काठमाडौं : सरकारले कुल जनसंख्याको ३ प्रतिशतलाई कोभिड-१९ विरुद्धको दोस्रो मात्राको खोप लगाएको दावी गरेको छ। शुक्रवार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७ लाख ५७ हजार ३८० जनालाई दोस्रो मात्राको कोरोना खोप लगाएको जनाएको हो।
त्यस्तै, मन्त्रालयले २५ लाख ७४ हजार ७१५ अर्थात ९ प्रतिशत जनसंख्यालाई पहिलो मात्राको खोप लगाएको जानकारी दिएको छ। छिमेकी मित्र रास्ट्रहरु र गाभी कोभ्याक्स फेसिलिटीबाट सहयोग स्वरूप प्राप्त भएको र नेपाल सरकारले खरिद गरी हालसम्म कुल ४२ लाख ४८ हजार मात्रा कोभिड-१९ विरुद्धको खोप लक्षित समूहहरुलाई विभिन्न चरणमा लगाइएको बताइएको छ।
नेपाल सरकार र चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग खोप खरिदको लागि भएको सम्झौता अनुसार २०७८ असार २४ गतेबाट साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको विज्ञप्तिमा उल्लेख छ।
‘खोपको निरन्तर आपूर्तिबाट कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन हुने गरी व्यवस्था मिलाइएको छ। यसका साथै गाभी कोभ्याक्स फेसिलिटीबाट समेत छिट्टै थप खोप प्राप्त गरी कोभिड-१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।