PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकको जवाफी बहस र एमिकस क्युरीको राय बाँकी, बधुवारपछि फैसला आउने



प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकको जवाफी बहस र एमिकस क्युरीको राय बाँकी, बधुवारपछि फैसला आउने

काठमाडौं : प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ सकिन लागेको छ। अब निवेदक पक्षको जवाफी बहस र एमिकस क्युरी (अदालतको सहयोगी) को राय बहस बाँकी छ।

निवेदक पक्षको जवाफी बहस आइतवारदेखि सुरु भइसकेको छ। ३ घण्टामा ४ जना बोल्ने तय भएकोमा आइतवार पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले आफ्नो बहस सकाएका छन्। आज वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापा ४०/४० मिनेट बोल्दैछन्।

त्यसपछि एमिकस क्युरीका ४ सदस्यको पालो आउनेछ। नेपाल बार एशोसिएसनबाट दुई जना र सर्वोच्च बारबाट २ गरी चार जनाले आधा आधा घण्टा संवैधानिक इजलासलाई मुद्दा फैसलामा सहयोगी हुने गरी राय सुझाव दिनेछन्। एमिकस क्युरी बोल्दा सुनुवाइ मंगलवारसम्म लम्बिने आँकलन गरिएको छ। बुधवारबाट शुक्रवारसम्म फैसला आउने अनुमान गरिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा असार ९ गतेदेखि सुनुवाइ सुरु भएको थियो।

यसअघि निवेदक पक्षले १२ घण्टा र सरकारी पक्षले १६ घण्टा बहस गरिसकेका छन्। बहसका धारा ७६ (५) र राष्ट्रपतिको अधिकारको आ-आफ्नै व्याख्या र तर्क गरेका छन्। जेठ ७ गते राती राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धन रिट निवेदन लिएर अदालत पुगेको थियो। निवेदनमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिनुपर्ने र प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने मुख्य माग रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell