PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

इन्डोनेसियामा भारत र नेपालको दृश्य दोहोरिँदै, 'डेल्टा भेरियन्ट' को प्रभाव कम गर्न भ्याक्सिनको तेस्रो डोज दिने बारे छलफल हुँदै



इन्डोनेसियामा भारत र नेपालको दृश्य दोहोरिँदै, 'डेल्टा भेरियन्ट' को प्रभाव कम गर्न भ्याक्सिनको तेस्रो डोज दिने बारे छलफल हुँदै
Photo : GETTY IMAGES

इन्डोनेसियामा कोभिड १९ संक्रमण दर बढेसँगै स्वास्थ्य सेवाहरु प्रभावित भएका छन्। संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको अभाव भएको छ। एउटा अस्पतालमा अक्सिजनको कमी हुँदा ६३ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

सोमबार बानदुङका दुई अस्पतालले आफूहरुसँग अक्सिजन सकिएको जनाएका छन्। जसकारण उनीहरुले नयाँ बिरामीहरुलाई भर्ना लिन पाएका छैनन्। बानदुङ, सुराकर्टा र पामेकसानका अस्पतालहरुमा संक्रमितको उपचार हुनै गाह्रो भइरहेको छ। संक्रमितहरुलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ।

हाल इन्डोनेसियामा दैनिक करिब २५ हजारजनामा संक्रमण पुष्टि भइरहेको छ। मृतकको संख्या पनि बढ्दो छ।

निकै संक्रामक मानिएको 'डेल्टा भेरियन्ट' का कारण इन्डोनेसियामा संक्रमण बढेको बताइएको छ। यस्तै, इन्डोनेसियाका विभिन्न शहरहरु कोभिड १९को जोखिमबिच 'होलिडे डेस्टिनेसन' बनेकाले पनि संक्रमण बढेको विज्ञहरुको दाबी छ। विज्ञहरुले जकार्ता बाहेक अन्य शहर र गाउँहरुमा पर्याप्त मात्रामा कोभिड १९ परीक्षण नभएकोले संक्रमितको संख्या हाल तथ्यांकले देखाएको भन्दा बढी हुने बताएका छन्।

संक्रमण बढेसँगै यही सातामात्रै इन्डोनेसियामा कडा लकडाउन घोषणा गरिएको थियो। लकडाउनबिच संक्रमणको ग्राफ बढेको हो।

इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले ग्यास उद्योगहरुलाई अक्सिजनको उत्पादन बढाउन निर्देशन दिएको छ। साथै सर्वसाधरणलाई अक्सिजन 'होल्ड' नगर्न आग्रह गरिएको छ। नयाँ सिलिन्डर पाउन र सिलिन्डर पुन: भर्न अहिले सर्वसाधरणहरुलाई सकस भइरहेको छ। साथै अक्सिजन सिलिन्डरको मूल्य पहिलाको तुलनामा दुई गुणा बढेको छ।

इन्डोनेसियामा भ्याक्सिन लगाएका धेरै स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएको र कयौंको मृत्यु भएको छ। त्यसैले अधिकारीहरुले चिनियाँ सिनोभाक खोपको तेस्रो डोज दिने बारे छलफल गरिरहेका छन्। 'डेल्टा भेरियन्ट' को संक्रमण रोक्न तेस्रो डोज दिनेबारे छलफल भइरहेको हो। विश्वभर हालसम्म सिंगलर र डबल डोज खोपमात्रै संचालनमा छन्। कोरोनाविरुद्ध तेस्रो डोज खोप हालसम्म कुनै देशले प्रयोगमा ल्याएका छैनन्।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंगलबारबाट इन्डोनेसियामा पर्यटकहरुको प्रवेश नियमलाई परिवर्तन गरिँदैछ। कोभिड १९ विरुद्ध पूरा खोप लगाएका र रिपोर्ट नेगेटिभ आएकाहरुलाई मात्रै अबदेखि इन्डोनेसियामा प्रवेश गर्न दिइनेछ। पर्यटकहरुले ८ दिनसम्म उनीहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ। संक्रमणको जोखिम रहेसम्म लकडाउन र प्रतिबन्धहरु निरन्तर जारी रहने अधिकारीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell