PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

'प्रतिवेदन प्रेमी सरकार' लाई प्रदेशसभा सांसदको व्यङ्ग्य, कविता वाचन गर्दै भने 'सरकार, तँलाई धिक्कार!'



 'प्रतिवेदन प्रेमी सरकार' लाई प्रदेशसभा सांसदको व्यङ्ग्य, कविता वाचन गर्दै भने 'सरकार, तँलाई धिक्कार!'

काठमाडौं : वाग्मती प्रदेशसभामा सरकारले बाढी पहिरो पीडितहरुको व्यवस्थापन र राहतमा ध्यान दिन नसकेको भन्दै प्रदेश सांसदहरुले आलोचना गरेका छन्। त्यसक्रममा सांसदहरुले प्रदेश सरकारलाई चाँडोभन्दा चाँडो मेलम्ची र हेलम्बुमा पुगेर राहत र व्यवस्थापनामा जुट्न आग्रह गरेका छन्।

बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रदेशसभा सासंद् सुरेन्द्रराज गोसाइले प्रदेश सरकार अहिले हेटौंडामा नभइ हेलम्बुमा पुगेर उपस्थिति जनाउनुपर्ने बताए। सरकारको आवश्यकता विपद्कै बेला सबैभन्दा महत्वपूर्ण हुने भन्दै उनले सरकारलाई मेलम्ची र हेलम्बुमा हुने क्षतिको दीर्घकालिन समाधानका लागि विज्ञसँग छलफल गर्नुपर्ने बताए।

सम्बोधनकै क्रममा गोसाइले प्रदेशसभामा ' सरकार, तँलाई धिक्कार!' भन्दै कविता वाचन समेत गरे।

गोसाइले वाचन गरेको कविता :

प्रतिवेदन प्रेमी सरकार !

गाउँमा पहिरो जान्छ

मानिस, घर, गाइवस्तु पहिरोले पुर्छ

मन्त्री र मन्त्रीहरू पजेरोमा

अवलोकन भ्रमणमा जान्छन्

फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन् ।

बाढीले बस्ती डुबाउँछ

बाढीले बस्ती बगाउँछ

मन्त्रीहरू हेलिकप्टरमा

अवलोकन भ्रमणमा जान्छन्

फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन्।

हावाहुरीले वितण्डा मचाउँछ

हावाहुरीले पुल उडाउँछ

एक बथान मन्त्री र मन्त्रीहरू

अवलोकन भ्रमणमा जान्छन्

फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन्।

हरेक विपत्ति, हरेक भ्रमणपश्चात्

सरकार प्रतिवेदन संसदमा प्रस्तुत गर्छ

मन्त्री र मन्त्री आकाङ्क्षीहरू 'हुन्छ' भनी निर्लज्ज डकार्छन्

र, फेरि अर्को प्रतिवेदन लेख्ने वैधानिकता माग्छन्।

मेरो सरकार प्रतिवेदनप्रेमी सरकार

प्रतिवेदन लेख्छ, प्रतिवेदन बुझाउँछ!

थाहा छैन, के खान प्रतिवेदन लेख्छ?

थाहा छैन, के खाएर प्रतिवेदन लेख्छ?

तर, मेरो सरकार निरन्तर प्रतिवेदन लेखिरहेछ।

हरेक साल बाढी आउँछ, सरकार प्रतिवेदन लेख्छ

हरेक साल पहिरो जान्छ, सरकार प्रतिवेदन फेरि लेख्छ

वाह, क्या गज्जब प्रतिवेदनप्रेमी सरकार !

त्यसैले त प्रतिवेदननै प्रतिवेदनमा भेटिन्छ मेरो सरकार।

त्यसैले त बाढी पीडित, पहिरो पीडित भन्दैछन् -

अन्नको काल पृथ्वीको भार

सरकार, तँलाई धिक्कार!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell