PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति?



स्वेच्छा राउत

कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति?

कोरोना तेस्रो लहरको त्रास : बालबालिकालाई असर गर्ने सम्भावना कति?

कोभिड-१९ संक्रमणको दोस्रो लहर झेलिरहेको छ नेपाल। अहिले शय्या अभावदेखि अक्सिजनको हाहाकारको अवस्था त छैन, तर संक्रमणदर मत्थर भने भइसकेको छैन। नेपालअघि भारतमा कोरोना भाइरसको दोस्रो लहरले हजारौंको ज्यान लियो। त्यहाँ पनि संक्रमण तथा मृत्युदर कम हुनुअघि कोभिडकै तेस्रो लहर नियन्त्रणको चर्चा सुरु भएको छ। विज्ञ तथा चिकित्सकहरूले नयाँ लहरले बालबालिकामा सबैभन्दा बढी असर पार्ने अनुमान गरेका छन्। त्यस्तै रोकथामका उपायहरूमाथि छलफल गरिरहेका छन्।

इकोनोमिक टाइम्सका अनुसार केरलामा त स्वास्थ्यकर्मीहरूलाई बालबालिकाको सेवा र उपचारका लागि विशेष तालिम नै दिइँदैछ। राज्यकी स्वास्थ्य मन्त्री वीना जर्जले शुक्रवारमात्र तेस्रो लहरको आक्रमणबाट बालबालिकालाई जोगाउन विज्ञहरूमार्फत् तालिम दिइने घोषणा गरेकी हुन्।

भलै भारतका बाल रोग विज्ञ जोयदेव रोयले तेस्रो लहरले बालबालिकामा असर पार्ने विषय वैज्ञानिक आधारहिन भएको बताएका छन्। हालसम्म १८ वर्षभन्दा कम उमेर समूहकाले कोभिड-१९ विरुद्धको खोप नलगाएका कारण बालबालिका र किशोरीमा नयाँ लहरले असर पार्ने अनुमान गरिएको उनको दावी छ। 

समयक्रममा बढीरहेको संक्रमणदर बिस्तारै कम हुँदै मत्थर बनेको अवस्थाजस्तो देखिए पनि, संक्रमण दर पूर्ण सकिएको भने नहुन सक्छ। र केही समयपछि पुन: ह्वात्तै बढ्छ र नयाँ लहर सुरु हुन्छ।

नेपालमा पनि सम्भावित तेस्रो लहर र त्यसले बालबालिकामा पार्ने असरहरूबारे चर्चा भएका छन्। तर, विश्व स्वास्थ्य संगठनजस्तो आधिकारिक संस्था र ए.सी.आर. जस्ता वैज्ञानिक जर्नलहरूले यस विषयमा वैज्ञानिक तथ्य पुष्टि नभएको दावी गर्छन् बाल रोग प्रतिरोध तथा बाथजन्य रोग विशेषज्ञ डाक्टर धर्मागत भट्टराई। 'कोरोना संक्रमणको एउटा लहर मत्थर हुने र नयाँ लहर सुरु हुने क्रम जारी रहला तर तस्रो लहरले बालबालिकालाई असर गर्छ भन्ने चर्चा अनुसन्धान र अध्ययनले देखाएको होइन,' उनले पहिलोपोस्टसँगको कुराकानीमा भने।

नेपालको हकमा पहिलो लहरमा संक्रमित हुने बालबालिका संख्या न्यून थियो। कुल संक्रमितमा दश वर्षसम्म उमेर समूहका संक्रमित २.४ प्रतिशत थिए। त्यस्तै दशदेखि बीस वर्ष उमेरका संक्रमित करिब ८ प्रतिशत थिए।

नयाँ भेरियन्टको भाइरस संक्रमण देखिएयता भने कुल संक्रमितको ११ प्रतिशत बीस वर्षभन्दा कम उमेर समूहका छन्।

 

यो दर भारतमा पनि पहिलो लहरको तुलनामा बढेको देखिन्छ। त्यहाँ पहिले कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका तथा किशोरकिशोरी थिए। दोस्रो लहरमा त्यो दर बढेर ३० प्रतिशतसम्म पुग्यो।

अमेरिकामा पनि गत मार्चभन्दा पहिले कुल संक्रमितमध्ये १३ प्रतिशत मात्र बालबालिका तथा किशोरकिशोरी थिए भने मार्चयता उक्त दर बढेर २० प्रतिशत पुगेको छ।

तर, संक्रमणदर बढेपनि बालबालिका तथा किशोरकिशोरीमा लक्षण एवं गम्भीर समस्या कम देखिएको बताउँछन् डाक्टर भट्टराई। महामारी सुरु भएदेखिको तथ्यांकका अनुसार ६० देखि ८० प्रतिशत संक्रमित बालबालिकामा कोभिड-१९ को कुनै लक्षण नै देखिएन। त्यस्तै सामान्य लक्षणहरू करिव २० प्रतिशतमा देखिएको थियो भने संक्रमणकै कारण गम्भीर अवस्थामा पुगेका बालबालिकाको दर १ देखि २ प्रतिशतमा सीमित रह्यो।

मिसिगनमा गरिएको एक अध्ययनका अनुसार संक्रमित बालबालिकामध्ये ०.०१ प्रतिशतमा ‘पेडियाट्रीक मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम’ देखियो। यो त्यस्तो रोग हो जसले बालबालिकाको शरीरको बहुप्रणालीमा असर गर्छ। मृत्युदर हेर्ने हो भने पनि अमेरिकामा संक्रमण पछि ज्यान गुमाउनेमध्ये २ प्रतिशत पनि बालबालिका छैनन्।  

अर्काइभ्स अफ डिजिज इन चाइल्डहुड (द बिएमजे) जस्ता प्रतिष्ठित मेडिकल जर्नलका अनुसार बालबालिकामा इन्नेट र एडप्टिभ इम्युनिटी अर्थात् प्राकृतिक एवं अनुकुलीय रोग प्रतिरोधात्मक क्षमता हुन्छ। त्यस्तै उनीहरूमा को सार्स-सीओभी-२ लाई शरीरमा संग्रहण गर्ने ए.सी.इ.२ कम हुन्छ। बालबालिकामा मेलाटोनिन बढी हुन्छ र बालबालिकाहरुले अन्य भाइरसको संक्रमणका कारण पनि प्रतिरोधि क्षमता पाएका हुन्छन्। यी सबै कारण उनीहरूलाई कोरोना भाइरसको संक्रमणले कम असर पारेको जनाइएको छ।

'संक्रमित बालबालिकाको संख्या बढ्नुको कारण खोप नलगाउनु हुनसक्छ। तर संक्रमणले ठूलै असर पारेको छ भन्नुमा वैज्ञानिक प्रमाण छैन,' उनले भने, 'त्यसमाथि विकसित देशहरूमा पो १८ वर्ष माथिका प्राय भ्याक्सिनेटेड भए। हाम्रोमा त वयस्क एवं वृद्धवृद्धाले पनि खोप लगाएका छैनन्। उनीहरू पनि जोखिमपूर्ण अवस्थामै छन् नि।'

त्यसैले आउँदो लहरबारे सोचेर तत्काल आत्तिहाल्नु पर्ने अवस्था नभएको बताउँछन् डाक्टर भट्टराई। सावधानी र स्वास्थ्य प्रणालीमा सुधारसहितको तयारीमा भने जोड दिनु पर्ने बताउँछन् उनी। पहिलो लहरले अवस्था भयावह बनाउँदा समेत दोस्रो लहरका लागि तयारी नगर्नाले संक्रमण एवं मृत्यु दर ह्वात्तै बढ्यो। अक्सिजनको अभावदेखि अस्पतालमा शय्या नपाउँदा काठमाडौंको बिरामी झापा र सुर्खेतका बिरामी जुम्ला पुग्नु पर्ने स्थिति आयो। तेस्रो लहरका लागि पनि तयारी नगर्ने र खोप नलगाएको उमेर समूह साँच्चै प्रभावित भएको अवस्थामा उपलब्ध स्रोत र साधनले नधान्ने उनको दावी छ।

'किनकि सामान्य अवस्थामा पनि एनआइसियूदेखि बालबालिका केन्द्रित अन्य उपचार सेवाको अभाव छ, भौतिक संरचनादेखि जनशक्तिको पनि। राज्यस्तरबाट अब पनि तयारी नहुने हो भने डराउनु पर्छ,' डाक्टर भट्टराईले भने। उनले अभिभावक वर्गबाट अपनाउनु पर्ने सावधानीमा पनि जोड दिए।

कोभिड-१९ को नयाँ लहर कति संक्रामक र जोखिमपूर्ण हुन्छ भन्नेबारे यकिन छैन। भाइरसले आफ्नो रुप परिवर्तन गरिरहन्छन् र नयाँ भेरियन्टहरू देखिन्छन्। भेरियन्टमाथिको अध्ययनले त्यसको संक्रामक क्षमता आदिबारे जनाउ दिन्छ।

'आरएनए भाइरस एकदम चाँडो उत्परिवर्तन हुन्छन्। कोरोना सार्स-सीओभी-२ आरएनए नै भएकाले यसको अन्य स्वरुप देखिन सक्छन्,' उनले भने,'भाइरस नयाँ नयाँ स्वरुप सधैं हानिकारक हुन्छन् भन्‍ने होइन। त्यसैले हाल आत्तिने भन्दा बढी राज्यस्तरबाट स्वास्थ्य प्रणाली मजबुत बनाउने र जनस्तरबाट संक्रमणको नयाँ लहर आइहाले नियन्त्रणमा योगदान पुर्‍याउनु महत्वपूर्ण विषय हो।'

कोरोनाभाइरसविरुद्धका खोपहरू वयस्क एवं वृद्धवृद्धामा प्रभावकारी देखिएका छन्। यसले संक्रमण नै रोक्ने भन्ने हुँदैन तर लाक्षणिक रोग कम गर्ने र अवस्था गम्भीर हुनबाट जोगाउने देखिएको छ। खोप लगाएपनि भाइरस संक्रमण हुन चाहिँ सक्छ। त्यसैले खोप लगाएपनि सुरक्षा मापदण्ड उत्तिकै पालना गर्नुपर्छ।

बालबालिका एवं किशोरकिशोरीको हकमा भने हालसम्म कुनैपनि देशमा भ्याक्सिन उपलब्ध छैन। त्यसैले बालबालिका एवं किशोर किशोरीमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु पर्ने उनको सुझाव छ। त्यसका लागि आहार पौष्टक र सन्तुलित हुनुपर्दछ, निद्रा पर्याप्त हुन आवश्यक छ, लकडाउन एवं निषेधाज्ञा जारी भएपनि शारीरिक व्यायाम गराउनु पर्ने बताए।

'छोराछोरीमा संक्रमणजस्ता कुनैपनि लक्षण देखिए वा शारीरिक एवं व्यवाहारिक पाटोमा केही परिवर्तन देखिए परीक्षण गर्न आवश्यक छ,' भट्टराई भन्छन्,'कोरोनाले बालबालिकामा थाहा नदिई दीर्घकालीन वा गम्भीर किसिमको असर पार्छ सक्छ। उनीहरूमा संक्रमण भइरहँदा वा संक्रमणमुक्त भएलगत्तै प्रतिरोधात्मक रोग निम्तिने गरेको छ।'

कोभिड-१९ विरूद्ध शरीरले देखाउने इम्युन प्रतिक्रिया असन्तुलित हुँदा देखिने यस रोगलाई मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम इन चिल्ड्रेन 'एमआइएस-सी' पनि भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell