारी। बाख्राका पाठाहरूलाई चुम्बन गर्दै भन्थिन् - नरोउ छोरी…।

दिदीको अवस्था दयनीय बन्दै गएपछि मनकुमारीकी बहिनीले जगतलाई भनिन् – 'भिनाजु दिदीलाई काठमाडौं लिएर जानुस्। त्यता दिमागको डाक्टरलाई देखाएर औषधि ख्वाएपछि कम हुन्छ। औषधि छुटेर हो यस्तो भएको।'

जगत छाँगाबाट खसे सरह भए।

'दिमागको डाक्टर, औषधि, उपचार मैले त केही बुझिनँ। फेरि मेरै बुढीबारे मसँग कुरा लुकाएको थाहा पाउँदा त सम्हाली नसक्नु भयो नि,' उनले सुनाए। पहिलोपटक थाहा पाउँदै थिए उनले आफ्नै श्रीमतीको अस्वस्थ मानसिक अवस्थाबारे।

मानसिक समस्या लुकाउन झुटको साहरा?

भारतको गुवाहिटीस्थति एसबी डेओराह कलेजमा अङ्ग्रेजी साहित्य पढ्दै थिए जगत। खासमा जलनको उपचार गर्न पुगेका थिए उनी, बुवासँग। बुवाले त्यतै मजदुरी गरे। छोराको हात ठीक भएन तर पनि पढ्नका लागि भर्ना गराए। जगतले त्यतिबेलै सोचेका थिए, पढ्छु अनि गाउँमा मास्टर बन्छु।

२०६१ सालमा घरबाट खबर आयो – बिहेको कुरा आएको छ।

मनकुमारीलाई पहिलो पटक देख्दा उनी निकै शान्‍त स्वभावकी थिइन्। अनुहारमा जलनको दाग बोकेकाले होला अरुभन्दा फरक छु भन्ने सोच्थिन्। अरुहरू भन्दा पर बस्थिन्। उनका परिवारले भने अनुसार खेतालालाई खाना बनाउन लाग्दा आगोले भेट्यो र जल्यो अनुहार।

'दुवैले एउटै नियती भोगेको। आगोले छालामा मात्र होइ न मनमा पनि कति पोल्छ भन्ने बुझेको भएरै जोडी मिल्छजस्तो लाग्यो। बिहे गर्‍यौं,' जगतले प्रष्ट्याए।

तर, मनकुमारीले १५ वर्ष उमेरको हुँदा आफ्नै अनुहारमा मट्टितेल खन्याएर आगो सल्काएको कुरा उनकी सालीले गत फागुनमा मात्र सुनाइन्। वर्षौंदेखि माइतीपट्टिले औषधि मगाउँदै खुवाउँदा रहेछन्। डेढ वर्षअघि उनी गर्भवती भए पछि न डाक्टरको सल्लाह न कुनै परामर्श। भन्नेले भनिदिए – पेटमा बच्चा हुँदा औषधि खानु हुँदैन। खुवाएनन्।

'गाउँघरमा दिमागी डाक्टर हुँदैनन्। कसैसँग सल्लाह नलिइ दबाई रोकेछन्। बिस्तारै बिरामी बल्झिँदै गयो। बच्चा नि खेर गएपछि घरै छाडेर हिँड्ने अवस्थामा पुगिन्,' जगत दु:ख बिसाउँदै सुनाए, 'मलाई थाहा दिएको भए आफ्नी बुढीको उपचार जसरी पनि गर्थें नि!'

जगतले आँट गरे। केही रकम ऋण पनि गरे। आफूलाई देख्नासाथ लात्ती बजार्न थाल्ने श्रीमतीलाई लिएर हिँडे काठमाडौं। त्यो शहर जुन उनका लागि नितान्त नौलो थियो। बाटो र दिशा उनका लागि जिन्दगीमा एकपछि अर्को गर्दै आएका घटनाहरू जस्तै निर्देशन विहीन थिए। त्यसैले पूर्व लाग्नुपर्ने पश्चिम लागेर पुगे भरतपुर। साथ दिन आइपुगे १७ वर्षीय छोरा। उनले डोहोर्‍याए आमा र बुवालाई पुर्‍याए काठमाडौंसम्म।

गत वैशाख १ गतेदेखि मानसिक अस्पताल, पाटनमा उपचार गराइरहेकी छिन् उनी।

+++

कोही बामे सरिरहेका। कोही एकोहोरो हाँसिरहेका अनि कोही चुपचाप कसैको पर्वाह नगरी टोलाइरहेका। मानसिक अस्पतालमा आएपछि हो जगत आफ्नी श्रीमतीको जस्तै समस्यामा अरुलाई पनि देखेका। हरेक कुरुवाको मुहारमा उस्तै पीडा, उस्तै तनाव। तर, केही साता वा महिनाको बसाई पछि खुशीखुशी त्यो परिसरबाट निस्कनेहरू पनि देखे। अनि पलायो आशा।

'केही दिन त एउटै पर्खाल भित्र थुनिँदा जेलमा बसे सरह भएको थियो। कतिखेर निस्किउँ जस्तो,' मानसिक अस्पतालमा बसाईको अनुभव सुनाए, 'आफ्नै मासु टोक्नेहरू पनि आँखै अगाडि ठीक भएर निस्किए। बस्नुमा भलो देखेँ।'

जगतसँग अनुत्तरित अन्यौलता थियो – बसाई लम्बिए खर्च कसरी पुर्‍याउने?

पाटन अस्पताल परिसरमा भेटिएका अधिकांश कुरुवाको अवस्था उस्तै नै हो।

करिव पन्ध्र दिन लाग्यो मनकुमारीको अस्वभाविक हिँड्ने, आक्रामक हुने, चुरोट पिइरहने, भित्तालाई चुम्बन गर्ने श्रृङ्खला टुट्न। होसको कुरा त अहिले पनि गर्दिनन्। तर, अहिले श्रीमान् देख्दा आक्रोशित भएर लात्ती उठाउँदिनन्। जगतले घरिघरि सम्झाउँछन् – तैंले मलाई यसरी भकुर्थिस्।

उनी हात जोड्दै भन्छिन् – मैले जानेर गरेको होइन नि बुढा। अब कहाँ त्यो गर्छु र?

अत्तालिँदै श्रीमानको हात आफूतिर तान्छिन् र ढोग्दै भन्छिन् – शिव शिव शिव।

अहिले श्रीमतीलाई बगैंचामा टहल्दै गरेको देख्दा दङ्ग छन् जगत। कहिले काहीँ अरु बिरामीको कुरुवालाई गीत गाएर सुनाइ रहेकी हुन्छिन् उनी। सोचेकै थिएनन्, यतिसम्म सुधार होला भन्ने।

यसै बिचमा मनकुमारीलाई कोभिड-१९ को संक्रमण समेत भयो। ज्वोरो र थकानले गालेको थियो उनलाई। मनकुमारीको शरीर गलेको देख्दा जगत सहज कसरी हुन सक्थे र! 'भगवानले परीक्षा नै लिएजस्तो भयो। यJपछि त्यो त्यो पछि अर्को। सुख र आनन्द त भागमै नलेखेजस्तो,' जगतले सुनाए।

त्यतिन्जेल जगतले ऋण गरेर ल्याएको पैसा सकियो। बिरामीलाई त अस्पतालले नै खान दिन्छ। जगत भने पैसा सकिएकै कारण दुई छाक त भोकै परे। थोरै लाज अनि केही आँट बटुलेर प्रशासनमा गए र भने – श्रीमती त ठीक हुन्छिन जस्तो छ। आफू पो भोकले मर्छुजस्तो छ सर!

निमुखाकै लागि भनेर खुलेको अस्पताल आफैँमा भद्रगोल। त्यसलाई सुधार्न लागिपरेका प्रशासनमा रहेकाहरुमाथि कुरुवाको पनि भार थपियो।

'हामीले दातासँग आग्रह गरेर कुरुवाको लागि खाना मगायौं। केही मनकारीले अस्पताललाई सहयोग गरे,' अस्पतालका प्रवक्ता एवं मनोचिकित्सक डाक्टर अनन्तप्रसाद अधिकारीले जानकारी दिए।

जगतलाई भने अर्कै पिरले छोडेको छैन। गाउँमा फर्किएपछि मनकुमारीको समस्या बल्झियो भने के गर्ने? औषधि सकियो भने कता धाउनु? उनको गाउँबाट त सामान्य मेडिकल पुग्नसमेत झण्डै ४ घण्टा ओरालो लाग्नुपर्छ। त्यहाँ पनि मानसिक स्वास्थ्यसँग सम्बन्धित औषधि पाइँदैन। डाक्टर खोज्दै फेरि काठमाडौंसम्मै आउन पर्‍यो भने? कससँग ऋण माग्नु? जतिले पत्याउथे उनीहरूले त यसअघि नै दिइसके।

'तनावले त आगोलेभन्दा बढी पोल्दो रै'छ। मान्छेको माया त छ नै तर पैसा पनि त चाहिँदो रै'छ,' जगतले अभावको असरबारे सुस्त स्वरमा सुनाए, 'पैसा नहुनेले त बहुलाउन पनि दश पटक सोच्नु पर्दो रै'छ।'

जगतले कुराकानीको बिट मार्नुअघि मनकुमारी उठेर कक्षतर्फ लागिन्। त्यति नै बेला उनको फोनको घण्टी बज्यो। आँखा टिल्पिलाएका भए पनि ऊर्जासाथ पश्चिमेली लवजमा बोले।

'सबै ठीक छ। तिमीहरूकी आमा पनि ठीक भइन्। अँ, पुगेकै छ,' अस्पतालको भवनतिर हेर्दै भने, 'यत्रो ठूलो घरमा बस्या छम्। केही चिन्ता छैन।'

फोन राखेर वरिपरि झुम्मिएकातर्फ हेरे। अनि ठट्यौली पारामा फेरि भने – 'जति भारी भए पनि आफै बोकुँ। घरकाको टाउको नदुखोस्।'

 

बेहाल विरामी, आफै संघर्षरत् अस्पताल

'पैसा हुनेहरू यहाँ आउँदैनन्। सीमित खर्च बोकेकाहरू टाढाटाढाबाट आउँछन्, आफ्नो मान्छेलाई साङ्लोले बाँधेर वा थुनेर राख्न नपरोस् भन्दै उपचार गर्न, ' डाक्टर अनन्तप्रसाद अधिकारीले सुनाए।

अस्पतालले दैनिक एक सय पचासजनासम्म बिरामीलाई ओपीडी सेवा दिँदै आएको छ। कोरोना महामारीयता संख्या भने केही घटेको छ।

'सरकारले महामारीमा ओपीडी सेवा बन्द गर्नु भनेर निर्देशन दियो। तर, मनोरोगीहरूलाई कहाँ हेर्दिनँ भनेर पाइन्छ र? हामीले जिम्मेवारी निर्वाह गरिरह्यौं। नगरेको भए टाढा-टाढाबाट आउने बिरामीहरूको बिजोग हुन्थ्यो,' उनले भने।

लकडाउनकै बिचमा रुकुमबाट ल्याइए एक बिरामी। उनी निकै आक्रामक थिए। डाक्टरहरूले समस्या पहिचान गरेर औषधि त सुझाए। तर, बिरामीका आफन्त गोजीमा एक रुपैयाँ पनि नभएको भन्दै रुन पो थाले। एम्बुलेन्सले ५१ हजार रुपैयाँ लिएछ। उनीहरूलाई अलपत्र छाडिएछ। अस्पतालले नै ती बिरामीको औषधि किनिदियो। कुरुवालाई खानाको व्यवस्था पनि।

'त्यसरी आएकाहरूको न गाँसको टुङ्गो हुन्छ न त बासको कहाँ पठाउनु?,' अधिकारीले प्रश्न गर्दै भने, 'दु:ख त यसकारण लाग्छ कहिले काहीँ एउटाको लागि गर्दा, अर्कोलाई उपचार दिन पाइँदैन।'

देशकै जेठो केन्द्रीय मानसिक अस्पतालमा जम्मा ५० वटा शय्या छ।

२०४० सालदेखि ठाउँ फेर्दै सेवा दिइरहेको यस अस्पताल स्वयं स्तरोन्नतीका लागि संघर्षरत् छ। देशमा जनसङ्ख्या बढ्यो, मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरू बढे, यो समस्या उपचार गरे ठीक हुन्छ भन्ने चेतनाको पनि विकास भयो। तर, अस्पतालमा न त शय्या बढे न जनशक्ति नै।

भौतिक संरचनादेखि दरबन्दीसम्म चालिस सालको भएको गुनासो पोख्छन् डाक्टर अधिकारी। हरेक वर्ष स्वास्थ्यका लागि छुट्याइएको बजेटको एक प्रतिशतभन्दा कम छुट्याइन्छ यहाँका लागि।

'यस वर्षदेखि दुई सयभन्दा बढी शय्या भएका अस्पतालले अनिवार्य १० प्रतिशत मानसिक स्वास्थ्यका बिरामीका लागि राख्नु पर्ने भनिएको छ। यो सकारात्मक पहल हो,' उनी थोरै आशावादी सुनिए, 'निजी अस्पतालहरूले यस पाटोमा ध्यान दिएका छन्। तर सरकारी अस्पतालको समस्या कहिले सम्बोधन हुन्छ? भन्ने प्रश्न हो।'

सुन्दा पत्याउन गाह्रो हुन्छ तर, केन्द्रीय मानसिक अस्पतालमा जम्मा एक जनामात्र मनोविद् छन्। तिनी पनि दरबन्दीबिना खटिएका। सोह्र जना नर्सको दरभए पनि जम्मा १० जना कार्यरत् छन्। चिकित्सक, कन्सलटेन्ट साइक्याट्रिक र मेडिकल अधिकृत पनि आधा भन्दा बढी करारमा छन्। २४ जना आवसीय चिकित्सकहरू खटिइरहेका छन्। सीमित स्रोत बिच अस्‍पतालले हरेक साँझ शुल्क लिएर 'पेइङ क्लिनिक' सञ्चालन गर्छ। र, वीर अस्पतालमा पनि हरेक आइतवार र बिहीवार मनोचिकित्सकीय सेवा उपलब्ध गराउँछ।

'सरकारले छुट्याइदिएको बजेटले त कर्मचारीलाई तलब दिन पनि पुग्दैन। समस्या बिरामीको उपचार, खानादेखि पानीको खर्चमा समेत छ। आवश्यक उपकरण र सामाग्री परको कुरा,' डाक्टर अधिकारीले भने।

हाल अस्पतालको तला थपिँदैछ। एक्सरे मेसिन, रिपिटेटिभ ट्रान्सक्रानियल म्याग्नेटिक स्टिम्युलेसन मेसिन, बायोफिडब्याकलगायत सामाग्री चाँडै सञ्चालनमा आउनसक्नेमा आशावादी छ अस्पताल प्रशासन। तर, सरकारको प्राथमिकतामा मानसिक स्वास्थ्य नपर्नुले अस्पताल बिरामीको चाप धान्नै नसक्ने स्थिति भने यथावत् छ।

'हामीले ३ सय शय्याको मागसहित निवेदन दिँदै आएको वर्षौं भयो। तर, सम्बोधन भएको छैन। टिकट शुल्क र सटर भाडाले कसरी अस्पतालको सेवा सुधार्नतर्फ जोड दिनु?,' डाक्टर अधिकारीले गुनासो पोखे।

सरकारले स्थानीय तहसँगको समन्वयनमा केन्द्रीय मानसिक अस्पताललाई विशिष्टकृत अस्पताल बनाउने र हरेक प्रदेशमा हाल केन्द्रीय अस्पतालले दिएसरह सेवा बराबरको मानसिक अस्पताल बनाइनु पर्ने उनको सुझाव छ।

'प्राथमिकतामा राखेर सेवा बिस्तार गर्ने हो भने मानसिक स्वास्थ्यबारे भ्रमहरू निवारण हुन्छन्। उपचार सम्भव छ भन्ने सत्य कुना काप्चाका जनताले थाहा पाउँछन्। एउटी श्रीमतीले मनोरोगको औषधि खाइरहेको सत्य श्रीमानसँग लुकाउनु पर्दैन,' डाक्टर अनन्तले भने। उनले भनेजस्तै हुन्थ्यो भने मनकुमारी र उनका पतिले जे भोगिरहन परेको छ, त्यो धेरै हदसम्म नियन्त्रणमा आउथ्यो।

*(यस सामग्रीमा उल्लेख भएका मनकुमारी र जगत दुवै परिवर्तित नाम हुन्। दुवैको पहिचान गोप्य होस् भनेर पहिचान परिवर्तन र तस्बिर पनि त्यसै अनुसार प्रयोग भएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell