PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वीरगंजमा डुबान प्रभावित करिब सय जनालाई राखियो विद्यालयमा, सयौँ बिघा खेत डुबानमा



वीरगंजमा डुबान प्रभावित करिब सय जनालाई राखियो विद्यालयमा, सयौँ बिघा खेत डुबानमा

वीरगंज : एक सातादेखिको अविरल वर्षाका कारण वीरगंजको अधिकांश वडा डुबानमा परेका छन्। भेडहा खोला र श्रीसिया खोलामा आएको बाढीले सयौँ बिघा जग्गा डुबानमा परेको छ भने करिब आधा दर्जन वडाका टोलहरुमा पानी पसेको छ।

वीरगंज महानगरपालिकाको वडा नम्बर १ छपकैया, वडा नम्बर १० रानीघाट, वडा नम्बर ११ श्रीपुर र वडा नम्बर ३० लालपर्साका करिब सय परिवार घरवारविहीन बनेका छन्। उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ।

वीरगंजका मेयर विजयकुमार सरावगीका अनुसार घरमा बाढी पसेकोले करिब सय जनालाई वीरगंज मुर्लीस्थित नेपाल राष्ट्रिय विद्यापिठ स्कूल श्रीपुरमा ल्याएर राखिएको छ। शुक्रवार दिउँसोदेखि उद्धार गरी विद्यालयमा उनीहरु शरण लिइरहेका छन्। महानगरले दैनिक उपभोग्यका समान उपलब्ध गराएको छ।

घरमा पानी पसेर खद्यान्न, लत्ता कपडालगायत सामानको क्षति भएको स्थानीयले बताएका छन्। मेयर सरावगीले यो खतराको घण्टी भएकोले अबको दुई साता सतर्क रहन नगरवासीमा अनुरोध गरेका छन्।

‘अहिले नै सबै वडामा पानीको सतह बढेको छ, यसपाली अत्यधिक वर्षा हुने मौसम विज्ञहरुको प्रक्षेपण छ’, उनले भने, ‘यो अहिले ट्रेलर मात्र हो, सबैले समयमै एकजुट भएर काम गरेनौँ भने भयावह अवस्था आउँदैछ।’

उनले बाढीले गर्दा हरेक वर्ष अर्बौँको भौतिक पूर्वाधार, संरचना तथा धनजनको क्षति गर्ने भएकोले वातावरण जोगाउन पनि अपिल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell