काठमाडौं : नेपाली कांग्रेसले डडेल्धुरा जिल्लाको क्रियाशील सदस्यहरुको नाम आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। बुधवार कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालले एक विज्ञप्ति जारी गर्दै असार १७ गतेको बैठकको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको जनाएको हो।
'नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको आषाढ १६, २०७८ को बैठकको निर्णय अनुसार, डडेल्धुरा जिल्लाले केन्द्रबाट उपलब्ध गराईएको सफ्ट्वेयरमा नामावली विवरण इन्टी गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका नयाँ र नविकरणतर्फको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि, नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ,' विज्ञप्तिमा भनिएको छ। अधिकांश जिल्लाको यसअघि नै क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएको छ। डडेलधुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। सिन्धुपाल्चोक लगायत केही जिल्लाको क्रियाशील सदस्य विवरण अझै वेबसाइटमा सार्वजनिक हुन बाँकी नै छ।
आज सार्वजनिक गरिएका नामावली उपर, कुनै उजुरी, गुनासा वा सुझाव भए असार २० गतेभित्र उजुरी पठाउन सक्ने छानविन समितिले जनाएको छ।