PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वाग्मती प्रदेशको बजेट असन्तुलित भएको सांसदहरुको गुनासो



वाग्मती प्रदेशको बजेट असन्तुलित भएको सांसदहरुको गुनासो

हेटौँडा : वाग्मती प्रदेशसभामा राजस्व र व्ययमाथिको शुक्रवारको छलफलमा सांसदहरूले बजेट असन्तुलित भएको गुनासो गरेका छन्। बैठकमा सांसद राजेन्द्रप्रसाद पाण्डेले आफूले संसद्मा पटक-पटक बजेट असन्तुलित भएको बताउँदै आएपनि सरकारले बेवास्ता गरेको बताए।

कतिपय सांसदहरूको योजना नपर्ने अवस्था रहेको बताउँदै उनले बजेट बाँडफाँड गर्दा समानुपातिक वितरण गर्नुपर्नेमा जोड दिए। ३ वर्षदेखि बजेटमा भएको असन्तुलनको अन्त्य र बजेट खर्च नहुने समस्याको अन्त्य हुनुपर्ने उनको भनाइ छ।

सांसद न्हुक्षेनारायण श्रेष्ठले पनि बजेट असन्तुलित रहेको बताए। उनले सरकारले असन्तुलित मात्रै नभई खर्च गर्न नसक्ने गरी बजेट ल्याएको बताए। बजेट हचुवाको भरमा विनियोजन र खर्च भइरहेको उनको भनाइ थियो।

सरकारले बढीमा ६० प्रतिशत मात्रै खर्च गर्न सक्ने बताउँदै प्राथमिकता पनि फेरबदल भइरहेकोमा उनले आपत्ति जनाए। बजेट खर्च नहुनु र असारमै खर्च गर्नुको कारण के हो भन्दै सरकारसँग उनले प्रश्न समेत गरे। उनले यसलाई पार्टीको गुटको बजेटको संज्ञा दिए।

सांसद लालकुमारी पुनले बजेट झण्डावाला र ‘एस म्यान’हरूको पक्षमा रहेको बताउँदै बजेट असन्तुलित रहेको बताइन्। उनले बजेट समपुरक र ससर्त बजेटमा विभेद गर्न सरकारलाई ‘लाज’ लाग्नुपर्ने बताइन्। बजेट पास गर्न एमाले माधव पक्षलाई बजेटको प्रलोभन दिनु लज्जास्पद विषय भएको उनले बताइन्।

बैठकमा सांसद राजेन्द्रमान श्रेष्ठले पनि बजेट सन्तुलित अझै हुन नसकेको भन्दै सच्याउन ध्यानाकर्षण गराए। बैठकमा सांसद प्रेमबहादुर पुलामीले स्रोत सुनिश्चितता नभई बजेट ल्याउने काम रोकिनुपर्ने बताए।

प्रदेशसभाको बैठकको विशेष समयमा सांसदहरूले संघीय र प्रदेशले सिन्धुपाल्चोक विपद् पीडितप्रति बेवास्ता गरेको भन्दै आक्रोश पोखे। उनीहरुले प्रदेश सरकारले सिन्धुपाल्चोकमा राहत र पुनर्निर्माणको काम थाल्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जवाफ दिएका थिए। योसँगै राजस्व एवं व्ययमाथिको छलफल सकिएको छ। बैठकमा मन्त्री ढुंगेलले विनियोजन विधेयक पेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell