PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रदेश २ का राज्यमन्त्रीको गुनासोः ‘कुर्सी छ जिम्मेवारी छैन, मन्‍त्रालयको कुनै कामको जानकारी दिइएन’



सुमित मिश्र

प्रदेश २ का राज्यमन्त्रीको गुनासोः ‘कुर्सी छ जिम्मेवारी छैन, मन्‍त्रालयको कुनै कामको जानकारी दिइएन’

जनकपुरधाम: प्रदेश २ सरकारका राज्यमन्त्रीहरुले मन्त्रालयमा आफूहरुको कुनै काम नरहेको भन्दै सरकारसँग काम माग्न थालेका छन्। आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहले आफूलाई हैसियत अनुसारको जिम्मेवारी नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्। मन्त्री ज्ञानेन्द्र यादवसँग उनले असन्तुष्टि जनाएका हुन्। 

उनले भने, ‘राज्यमन्त्रीको हैसियतमा मैले जिम्मेवारी पाएको छैन। पाउनुपर्छ भन्ने मेरो भनाइ हो। मन्त्रालयभित्र हुने कुनै पनि कामको मलाई जानकारी हुँदैन। राज्यमन्त्रीलाई कुनै अधिकार नै दिइएको छैन। हामी मन्त्रालयमा आएर कुर्सीमा बस्ने मात्र गरेका छौँ। हामीलाई काम दिइयोस्।’

राज्यमन्त्रीको कार्यविभाजन हुनुपर्ने उनको माग छ। 

'राज्यमन्त्रीहरु गाडी र सेक्युरिटी लिएर मात्रै चल्ने गरेका छन्। अधिकार केही छैन। संघीयताको अर्थ नै अधिकारको समान रुपले बाँडफाँड रहे पनि अहिलेसम्म त्यस्तो केही देखिएको छैन’, उनले थपे।

राज्यमन्त्रीलाई कामचलाउ रुपमा मात्रै राखिएको उनले गुनासो गरे।

मन्त्रीसँग राय लिएरमात्र काम गर्नुपर्ने व्यवस्थाप्रति पनि राज्यमन्त्रीहरुको असन्तुष्टि छ। मन्त्रीले राज्यमन्त्रीलाई अधिकार प्रत्यायोजन नगरेकोप्रति उनीहरुको गुनासो छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव राज्यमन्त्री अधिकार स्पष्ट पार्नुपर्ने बताउँछन्र 

‘राज्यमन्त्रीको वैधानिक अधिकार मुताविक हामी काम गरिरहेका छौँ। तथापि धेरै सवालमा राज्यमन्त्रीको क्षेत्राधिकारको विषयमा अझै प्रष्ट गर्नुपर्ने आवश्यकता छ’, उनले भने। 

उनले अधिकार प्रत्यायोजनको दायरा बढाउनुपर्ने माग गरे। सरकारको समन्वय नै नरहेको कुरामा भने आफूलाई स्वीकार्य नरहेको उनको धारणा छ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले आफ्नो मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीबीच कुनै मटमुटाव नरहेको बताइन्। उनले क्याबिनेट मन्त्रीको निर्देशनानुसार नै राज्यमन्त्री चल्ने भएकोले सोही अनुसार आफूले काम गरिरहेको जानकारी दिइन्।

अधिकार प्रत्यायोजनको सवालमा भने अझै केही दायरा बढाउनुपर्ने आवश्यकता रहेको उनको धारणा छ। अधिकारप्रति आफू अहिलेसम्म सन्तुष्ट नै रहेको उनले बताइन्।

प्रदेश २ सरकारमा मुख्यमन्त्री कार्यालयबाहेक अहिले ९ मन्त्रालय छन्। जसमा  तीन जना राज्यमन्त्री छन्। मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह निकट एक मन्त्री र तीन राज्यमन्त्रीलाई जेठ २३ गते बर्खास्त गरेपछि अहिले तीन राज्यमन्त्री मात्र छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell